प्रदर्शनीमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका दुई हजारभन्दा बढी कृषि उपकरणसहित २०० भन्दा बढी स्टल राखिएका छन् ।
काठमाडौं — कृषि उत्पादन बढाउन र खेतीपातीको लागत घटाउन आधुनिक कृषि प्रविधिको प्रदर्शनी सुरु भएको छ । काठमाडौं भृकुटीमण्डपमा शुक्रबारदेखि जारी ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ प्रदर्शनीमा किसानलाई आधुनिक प्रविधिसँग जोडिएको छ ।
परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित सञ्चालित प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका कृषि मेसिनरी, प्रविधि र उपकरण प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजना र बागमती प्रदेश कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा ‘कृषिमा यन्त्र र प्रविधि– कृषक र राष्ट्रको समृद्धि’ मुख्य नाराका साथ गरिएको प्रदर्शनीमा २ सयभन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण समावेश छन् । जसमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका २ हजार बढी यन्त्र तथा उपकरण रहेको आयोजकले बताएको छ ।
६ मंसिरसम्म चल्ने प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीत भण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएका छन् । जसमा डिजेल पेट्रोल र विद्युतीय उपकरण अवलोकन गर्न सकिन्छ । प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए ।
‘२०७० मा मिनी टिलरबाट सुरु भएको प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको छ,’ शर्माले भने, ‘किसानलाई उपकरण खरिदका लागि सहज ऋण तथा मर्मत सम्भारसम्बन्धी तालिम र सीप विकासमा अगााडि बढ्न आवश्यक छ ।’ पहिलो दिन नै ९ हजारले अवलोकन गरेको उनको भनाइ छ ।
प्रदर्शनीमा ‘मेड इन नेपाल’ अन्तर्गत स्वदेशमै उत्पादित कृषि यन्त्र तथा उपकरणमा ६० प्रतिशतसम्म छुट दिइएको आयोजकले जनाएको छ । प्रदर्शनीको प्रवर्द्धन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले गरेको छ । प्रदर्शनीमा नेपालको माटो, हावापानी र भौगोलिक अवस्थाअनुसार उपकरण रहेको कार्यक्रमका सूचना अधिकारी जितबहादुर चन्दले बताए ।
प्रदर्शनीमा करिब १० करोडको कारोबार हुने आयोजकको अनुमान छ । ५० हजारले प्रदर्शनी अवलोकन गर्ने अनुमान रहेको चन्दको भनाइ छ । प्रदर्शनीमा काभ्रे, धादिङ, ललितपुर, नुवाकोट र सिन्धुपाल्चोकका उद्यमी र किसानलाई निःशुल्क बस सेवा उपलब्ध गराइएको चन्दले जानकारी दिए ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।