१९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान, तर शव परिवारको कुन सदस्यको हो भन्ने यकिन गर्न कठिनाइ, नमुना मिलान भएका कुन परिवारले एक वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन बाँकी छ ।
भोटेकोशी बाढी आएको झन्डै तीन महिना बितिसक्दा पनि मृतकका आफन्तले अझै शव पाउन सकेका छैनन् । सरकारले हालसम्म एउटा पनि शव परिवारलाई हस्तान्तरण गर्न नसक्दा धेरैले आफ्ना प्रियजनको अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् ।
गत १० भदौमा आएको भोटेकोशी बाढीपछि विभिन्न जिल्लाका नदी किनारमा फेला परेका शवबाट १ हजार ४ सय ४५ वटा नमुना संकलन गरिएको थियो । त्यस्तै, बेपत्ता भएका व्यक्तिका परिवारका २ हजार १ सय ११ सदस्यको रगत नमुना संकलन गरिएको थियो । सरकारी अधिकारीहरूका अनुसार फेला परेका अधिकांश शवको नमुना परीक्षण (डीएनए प्रोफाइलिङ) पूरा भइसकेको छ । तीमध्ये १९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलानसमेत भएको छ ।
तर, आफन्तको डीएनए नमुनासँग मिल्दैमा फेला परेको शव परिवारको कुन सदस्यको हो भन्ने यकिन नहुने सरकारी अधिकारीहरू बताउँछन् । एउटै परिवारका धेरै सदस्य बेपत्ता भएको अवस्थामा डीएनए मिलानले शव सोही परिवारको कुनै सदस्यको भएको देखाए पनि कुन व्यक्तिको हो भन्ने छुट्याउन कठिन हुने उनीहरूको भनाइ छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको विपद् पीडित पहिचान टोलीकी संयोजक डा. सिर्जना कुँवरले मृतकको व्यक्तिगत पहिचान गर्नु अत्यन्तै चुनौतीपूर्ण, जटिल र संवेदनशील काम भएको बताइन् । ‘धेरै परिवारले एकभन्दा बढी सदस्य गुमाएका छन् । डीएनए मिलान हुँदा त्यो नमुना परिवारका बेपत्ता सदस्य जोकोहीको हुन सक्छ । त्यसैले फेला परेको शव निश्चित व्यक्तिकै हो भनेर पुष्टि गर्नु सजिलो छैन,’ उनले भनिन् ।
सरकारी अधिकारीहरूका अनुसार मृतकका आफन्तसँग मिलान भएका १९५ वटा शवका नमुनामध्ये कुन परिवारले एक जना वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन सकेको छैन । मृतकको पहिचानका लागि विभिन्न निकायले काम गरिरहेका छन् । खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशाला र नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले डीएनए परीक्षण गरेका हुन् । परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्तिम पहिचानको पुष्टि गर्ने जिम्मेवारी भने विपद् पीडित पहिचान टोलीको छ ।
दुवै प्रयोगशालाका अधिकारीहरूले आफूहरूको जिम्मेवारी फेला परेका शवका नमुना परीक्षण गरी आफन्तका नमुनासँग मिलान गर्नु मात्रै रहेको बताएका छन् । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका सूचना अधिकारी मुकुल प्रधानले परीक्षणको प्रतिवेदन विपद् पीडित पहिचान टोलीलाई बुझाइसकेको जानकारी दिए । ‘हामीले आफ्नो प्रतिवेदन सम्बन्धित टोलीलाई बुझाइसकेका छौं । त्यसपछि सम्बन्धित निकायले परीक्षण प्रतिवेदनका आधारमा थप काम र प्रमाणीकरण गरिरहेको हुनुपर्छ,’ उनले भने ।
विपद् पीडित पहिचान टोलीका अधिकारीहरूका अनुसार पहिचान प्रक्रियालाई साँघुरो बनाउन मृतकको जीवित छँदाको शारीरिक अवस्थासम्बन्धी विवरणसमेत तुलना गरिँदै छ । शरीरमा भएका ट्याटु, जन्मजात चिह्न तथा अन्य पहिचान खुलाउने चिह्नलाई आधार बनाइएको छ । त्यस्तै, शवको पोस्टमार्टम गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग पनि मृतकको शारीरिक बनावट र विशेषताबारे परामर्श लिइएको छ ।
संयोजक कुँवरका अनुसार एउटै शवका शरीरका विभिन्न भाग फरक–फरक स्थानमा फेला परेकाले एकै व्यक्तिका एकभन्दा बढी नमुना संकलन भएको हुन सक्छ । ती नमुना फरक–फरक प्रयोगशालामा परीक्षण भएका छन् । अर्कोतर्फ, आफन्तका सन्दर्भ नमुनासमेत विभिन्न स्थानमा संकलन गरी फरक प्रयोगशालामा परीक्षण गरिएको हुन सक्ने भएकाले मिलान प्रक्रियामा थप जटिलता आएको छ । ‘एउटै नमुनाको दोहोरो गणना हुन नदिनुपर्छ । आन्तरिक कार्यविधि पालना गर्दै वैज्ञानिक ढंगले काम गर्नुपर्छ, ताकि पछि कुनै विवाद नहोस्,’ कुँवरले भनिन्, ‘प्रक्रिया जटिल भएकाले समय लागिरहेको छ ।’
शव हस्तान्तरणमा भएको ढिलाइले शोकमा रहेका परिवारको पीडा थप लम्बिएको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका अधिकारीहरूका अनुसार बेपत्ता आफन्तका परिवारका सदस्यले अहिले पनि दैनिकजसो फोन गरेर जानकारी माग्ने गरेका छन् । फोन गर्ने अधिकांशको एउटै प्रश्न हुन्छ, डीएनए परीक्षण गर्न किन यति धेरै समय लागिरहेको छ ? आफन्तको शव पाउन अझै कति समय कुर्नुपर्ने हो ?
