Trending
Prev Story
Next Story

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

Ekantipur •
November 22, 2026 • 04:32 AM
2
2 reads 0 reactions

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम ।

फिल्म ‘जलाकी’ : बासी कथा, बल्झिएको पटकथा

‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दो घटनाक्रम ।

काठमाडौँ — ‘करोडको लगानी बालुवामा पानी’ भन्ने उक्ति एकाध बाहेकका नेपाली फिल्महरूमा चरितार्थ भइरहन्छ । यो हुनु पछाडिका धेरै कारणमध्येको एउटा बलियो उदाहरण हो- कमजोर पटकथा।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ पनि उही कमजोर पटकथाको मारमा परेको छ। फिल्ममा दर्शकलाई आकर्षित गर्ने न चुस्त पटकथा छ, न त विश्वस्त पार्ने कथा नै । न पात्रहरूको उद्देश्य, न रूपान्तरण नै । छन् त केवल शृङ्खलाबद्ध पट्यारलाग्दा घटनाक्रम ।

युवावयका चार प्रेमी छन् लिसरा, लसिम, आलोक र अस्मिता । चारै जनाको सम्बन्धमा आउने उतारचढाव, जीवनका घटना र समस्याका पोयालाई फिल्मले कसिलो गरी बाटेको भान हुन्न । कथामा द्वन्द्व सिर्जना गराउने कुनै बलियो कारण नै छैन । फिल्ममा न पात्रहरू भेटिनुको कारण बलियो छ, न छुट्नुको । कथामा पात्रहरूको फरक आर्थिक धरातल छ । यद्यपि वर्गले पनि कथामा द्वन्द्व सिर्जना गराउँदैन ।

पटक-पटक दोहोरिरहने दृश्यहरूले नयाँ कुरा केही ल्याउँदैनन् । फिल्मभरि फेवातालको किनारमा मुख्य पात्रहरू बरालिइरहन्छन् । फिल्मको कथानक फेवातालमा सलल कुदिरहेको डुङ्गाझैँ अगाडि बढ्न सकेको छैन ।

यदि घटनाक्रमको विकाससँगै परिस्थितिहरूलाई महसुस गर्न र त्यही प्रवाहमा पटकथालाई बगाउन सकिन्थ्यो भने दोहोरि रहने दृश्यमा पनि स्वाद पर्थ्यो होला । तर यी पात्रसँग त भन्ने र गर्ने कुरा नै केही छैन । फिल्म घरि एउटा पात्रको दृष्टिकोणबाट अघि बढ्छ, घरि अर्कै । एउटै पात्रको दृष्टिकोण (पीओभी) बाट मात्र कथा बुनिएको छैन । यद्यपि कसलाई कति प्राथमिकता दिने भन्ने कुरामा पनि पटकथाकार अल्मलिएझैँ देखिन्छ ।

अनावश्यक दृश्य थुप्रै छन्, जसले कथालाई विषयान्तर गर्नु सिवाय अरू केही गर्दैनन् । बाल्यकालमा लसिम बिरामी हुनुले कथामा के असर गर्छ ? कलेजमा पियनको उपस्थिति र गतिविधिको उपकथाले मूलकथालाई कसरी सघाउँछ ? एकजना विद्यार्थीले चिट चोर्ने दृश्य र ती विद्यार्थीले गर्ने गतिविधिका उपक्रमले फिल्मलाई सुस्त बनाउनबाहेक कुनै भूमिका खेल्दैनन् । फिल्ममा कमेडी सिक्वेन्स थपौँ न त भन्ने मनसायबाट ती पात्र परिचालित गरिनुबाहेक ठोस अर्थ केही छैन ।

