आगामी स्थानीय निर्वाचन लक्षित सन्देशमा दाहालले सूचना प्रविधि प्रयोग नगरे राजनीतिक दलहरू प्रतिस्पर्धामा पछि पर्न सक्ने बताएका छन्।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा शनिबार यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उनले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिए ।
संयोजक प्रचण्डले भने, 'अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।'
पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गरे ।
सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।
पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उनले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गरे ।