इन्डोनेसियाको बान्टेन प्रान्तस्थित सेराङ जिल्लाको सिकान्डेमा मिठाइ कारखानामा आगलागी घटनामा मृत्यस हुनेको संख्या ६ पुगेको छ । अझैं ३३ जना बेपत्ता छन् ।
शनिबार साँझ कारखानामा आगलागी भएको थियो । राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बासार्नास) का अनुसार आइतबार दिउँसोसम्म ६ जनाको शव बाहिर निकालिएको छ । घटनामा अन्य चार जना घाइते भएका छन् ।
आइतबार बिहानसम्म आगो नियन्त्रणमा आइसकेको थियो । आगलागी हुँदा कारखानाभित्र धेरै कर्मचारी काम गरिरहेका थिए । आगो फैलिन थालेपछि उनीहरू ज्यान जोगाउन बाहिर निस्कने प्रयास गरेका थिए ।
आइतबार बिहान कारखानाको गेटबाहिर बेपत्ता कर्मचारीका परिवारजन आफ्ना आफन्तको खोजीमा थिए । उनीहरूमध्ये सिती जौहरी पनि आफ्ना भाइ मुहम्मद मारुफिनको प्रतीक्षामा थिइन् । आगलागी भएदेखि नै भाइसँग उनको सम्पर्क हुन सकेको छैन ।
इन्डोनेसियाली अनलाइन समाचार पोर्टल कोम्पास डटकमसँग कुरा गर्दै सितीले कारखाना व्यवस्थापनले अहिलेसम्म कुनै जानकारी नदिएको बताइन् ।
‘कारखाना व्यवस्थापनबाट अहिलेसम्म कुनै जानकारी आएको छैन । मेरो भाइलाई के भयो भन्ने पनि बताइएको छैन,’ उनले भनिन् ।
विद्यालयको पढाइ पूरा गरेदेखि नै उनका भाइ उक्त कारखानामा काम गर्दै आएका थिए । सात वर्षको एउटा सन्तानका पिता रहेका भाइ सकुशल भेटिने र छिट्टै घर फर्किने आशामा सिती अझै प्रतीक्षारत छिन् ।