युवाका नयाँ सोचलाई उद्यममा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, उद्योगमैत्री कर्मचारीतन्त्र र लगानीको वातावरण बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
काठमाडौँ — नयाँ प्रविधि र नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्न सके मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्ने भए पनि सरकारी प्रक्रियाको झन्झट, नीतिगत अस्थिरता र मौलिक व्यावसायिक सोचको अभाव चुनौतीका रूपमा रहेको सरोकारवालाले बताएका छन् । युवाका नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्न विद्यालय तहदेखि सीप विकास, सरकारी सहजीकरण, नीतिगत स्थिरता र निजी क्षेत्रको लगानी आवश्यक रहेको उनीहरूले औंल्याए ।
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व ः सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयक तेस्रो सत्रमा सहभागी विज्ञ वक्ताले नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने वातावरण बनाउन सरकार र निजी क्षेत्र दुवैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नयाँ प्रविधि र नवीन सोच भएका युवालाई पुराना तथा नयाँ सबै व्यावसायिक घरानाले अवसर दिनुपर्ने पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले जनाए । विश्व नै नयाँ प्रविधितर्फ अघि बढिरहेको अवस्थामा त्यसलाई आत्मसात् गर्न नसक्ने व्यवसाय प्रतिस्पर्धामा पछि पर्ने उनको सुझाव थियो । नयाँ प्रविधिलाई दुरुपयोग गर्न नहुनेमा पनि उनले जोड दिए । ‘नयाँ प्रविधिको सदुपयोग भयो भने समाज, देश र जनताका लागि उपलब्धि हुन सक्छ । व्यापार प्रवर्द्धनमा पनि यसको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘अहिले एआईजस्ता प्रविधि आएका छन् । तिनको सही उपयोग गर्न सके गरिबी र महामारीजस्ता समस्या समाधानमा समेत सहयोग पुग्न सक्छ ।’
राज्यमन्त्री हुँदा आफूले स्टार्टअप कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै दुगडले युवाका सिर्जनशीलता र प्राविधिक क्षमताबाट आफू प्रभावित भएको बताए । त्यस बेला नयाँ उद्यम तथा आविष्कारलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा ऋण, अनुदान र निर्यातमा सहुलियत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले जनाए । तर सरकारी प्रक्रियामा हुने ढिलासुस्तीले नयाँ सोच भएका युवालाई निरुत्साहित गरिरहेको उनको भनाइ छ । ‘हामीले पहिले यसको प्रक्रिया एक सातामै कार्यान्वयनमा लैजान्थ्यौं । अहिले एक महिना वा त्योभन्दा लामो समय लाग्न थालेको छ,’ उनले भने, ‘सरकारी प्रक्रियाको ढिलाइले नयाँ सोच र सिर्जना भएका युवाहरू निराश भएर विदेशिनुपर्ने अवस्था आएको छ ।’
नयाँ प्रविधिको विकाससँगै मुलुकहरूबीच प्रतिस्पर्धा र द्वन्द्वसमेत बढिरहेको उल्लेख गर्दै दुगडले प्रविधिको सदुपयोगमा जोड दिए । प्रविधि मानव उपयोगी हुनुपर्ने र यसको दुरुपयोगले समाज, देश, जनता र व्यवसायलाई नै नोक्सान पुर्याउने उनले बताए ।
युवाका नयाँ सोच र क्षमतालाई पहिचान गरी उद्यममा रूपान्तरण गर्नु राज्यको दायित्व भएको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव इन्द्रप्रसाद सापकोटाले जनाए । नवीन अवधारणालाई दस्ताबेजीकरण, दर्ता र व्यावसायिक विकासको प्रक्रियामा लैजान सरकारले सहयोग गर्ने उनको भनाइ छ । ‘कुनै पनि युवालाई उद्यमी बनाउन सरकार चुक्नु हुँदैन,’ उनले भने, ‘नयाँ आइडियामा राज्यले लगानी गर्नुपर्छ । नाफा कमाउन सक्ने क्षेत्रमा सहुलियत र सहजीकरण गर्ने तथा बैंकिङ क्षेत्रबाट लगानीको वातावरण बनाउने काममा प्रदेश सरकारले सहजीकरण गर्दै आएको छ ।’
युवाका नवीन सोचलाई उद्यमशीलतामा रूपान्तरण गर्न दर्ता प्रक्रियादेखि प्रवर्द्धनसम्म सरकारले सहयोग गर्नुपर्ने सापकोटाले दोहोर्याए । ‘आइडियालाई दस्ताबेजीकरण गरेर नाम, दाम, ठाम र काममा स्पष्ट भएर आउनुपर्छ,’ उनले भने, ‘त्यस्ता युवा र उद्यमीलाई प्रदेश सरकारले सहुलियत र आवश्यक सहजीकरण उपलब्ध गराउने नीति लिएको छ ।’
