आगामी सन् २०२७ फेब्रुअरी १९ देखि २२ (फागुन ७ देखि १० गते) सम्म काठमाडौंमा आयोजना हुने नेपाल ग्लोबल फिल्म फेस्टिभल (एनजिएफएफ) २०२७ को पहिलो संस्करणमै विश्वभरबाट ५०० भन्दा बढी चलचित्र प्राप्त भएका छन्।
नेपाल फिल्म एण्ड मिडिया एकेडेमीको आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको र चारदिने उत्सवमा विश्वका विभिन्न देशबाट करिब १०० जना चलचित्रकर्मी, सञ्चारकर्मी तथा चलचित्र उद्योगका विशिष्ट व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।
‘हिमालदेखि सागरसम्मका कथाहरूको उत्सव’ मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा हलिउड, बलिउड तथा चिनियाँ चलचित्र क्षेत्रका चर्चित चलचित्रकर्मी अतिथिका रूपमा सहभागी हुनेछन्।
प्राप्त ५०० बढी फिचर फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्रीमध्ये करिब १०० वटा उत्कृष्ट चलचित्र छनोट गरी चार दिनसम्म प्रदर्शन गरिनेछ।
चलचित्र छनोटका लागि निर्देशक सुवर्ण थापाको नेतृत्वमा छनोट समिति गठन गरिएको छ भने निर्देशक अशोक शर्मा नेतृत्वको नेपाली तथा विदेशी जुरीले उत्कृष्ट चलचित्रलाई नगद पुरस्कारसहित विभिन्न विधामा अवार्ड प्रदान गर्नेछ।
महोत्सवका निर्देशक गणेश पाण्डेले पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो सङ्ख्यामा चलचित्र प्राप्त हुँदा उत्साहित भएको बताए।
‘पहिलो संस्करणमै विश्वभरबाट यति ठूलो सङ्ख्यामा फिचर, सर्ट र डकुमेन्ट्री फिल्म प्राप्त हुनु निकै उत्साहजनक उपलब्धि हो,’ उनले भने, ‘यसले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवप्रति विश्व चलचित्रकर्मीको विश्वास र चासो देखाएको छ । हामी नेपालकै एउटा ठूलो महोत्सव बनाउने उद्देश्यका साथ अघि बढिरहेका छौं।’
महोत्सवमा फिचर, सर्ट, डकुमेन्ट्री, माउन्टेन, वातावरणसम्बन्धी, मानवशास्त्रीय, मानवअधिकारसम्बन्धी, महिला विषयवस्तुमा आधारित तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्र समेटिनेछन्।
साथै, एनिमेसन, विद्यार्थी चलचित्र र कृत्रिम बौद्धिकता (एआई) मा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकता दिइने जनाइएको छ।
महोत्सव आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शनसँगै विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।
एनजिएफएफले नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने, नेपाली प्रतिभा र सिर्जनालाई विश्वमाझ चिनाउने तथा विदेशी चलचित्र निर्माता र निर्देशकलाई नेपालमा चलचित्र निर्माणका सम्भावना र गन्तव्यबारे जानकारी गराउने लक्ष्य लिएको छ।
यसबाट नेपालमा चलचित्र पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य तथा चलचित्र निर्माणमा विदेशी लगानीको सम्भावना विस्तार हुने अपेक्षा गरिएको छ।
नेपालको प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, सांस्कृतिक विविधता र मौलिक कथाहरूको प्रवर्द्धन गर्दै युनेस्को ‘क्रिएटिभ सिटी अफ फिल्म’ को अवधारणासँग जोडेर काठमाडौंलाई चलचित्र सिर्जना, सहकार्य र सांस्कृतिक आदानप्रदानको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य महोत्सवले राखेको छ।
महोत्सवलाई प्रतिष्ठित उत्सवका रूपमा विकास गर्न राष्ट्रिय-अन्तर्राष्ट्रिय चलचित्र संस्था, कूटनीतिक नियोग, शैक्षिक संस्था, पर्यटन तथा निजी क्षेत्रसँग सहकार्यका लागि छलफल भइरहेको आयोजकले जनाएको छ।
प्रकाशित: १ मंसिर २०८३ २२:०० मंगलबार