फ्रान्सलगायत युरोपका अन्य देशमा पनि महँगीविरुद्ध यस्तै प्रदर्शन भइरहेका छन्
लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा शनिबार भारी वर्षाका बाबजुद हजारौं मानिसले आकाशिएको महँगी, गहिरिँदो आवास संकट र न्यून ज्यालाको विरोधमा प्रदर्शन गरेका छन् ।
पोर्चुगलको सबैभन्दा ठूलो ट्रेड युनियन संगठन 'सीजीटीपी' को आयोजनामा भएको उक्त प्रदर्शनमा ज्याला र पेन्सन वृद्धि, अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण तथा घरभाडा घटाउने उपाय अवलम्बन गर्न माग गरिएको छ।
छाता र बर्सादी ओढेर मुख्य सडकमा उत्रिएका प्रदर्शनकारीको संख्या 'धेरै हजार' रहेको आयोजकले दाबी गरेको छ।
४४ वर्षीय कारखाना मजदुर म्यानुअल गोम्सले मध्य–दक्षिणपन्थी सरकारको नीतिका कारण दैनिक जीवनयापन कठिन बनेको बताए। 'हामी धेरै काम गर्छौं, खर्च बढेको छ तर दैनिक गुजारा चलाउने पैसा छैन,' उनले भने, 'इन्धन र घरभाडा निरन्तर बढिरहेको छ, यसलाई बदल्नै पर्छ।'
युरोस्ट्याटका अनुसार सन् २०२५ मा पोर्चुगलको औसत वार्षिक आम्दानी युरोपेली संघको औसतभन्दा ३७ प्रतिशतले कम थियो।
मध्यपूर्वको तनावका कारण खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा अक्टोबरमा मुद्रास्फीति ३.८ प्रतिशत पुगेको छ। सन् २०१७ यता घरको मूल्य दोब्बरभन्दा बढी र नयाँ भाडा झन्डै दोब्बर हुँदा युवापुस्ता सबैभन्दा बढी मारमा परेको छ।
६६ वर्षीय अवकाशप्राप्त आईटी प्राविधिक लुइस रुसोलेसर्वसाधारणको साटो ठूला स्वार्थ समूहको सेवामा सरकार लागेको आरोप लगाए। ।