उद्योग व्यवसायको वास्तविक आवश्यकता बुझ्न सक्ने र जोखिमको मूल्यांकन गरेर निर्णय लिन सक्ने कर्मचारीको अभाव रहेको सापकोटाको भनाइ छ । कर्मचारीलाई उद्योग तथा व्यवसायमा इन्टर्नसिप गराएर व्यावहारिक ज्ञान दिन सकिने उनले जनाए । उद्योग स्थापना गर्दा वन क्षेत्रसम्बन्धी कानुनी तथा नीतिगत व्यवस्थाले पनि समस्या सिर्जना गरिरहेको उनले बताए । वन क्षेत्रबाट उत्पादन र आर्थिक लाभ लिन सकिने भए पनि वन क्षेत्रबाट एक किलोमिटरभित्र उद्योग स्थापना गर्न नपाइने व्यवस्थाले पहाडी क्षेत्रमा उद्योग स्थापना गर्न कठिन हुने उनले जनाए ।
नवप्रवर्तन र उद्यमशीलताको आधार विद्यालय तहबाटै तयार गर्नुपर्ने राठी एडेसिभ प्रालिका प्रमुख अरुणकुमार राठीको भनाइ छ । बजारमा आउने अधिकांश व्यावसायिक अवधारणा अरूको नक्कलमा आधारित रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई सानै उमेरदेखि मौलिक सोच र सीप विकासमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘९९ प्रतिशत आइडिया कपी–पेस्ट हुन्, एक प्रतिशत मात्रै इनोभेसन हुन्छ,’ उनले भने, ‘कक्षा ८ देखि नै कुनै सीप वा व्यावसायिक अवधारणामा काम गर्न थालियो भने स्नातक तहसम्म पुग्दा त्यो परिष्कृत भइसक्छ र युवाले व्यवसाय सुरु गर्न सक्छन् ।’
युवाले सफ्टवेयर, इलेक्ट्रोनिक्स, इन्जिनियरिङ वा अन्य कुन क्षेत्रमा आफ्नो क्षमता विकास गर्ने भन्ने विषय विद्यालय तहबाटै पहिचान गराउनुपर्ने राठीले औंल्याए । अहिलेको युवा पुस्ता प्रविधिसँग परिचित र ज्ञानले भरिपूर्ण भए पनि उद्यमशीलताका लागि संघर्ष र धैर्य उत्तिकै आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा सहजकर्ताको नवप्रवर्तनका लागि विराटनगर उर्वर छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै राठीले कुनै पनि उद्योग सुरु गर्दा सुरुवाती चरणमा संघर्ष गर्नैपर्ने बताए । उद्यमीले आफ्नो शक्ति र कमजोरी पहिचान गरेर कुन क्षेत्रमा अघि बढ्ने भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ छ । ‘अहिले इलेक्ट्रोनिक डिभाइस हेरेर हुर्किएको युवा पुस्ता ज्ञानले भरिपूर्ण छ,’ उनले भने, ‘तर, ज्ञानसँगै संघर्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’
नेपाली रैथाने कृषि उपजको प्रशोधन र बजारीकरणमार्फत अन्तर्राष्ट्रिय बजारमा आम्दानी गर्न सकिने खेतीपाती अर्गानिककी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रकृति गौतमले बताइन् । कृषि उपजलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री नगरी प्रशोधन र मूल्य अभिवृद्धि गरेर निर्यात गर्न सके मुलुकले डलर आम्दानी गर्न सक्ने उनको धारणा छ ।
सन् २०२१ मा धनकुटामा एभोकाडो कुहिएर खेर गएको देखेपछि आफूलाई पोस्ट हार्भेस्ट उद्योग सञ्चालन गर्ने सोच आएको उनको भनाइ छ । त्यसपछि संखुवासभामा उत्पादन हुने कोइरालाको फूललगायत रैथाने उत्पादनलाई सुकाउने प्रविधिमार्फत प्रशोधन गरी कतार र मलेसियासम्म पुर्याउने प्रयास थालेको उनले सुनाइन् । ‘संखुवासभामा फलेको कोइरालाको फूल कतार र मलेसिया कसरी पुर्याउने भन्ने सोचबाट हामीले सुकाउने प्रविधि र रैथाने फलफूल तथा मसलामा काम गर्न थाल्यौं,’ उनले भनिन्, ‘अहिले अन्तर्राष्ट्रिय बजार बनाइसकेका छौं । नेपाली कृषि उपजबाटै हामीले डलरमा कमाउन सक्छौं ।’ कृषि तथा उद्यम क्षेत्रमा नीतिगत अस्थिरता र सरकारी प्रतिबद्धता कार्यान्वयन नहुँदा युवा उद्यमीलाई समस्या भइरहेको गौतमले बताइन् ।
अनुदान र विद्युत् महसुलमा सहुलियतसम्बन्धी नीति पटक–पटक परिवर्तन हुने तथा घोषित सुविधासमेत कार्यान्वयन नहुने समस्या रहेको उनको गुनासो छ । ‘कुनै वर्ष अनुदान दिने नीति हुन्छ, कुनै वर्ष रोकिएको हुन्छ । विद्युत् महसुलमा सहुलियत दिने भनिन्छ, कृषिजन्य उद्योगलाई कृषि मन्त्रालयले विद्युत् महसुल छुट दिने भनिन्छ । पछि मन्त्रालयले तिरेन भनेर जरिवानासहित महसुल मागिन्छ,’ गौतमले भनिन्, ‘यस्ता गतिविधिले युवा उद्यमीलाई निरुत्साहित गर्छन् ।’
व्यवसाय सफल भएपछि मात्र सरकारले सहुलियत दिने प्रवृत्तिभन्दा व्यवसाय सुरु गर्ने र सफलतातर्फ अघि बढ्ने प्रारम्भिक चरणमै सहयोग आवश्यक रहेको गौतमले जनाइन् । त्यसका लागि स्पष्ट र स्थिर नीतिसँगै सरकारी प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ ।
सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।