कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा शनिबार नेपाल प्रिमियर लिगको फाइनल हुँदा इतिहासकै सबैभन्दा दुई राम्रा टिमबीच प्रतिस्पर्धा
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन शनिबार त्यहीं आइपुग्नेछ, जहाँबाट यो सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भिडेका थिए, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स ।
लिग चरणका २८ र प्लेअफका तीन खेलपछि उपाधि भिडन्तमा तिनै दुई टिम पुगेका छन्, जसले अघिल्लो सिजनको फाइनल खेलेका थिए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार फाइनल हुँदा यो प्रतियोगिताको इतिहासकै सबैभन्दा दुई राम्रा टिमको खेल हुनेछ ।
क्वालिफायर–वानमा लुम्बिनीले सुदूरपश्चिमको सामना गर्दा त्यो प्रतियोगिताकै पहिलो ‘ब्लकबस्टर्स’ थियो । अबको फाइनल त्यसकै अर्को कडी रहनेछ, ‘ब्लकबस्टर्स–टु’ का रूपमा । यो फाइनलमा केही महत्त्वपूर्ण प्रश्नहरू लुकेका हुनेछन् । पहिलो, के लुम्बिनीले उपाधिको रक्षा गर्न सक्नेछ त ? यदि यो काममा लुम्बिनी सफल हुन्छ भने यो टिम बन्नेछ, प्रतियोगिताको तीन सिजन इतिहासको सबैभन्दा उत्कृष्ट ।
लुम्बिनीले दोस्रो सिजन जित्दा सायद त्यो भाग्यको खेल थियो । अब पनि त्यही सफलता दोहोर्याउने हो भने यो एनपीएलकै ‘ट्र्यु च्याम्पियन’ हुनेछ । त्यस स्थितिमा सुदूरपश्चिम जत्तिको अभाग्यशाली टिम अर्को कुनै हुने छैन । यदि यो टिम लगातार तीन फाइनलमा पराजित हुन्छ भने त्यस्तो भाष्य तयार हुन्छ, जसले सुदूरपश्चिम सबैभन्दा निर्णायक साबित हुने खेलमा अत्तालिन्छ, लड्खडाउँछ र अन्ततः पराजित हुन्छ । तर होइन, सुदूरपश्चिमसामु यस्तो भाष्य तोड्ने सबैभन्दा राम्रो अवसर अहिले छ ।
आखिरमा कुनै टिम लगातार तीनपल्ट फाइनल पुग्छ भने त्यो टिममा पक्कै केही त छ । त्यसैले सुदूरपश्चिम त्यस्तो दोबाटोमा छ, जहाँबाट एउटा बाटोले टोलीलाई एनपीएलकै सबैभन्दा लोकप्रिय मात्र होइन, सफल टिम पनि बनाउने छ । त्यो भनेको फाइनल जित्नु हुनेछ । होइन, हार्छ भने अर्को बाटोले सुदूरपश्चिमलाई त्यहाँ पुर्याउने छ, जहाँ हारमा प्राप्त हुने पीडा र दुःख अथाह थोपरिने छ । त्यो सुदूरका समर्थक रुवाउने खालकै हुनेछ ।
यसपल्ट लुम्बिनी सरासर सिधैं फाइनल पुगेको भन्दा हुन्छ । सबैभन्दा पहिले यसले लिग चरण समाप्तिमा शीर्षस्थान हात पारेको थियो । क्वालिफायर–वानमा प्रवेश पाएको थियो । त्यस खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई सजिलै ६ विकेटले हरायो । लिग चरणमा लुम्बिनी एउटै खेलमा पराजित रह्यो भने अर्को एउटा खेलको नतिजा निस्केन । बाँकी सबै खेलमा लुम्बिनी प्रभावशाली जित निकाल्न सफल रह्यो ।
यो टिम अहिलेसम्म आफूले खेलेको प्लेअफका तीनै खेलमा अपराजित छ । र, यो कथा सुरु हुन्छ दोस्रो सिजनबाट । पहिलो सिजन प्रतियोगिताको सबैभन्दा खराब टिम यही थियो । दोस्रो सिजनका सुरुआती ४ खेलमा तीन हार बेहोर्दा तय देखिएको थियो, यो टिम त्यतिबेला पनि कमजोर रहेछ । त्यसपछि लुम्बिनीले के खेल जित्न सुरु गर्यो, त्यसपछिको यात्रा अद्वितीय रह्यो । लुम्बिनीको यो १४ खेलको यात्रामा एक हारमात्र छ । यसलाई सानदार भन्न कर लाग्छ ।
