५ मंसिर, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासले स्थानीय विद्यालयका विद्यार्थीलाई नेपालका सांस्कृतिक, सामाजिक, प्राकृतिक तथा धार्मिक विशेषताबारे परिचित गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना भएको छ ।
नेपालका विशिष्टता, मौलिकता र सम्पदालाई चित्रमार्फत प्रश्तुत गर्ने उद्देश्यले दुतावासले रोटरी क्लब अफ दिल्ली रिसोर्सको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
नयाँ दिल्लीका १० वटा विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा उनीहरूले नेपालबारे आफूले जानेका, पढेका र खोजेका विषयलाई चित्रमा उतारेका थिए । प्रतियोगितामा विद्यार्थीहरूले भगवान बुद्ध, नेपालको राष्ट्रिय झण्डा, जीवित देवी कुमारी, पशुपतिनाथ, स्वयम्भूनाथ, हिमाल, पहाड, नेपाली गाउँघर, परम्परागत भेषभूषा तथा विभिन्न जातजातिका सांस्कृतिक पहिचानलाई चित्रमा प्रश्तुत गरेका छन् ।
विद्यार्थीले तयार पारेका चित्रहरू अहिले नेपाली दुतावासको मिडिया सेन्टरमा प्रदर्शनीका रूपमा राखिएका छन् । नेपाली दुतावासका सांस्कृतिक काउन्सिलर छविलाल सुवेदीकाअनुसार प्रतियोगितामा नेपाली विद्यार्थीभन्दा भारतीय विद्यार्थीको सहभागिता बढी थियो ।
भारतमै जन्मिएर हुर्किएका विद्यार्थीले नेपालका विभिन्न सांस्कृतिक तथा धार्मिक पक्षबारे खोजी गरेर चित्रमा उतार्नु प्रतियोगिताको विशेष पक्ष रहेको उहाँले बताउनु भयो । विद्यार्थीले शिक्षकको सहयोगमा इन्टरनेट, वेबसाइट तथा नेपालसम्बन्धी विभिन्न दस्तावेज र सामग्री अध्ययन गरेर चित्र तयार पारेको सुवेदीले जानकारी दिए ।
विद्यार्थीले नेपालका बारेमा आफूले प्राप्त गरेको जानकारी र कल्पनालाई चित्रकलामार्फत अभिव्यक्त गरेको उनको भनाइ छ । प्रतियोगिता प्रतिष्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो । विद्यार्थीले तयार पारेका चित्रको मूल्याङ्कनका लागि निर्णायक मण्डल गठन गरिएको थियो ।
निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा ५१ जना विद्यार्थीलाई पुरस्कृत गरिएको सुवेदीले बताउनु भयो । गत मार्च १६ मा नेपाली दुतावासमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।