फिल्ममा लिसरा र लसिमको फ्ल्यासब्याकले धेरै हिस्सा ओगटेको छ । यद्यपि विगत र वर्तमानको सम्बन्ध के हो ? त्यो भने स्थापित हुँदैन । लसिमको फ्ल्यासब्याकले लिसरासँगको वर्तमान सम्बन्धलाई कुनै प्रभाव पार्दैन । त्यसकारण फ्ल्यासब्याकमा देखिने पात्रहरूप्रति कुनै भावना र सहानुभूती पलाउँदैन । यता लिसराको अँध्यारो बाल्यावस्था र आमासँगको सम्बन्धले वर्तमानमा केही हदसम्म प्रभाव पारेको छ । यद्यपि त्यतिविघ्न तन्काएर लेखक-निर्देशकले फिल्ममा के स्थापित गर्न खोजेका हुन्, प्रष्ट हुन्न ।

फ्ल्यासब्याकको एउटा दृश्यमा लसिमको बाले ‘जलाकी’ निर्माण गरेका छन् । तर त्यो ‘जलाकी’को बलियो अर्थ पनि फिल्ममा प्रस्तुत हुन नपाएको अनुभूति हुन्छ ।

मुख्य पात्र लिसरा र लसिमबीचको सम्बन्धको स्वाभाविक विकास हुनै नपाई घनघोर प्रेममा परेको देखाइन्छ । फिल्ममा पात्रहरूले गर्ने व्यवहार र निर्णय पनि त्यति पत्यारिला लाग्दैनन् । फिल्ममा निर्देशकले क्यान्सरलाई असाध्यै जटिल बनाएका छन् । बिरामीलाई डाक्टरले दिने प्रतिक्रिया र घट्ने घटनाहरू पत्यारिला छैनन् ।

कथालाई विश्वसनीय ढङ्गले बुन्न नसक्नुले यो बिमारप्रति दर्शकहरूमा निराशा बढ्ने जोखिम देखिन्छ । अस्पतालमा हुने स्वास्थ्य प्रोटोकललाई पनि फिल्मले ख्याल गरेको छैन ।

फिल्ममा सबैभन्दा चित्त नबुझ्ने कुरा त प्री–क्लाइमेक्स दृश्य हो । यस्तो नाटकीय सिक्वेन्समा अझै पनि नेपाली फिल्ममेकर अल्झिरहेका छन् भन्ने कुराले दिक्क बनाउँछ ।

कथामा पृष्ठभूमी सङ्गीत दर्शकलाई भावुक बनाउनकै लागि जबरजस्ती ठोसे झैँ लाग्छ । निर्देशकले चाहिनेभन्दा बढी र जबरजस्ती दुःख सिर्जना गराउन खोज्दा कथाको ग्राफसँग पृष्ठभूमिको सङ्गीतको तालमेल मिलेको भान हुन्न ।

फिल्ममा संवादहरू कमजोर छन् । ‘मलाई माफ गरिदेऊ’ भन्ने संवाद पटक-पटक अनेक पात्रले प्रयोग गरिरहेका छन् । जबकी कसैले कसैलाई माफ गर्नुपर्ने र माग्नुपर्ने कारण कहिँ कतै देखिन्न । ती संवादहरू पात्रको मुड र कथाको परिस्थितिअनुसार बोल्नलाई स्वाभाविक लाग्दैनन् । पात्रहरू हरेक कुरा बोलेरै व्यक्त गर्छन् । संवादमा सबटेक्स्टको प्रयोग अत्यन्तै कम छ ।

कथा कमजोर भएपछि पात्रका चरित्र निर्माण बलियो नहुनु स्वाभाविक हो । फिल्ममा लिसराको माइजूलाई किन त्यति नकारात्मक देखाइन्छ ? कारण छैन । माइजू र माइजूकी छोरीको चरित्रलाई सतही ढङ्गबाट प्रस्तुत गरिएको छ । लिसराको बा र आमाको चरित्र पनि उही परम्परागत नेपाली सिनेमाका पुनरावृत्तिभन्दा बढी अरू केही लाग्दैनन् ।

