दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले शुल्क तिर्न नसकेका विद्यार्थी, उपचारविहीन विपन्न नागरिक र हिंसापीडितलाई सेवासुविधाको रकमबाट सहयोग गर्दै आएकी छन्।
बैतडी — निर्वाचनका बेला उम्मेदवारहरूले आफू निर्वाचित भए सरकारी सेवासुविधा नलिने र जनताकै हितमा खर्च गर्ने प्रतिबद्धता जनाउनु नौलो होइन । तर, निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने जनप्रतिनिधि भने कमै भेटिन्छन् ।
बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले भने आफूले पाउने सेवासुविधा विपन्न नागरिक र आर्थिक अभावमा पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका विद्यार्थीको सहयोगमा खर्च गर्दै आएकी छन् ।
निर्वाचनका बेला मतदातासँग गरेको प्रतिबद्धताअनुसार उनले आफूले पाउने सेवासुविधाको रकम नगरभित्रका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पढाइमा खर्च गर्ने गरेकी हुन् ।
विद्यालय तथा शैक्षिक संस्थाको शुल्क तिर्न नसक्दा प्रमाणपत्र लिन नपाएका र आर्थिक अभावकै कारण बीचमै पढाइ छाड्नुपर्ने अवस्थामा पुगेका विद्यार्थीलाई उनले आर्थिक सहयोग गर्दै आएकी छन् ।
उपप्रमुख चन्दका अनुसार अहिलेसम्म ११ जना विद्यार्थीलाई जनही ५० हजार र पाँच जनालाई जनही ६० हजार रुपैयाँका दरले सहयोग गरिसकेकी छन् । शुल्क तिर्न नसक्दा अध्ययन पूरा गरे पनि प्रमाणपत्र लिन नपाएका तथा आर्थिक अभावले थप अध्ययन गर्नबाट वञ्चित विद्यार्थीलाई प्राथमिकतामा राखेर सहयोग गरिएको उनले बताइन् ।
उनको सहयोगले चार वर्षदेखि प्रमाणपत्र लिन नपाएकी कृषि जेटीए उत्तीर्ण निशा दमाईंले पनि प्रमाणपत्र प्राप्त गरेकी छन् । ६० हजार रुपैयाँ शुल्क बुझाउन नसक्दा उनको थप अध्ययन गर्ने बाटो रोकिएको थियो । उपप्रमुख चन्दले उक्त रकम तिरिदिएपछि निशाले प्रमाणपत्र प्राप्त गरेकी हुन् । निशाजस्तै आर्थिक अभावका कारण शैक्षिक प्रमाणपत्र रोकिएका र पढाइलाई निरन्तरता दिन नसकेका अन्य विद्यार्थीले पनि उनको सहयोगले पढाइलाई निरन्तरता दिन पाएका छन् ।
विद्यार्थीको शिक्षामा मात्रै होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेका विपन्न नागरिक तथा हिंसापीडितलाई समेत चन्दले सहयोग गर्दै आएकी छन् । आफूले पाउने सेवासुविधाको रकमले नपुगे व्यक्तिगत रकमबाट समेत आवश्यकताअनुसार सहयोग गर्ने गरेको उनको भनाइ छ ।
‘राजनीति सेवा गर्नका लागि हो, कमाइ गर्नका लागि होइन । म पदमा भए पनि नभए पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेकी छु,’ उनले भनिन्, ‘मैले थाहा पाएका र सहयोगको अपेक्षासहित मसम्म आइपुगेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएकी छु ।’
उनका अनुसार जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधालाई व्यक्तिगत लाभभन्दा नागरिकको आवश्यकतामा उपयोग गर्नुपर्छ भन्ने मान्यताले आफूले यस्तो गरेको बताइन् ।
आफूहरू जनताको काम गर्न जनताले विश्वास गरेर पठाएका हुनाले राम्रो काम गरे जनता आफैँ काम देखेर प्रशंसा गरिहाल्ने भएकाले आफूले सामाजिक सञ्जालमा गरेका कामको पोस्ट नगर्ने गरेको उनले बताइन् ।
नगरपालिकाका कार्यक्रमबाट सबैले भत्ता बुझ्दा पनि उपप्रमुख चन्दले भत्ता नबुझ्ने गरेको नगरपालिकाका न्यायिक समिति शाखा प्रमुख अम्बादत्त बोगटीले बताए ।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।