Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

६ मंसिर, रुपन्देही । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन …

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

६ मंसिर, रुपन्देही । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ ।

नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् ।

भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेशविन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी बनाउने विषयमा सहमति भए यस क्षेत्रको पर्यटन, उद्योग तथा व्यापारमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री शाह आइतबार राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्न भारतीय हवाई क्षेत्रको प्रयोग महत्वपूर्ण मानिएको छ ।

विमानस्थलको उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) को सञ्चालन प्रक्रियासँग भारतीय हवाई क्षेत्रको समन्वय आवश्यक पर्नेछ । भारतबाट अनुमति र सहजीकरण भएमा प्रतिकूल मौसममा उडान तथा अवतरणलाई सहज बनाउन सहयोग पुग्नेछ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका साथै भारतका दिल्ली, वाराणसी र अयोध्यालगायतका सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन, उद्योग तथा व्यापारमा ठूलो परिवर्तन आउने बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भैरहवा विमानस्थललाई भारतीय विमान कम्पनीको प्राथमिकतामा पार्ने र नियमित उडानका लागि आवश्यक सहजीकरण हुने अपेक्षा गरिएको बताए ।

उनले विमानस्थल निर्माणपछि त्यसको उपयोग र नियमित उडानका लागि सरकारसँगै निजी क्षेत्रले पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

होटल सङ्घ लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके नेपालको पर्यटन क्षेत्रले गति लिने बताए ।

नेपाल विश्व पर्यटनको महत्वपूर्ण गन्तव्य भए पनि अन्तरराष्ट्रिय हवाई सेवाको सहज पहुँच नहुँदा पर्यटक आगमनमा अपेक्षित वृद्धि हुन नसकेको उनको भनाइ छ ।

विमानस्थल नियमित सञ्चालन हुनु निजी क्षेत्रका व्यवसायीका लागि सबैभन्दा खुसीको विषय हुने उनले बताए ।

विमानस्थल सञ्चालन हुने आशामा भैरहवा, रुपन्देही, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, पर्यटन तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरेका छन् ।

चेम्बर अफ कमर्स रुपन्देहीका अनुसार यस क्षेत्रमा निजी क्षेत्रको झन्डै रु एक खर्बभन्दा बढी लगानी भएको छ । विमानस्थल नियमित सञ्चालन नहुँदा लगानीअनुसारको प्रतिफल प्राप्त नभएको स्थानीय व्यवसायीले  गुनासो गरेका छन् ।

ट्राभल एसोसिएसन नेपाल (नाट्टा) का अध्यक्ष चन्द्र थापाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए ।

विमानस्थल सञ्चालन हुने आशामा पर्यटन व्यवसायीले ठूलो लगानी गरे पनि नियमित अन्तरराष्ट्रिय उडान नहुँदा व्यवसायमा अपेक्षित लाभ लिन नसकिएको उनको भनाइ छ । विमानस्थल सञ्चालनका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनले बताए ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा जग्गा अधिग्रहण र मुआब्जासहित हालसम्म रु ३५ अर्बभन्दा बढी खर्च भएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते विमानस्थल स्तरोन्नति तथा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरे ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०७९ जेठ २ गते विमानस्थलको औपचारिक उद्घाटन गरेका थिए । शिलान्यासदेखि उद्घाटनसम्म करिब सात वर्ष चार महिना लागेको थियो ।

उद्घाटनकै दिन कुवेतको जजिरा एयरवेजको विमान अवतरण गरेपछि अन्तरराष्ट्रिय व्यावसायिक उडान सुरु भएको थियो ।

यस्तै, जजिरा एयरवेज, फ्लाई दुबई, कतार एयरवेज, नेपाल वायुसेवा निगम, थाई एयर एसिया र हिमालय एयरलाइन्सले यस विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गरेका छन् ।

विमानस्थलको सूचना शाखाका अनुसार हालसम्म ६९ हजार ३७७ यात्रुले सेवा लिएका छन् । तीमध्ये ३१ हजार ९३२ यात्रु नेपाल आएका छन् भने ३७ हजार ४४५ यात्रु यस विमानस्थल प्रयोग गरी विदेश गएका छन् ।

विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर शाहले विमानस्थलमा आवश्यक भौतिक संरचना, उपकरण, डिजिटल प्रविधि तथा अनलाइन प्रणाली उपलब्ध रहेको जानकारी दिए ।

नियमित हवाई सेवा सञ्चालनका लागि अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्ने र आवश्यक हवाई मार्गका सम्बन्धमा सहजीकरण गर्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

विमानस्थल सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी रहेको उल्लेख गर्दै उनले नियमित उडानका लागि पहल आवश्यक भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समाजशास्त्री उमेशचन्द्र रिजालले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट भारतका प्रमुख सहरमा सिधा हवाई सेवा सञ्चालन गर्नसके नेपालको पर्यटन तथा आर्थिक विकासमा नयाँ युगको सुरुवात हुने बताए ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहेका भारतीय सहरसँग हवाई सम्पर्क विस्तार हुँदा लुम्बिनी आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आवागमनसमेत सहज हुने उनको भनाइ छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी र त्यसको सञ्चालनको अपेक्षामा निजी क्षेत्रको ठूलो लगानी जोडिएको छ । यस्तो अवस्थामा भारतसँग हवाई मार्ग प्रयोगका विषयमा ठोस सहमति जुट्नसके विमानस्थलको नियमित सञ्चालनका लागि महत्वपूर्ण ढोका खुल्नेछ ।

यसले लुम्बिनीमा पर्यटक आगमन वृद्धि गर्नुका साथै रुपन्देहीसहित समग्र पश्चिम नेपालको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा

प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुनः चर्चामा आएको छ।

#हवाई #भारत #प्रधानमन्त्रीको
Compare →
Hamro Patro News
4h ago
ऊर्जामन्त्रीलाई प्रश्न- प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा क्षेत्रको प्राथमिकता के हो ? [कुराकानी]

ऊर्जामन्त्रीलाई प्रश्न- प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जा क्षेत्रको प्राथमिकता के हो ? [कुराकानी]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाह भारत पुगेका छन् । सरकार बनेको ८ महिनापश्चात् पहिलो विदेश भ्रमणका लागि उनी समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय ...

#बालेन-शाह #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
8h ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#बालेन-शाह #भारत #प्रधानमन्त्रीको
Compare →
Arthasansar
6h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भारत #प्रधानमन्त्रीको #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612