फिल्ममा बरु सहायक चरित्रहरूको अभिनय स्वाभाविक र विश्वसनीय छ । जस्तो कि लिसराको मामा र माइजू, आलोकका बा-आमा, लसिमका बा-आमा । कथामा कमेडीकै लागि राखिएझैँ लागे पनि पियन र चिट चोर्ने विद्यार्थी पात्रको अभिनय स्वाभाविक छ । अस्मिताकै आमा होस् वा लिसराका बा-आमा, उनीहरू जति स्वाभाविक सुनिन र देखिन सक्छन्, उनीहरूको तुलनामा मुख्य भूमिकामा देखिने चार पात्रहरू फिक्का लाग्छन् ।

लिसराको भूमिकामा रहेकी अभिनेत्री उपासना सिंह ठकुरीको अनुहार फिल्म अवधिभरि निराश देखिन्छ । उनी किन यति दुःखी भइरहन्छिन् ? कारण देखिन्न । बरु प्रेममा पर्दा उनको अनुहारले जनाउने प्रतिक्रिया प्रेमिल लाग्छ । लिसरा जुन गाउँबाट आइन्, त्यहाँको लवज उनको संवादमा रत्तिभर अनुभूत हुन्न । संवाद सम्प्रेषण स्वाभाविक सुनिन्न ।

उनीबाहेक सोनम तोप्देन, साराहा हाङ्मा लिम्बू र अस्तित्व भट्टचनको अभिनय अत्यन्त अस्वाभाविक र नाटकीय लाग्छ । पात्रमा हुने खुसी वा दुःखको अनुभूति उनीहरूको भाव र शारीरिक भाषाबाट अनुभूत गर्न सकिन्न ।

फिल्ममा क्यामेराको भाषा भने सुन्दर लाग्छ । पोखरा लेकसाइड र गाउँका दृश्यहरू सुन्दर लाग्छन् । मगर समुदायको परम्परा, जलाकी र पहाडी परिवेशलाई फराकिलो र जीवन्त रूपमा फ्रेममा समेटिएको छ । फिल्ममा क्यामेराले फ्ल्यासब्याकका दृश्यहरूलाई सुन्दर ढङ्गले व्यक्त गर्छ ।

समग्रमा भन्नुपर्दा, उही घिसिपिटी र बासी प्रेमकथालाई पुरानै शैलीमा पस्किएकाले पनि ‘जलाकी’ आफ्नै नामको अर्थजस्तै सम्झनयोग्य बन्नबाट चुकेको छ ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

एक्सन र बदलाको कथामा इमरान हाशमी, सार्वजनिक भयो फिल्मको ट्रेलर

भारतीय अभिनेता इमरान हाशमी अभिनीत आगामी फिल्म 'गनमास्टर जी९'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार बेलुका सार्वजनिक ट्रेलरमा इमरानलाई ग्याङ्स्टरको भूमिकामा प्रस्तुत गरिएको छ। प्रेम र बदलाको कथालाई केन...

#फिल्म #कथा
Compare →
Nagarik News
4d ago
ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त

ग्लोबल फिल्म फेस्टिभल: विश्वभरबाट ५०० बढी चलचित्र प्राप्त

आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजिएफएफ) २०२७ को पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।

#फिल्म
Compare →
Onlinekhabar
5d ago
हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

हिन्दी फिल्महरू बक्स अफिसमा किन असफल भइरहेका छन् ?

बक्स अफिसमा फिल्म असफल हुनु, दर्शकले एउटै ढर्राका फिल्म अस्वीकार गर्नु, दक्षिण भारतीय फिल्मको रिमेकले दर्शकसँग सम्बन्ध स्थापित गर्न नसक्नु र फिल्मको पटकथा लेखनमा कलाकारका व्यवस्थापकहरूको हस्तक्षेप बढ्नु अहिले हिन्दी फिल्म उद्योगका प्रमुख समस्या मानिएका …

#फिल्म
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612