द्दअर्कोतर्फ सुरुआती दुई सिजन लिग चरणको समाप्तितिर शीर्षमा रहेर सुदूरपश्चिमले क्वालिफायर–वान खेलेको थियो । दुवैमा विजयी पनि रह्यो । यसपल्ट टोलीको फाइनल यात्रा केही सुमधुर रहेन । पहिलो त भाग्यले लिग चरणको दोस्रो स्थानमा रह्यो । लिग चरणका पछिल्ला ४ खेल लगातार जितेर सूदूरपश्चिमले के सिद्ध गरेको थियो भने यो टिम चाहिएको बेला राम्रो खेल्न सक्षम छ । पछि क्वालिफायर–वानमा भने पहिलो पटक पराजित रह्यो ।
क्वालिफायर–टुमा भने सुदूरपश्चिमले चितवन राइनोजलाई हराएको हो । प्रतियोगिताको अहिलेसम्म जति पनि खेल भए, ती सबैको हिसाबकिताब निकाल्ने हो भने सुदूरपश्चिम नै अगाडि छ । २७ मध्ये २० खेल जितेर टोली अगाडि नै छ । त्यसपछि ठ्याक्कै पछाडि लुम्बिनी छ, २५ खेलमध्ये १४ मा विजयी रहेर । पहिलो सिजनको खराब प्रदर्शनका कारण लुम्बिनीको खातामा १० हार पनि छ, जबकि सुदूरपश्चिम सातपल्ट मात्र हारेको छ । तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यसमा तीन लगातार हार लुम्बिनीविरुद्ध नै छ ।
फाइनलअगाडि सबैभन्दा महत्त्वपूर्ण प्रश्न यो पनि छ, सुदूरपश्चिम लुम्बिनीको सामना गर्दा किन मानसिक रूपमा गल्छ ? तथ्यांकले यस्तै भन्छ । सुदूरपश्चिम पहिलो र दोस्रो सिजनका लिग चरणमा लुम्बिनीलाई हराउन त सफल रह्यो, तर त्यसपछि टोलीका लागि त्यही लुम्बिनी सबैभन्दा ठूलो तगारो बनेको छ । दोस्रो सिजनको फाइनल सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै ८५ रनमै समेटिएको थियो । यहींबाट सुरु हुन्छ, लुम्बिनी भन्नेबित्तिकै सुदूरपश्चिमको कमजोर प्रदर्शन । त्यो खेल लुम्बिनीले ९ ओभरमै जितेको थियो ।
यो सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीविरुद्ध सुदूरपश्चिम ८७ ओभरमै रोकियो । यो खेल जित्न लुम्बिनीलाई ९.५ ओभर पर्याप्त
रह्यो । यसपल्ट क्वालिफायर–वानको कुरा । यसमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले केही सुधारिएको प्रदर्शन त गर्यो, तर १०५ रनभन्दा बढी बनाउन सकेन । लुम्बिनीलाई त्यस खेलमा जितसम्म पुग्न १६.४ ओभर चाहिएको थियो ।
अबको फाइनलमा लुम्बिनी यही क्रमलाई दोहोर्याउन चाहन्छ । सुदूरपश्चिम फाइनलमा ठूलो स्कोरको लक्ष्यमै हुनुपर्नेछ, यदि पहिले ब्याटिङ गर्छ भने । यदि टस जितेर सुदूरपश्चिमले पहिले बलिङ गर्छ भने समीकरण फेरिन सक्नेछ । दोस्रो सिजन लिग चरणमा सुदूरपश्चिमले दोस्रोपल्ट ब्याटिङ गर्दै खेल जितेको थियो, लुम्बिनीले तेर्स्याएको १४४ रनको लक्ष्य पछ्याएर ।
सुदूरपश्चिमले यस सिजन बेहोरेको ठूलो समस्या भन्नु नै पावर प्लेमा कमजोर प्रदर्शन छ । यो तथ्यलाई कप्तान र प्रशिक्षक सबैले स्विकारेका छन् । विशेषतः हारेको खेलमा सुदूरपश्चिम सुरुआती ६ ओभरमा पर्याप्त रन बटुल्न सक्दैन अनि लगातार विकेट पनि गुमाउँछ । उद्घाटन खेलमा लुम्बिनीसँग हार्दा सुदूरपश्चिमको पावर प्ले ३८/४ रह्यो । काठमान्डु गोर्खाजसँगको खेलमा पनि सुदूरपश्चिम २०/४ को खराब स्थितिमा थियो । धन्न, यो खेलमा सुदूरपश्चिम विजयी
रह्यो । क्वालिफायर–वानमा पनि २० रनमात्र बनाएर ३ विकेट गुमाइसकेको थियो । लुम्बिनी धेरै हदसम्म पावर प्लेमा अगाडि छ । उद्घाटन खेलमा लुम्बिनीले ६ ओभरमा विना विकेट ७० रन बनाएको थियो । फाइनलमा त्यही टिमको जित सम्भावना अत्यधिक हुनेछ, जसले पावर प्लेको भरपुर फाइदा लिन सक्नेछ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।