‘धेरै परिवारले अझै आफन्तको अन्तिम संस्कार गर्न पाएका छैनन् । उनीहरू शवको प्रतीक्षामा छन्,’ प्रयोगशालाका सूचना अधिकारी प्रधानले भने, ‘सुरुमा पीडित परिवारका सदस्यहरू आफैं प्रयोगशालामा आएर जानकारी लिने गर्नुहुन्थ्यो । अहिले भने अधिकांशले फोनमार्फत सोधपुछ गर्नुहुन्छ ।’
डीएनए परीक्षणलाई व्यक्तिको पहिचान पुष्टि गर्ने सबैभन्दा विश्वसनीय विधिमध्ये एक मानिन्छ । यसमा मृतकको डीएनए नमुना र नजिकका आफन्त, बुबाआमा, छोराछोरी वा दाजुभाइ, दिदीबहिनीको नमुनाबीच आनुवंशिक सम्बन्ध परीक्षण गरिन्छ । खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि ८५७ वटा नमुना प्राप्त भएका थिए । तीमध्ये ८२७ वटाको डीएनए प्रोफाइलिङ पूरा भइसकेको र बाँकी ३० वटाको परीक्षण भइरहेको प्रयोगशालाका अधिकारीहरूले बताएका छन् ।
अन्य नमुनाको परीक्षण नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले पनि पीडितका नमुनाको प्रोफाइलिङ र दर्जनौं नमुनाको मिलान पूरा गरी प्रतिवेदन विपद् पीडित पहिचान टोलीलाई बुझाइसकेको जानकारी दिए ।
दुवै प्रयोगशालाका अधिकारीहरूका अनुसार शव पहिचानका लागि भारत, चीन र दक्षिण कोरियाबाट प्राविधिक तथा प्रविधिगत सहयोग प्राप्त भएको थियो । ती देशले विज्ञ टोली, आवश्यक उपकरण र परीक्षणमा प्रयोग हुने रसायन तथा सामग्रीसमेत उपलब्ध गराएका थिए । ‘उनीहरूको सहयोग नभएको भए सबै परीक्षण पूरा गर्न हामीलाई दुई वर्ष लाग्न सक्थ्यो,’ काफ्लेले भने, ‘उनीहरूको सहयोग निकै महत्त्वपूर्ण रह्यो । यसबाट हाम्रा कर्मचारीले पनि परीक्षण प्रक्रियाबारे महत्त्वपूर्ण ज्ञान हासिल गरेका छन् ।’
यसैबीच, पहिचान प्रक्रिया निकै लामो र झन्झटिलो भएको भन्दै भोटेकोशी बाढीमा बेपत्ता भएका कतिपयका परिवारले शव पाउने आशा छाडेर आफन्तको अन्तिम संस्कार गरिसकेका छन् । बाढीमा परिवारका सदस्य गुमाएका नुवाकोटका नीराजन पौडेलले शव पहिचानका लागि सन्दर्भ नमुना दिन प्रहरी कार्यालय गए पनि प्रक्रिया निकै लामो हुने थाहा पाएपछि नमुना नदिई फर्किएको बताए । ‘महिनौं लाग्न सक्ने रहेछ, शव पाउन अनिश्चितकालसम्म कुर्नुपर्ने हुने रहेछ । त्यति गर्दा पनि शव भेटिन्छ भन्ने ग्यारेन्टी छैन,’ उनले भने । बाढीमा उनले बुबाआमा, काकाकाकी र काकाका एक सन्तान गुमाएका थिए । शव फेला पर्ने सम्भावना नदेखेपछि उनले हिन्दु परम्पराअनुसार कुशको प्रतिमा बनाएर आफन्तको अन्तिम संस्कार गरेको बताए । हिन्दु परम्परामा शव प्राप्त हुन नसकेको अवस्थामा कुशबाट प्रतीकात्मक शरीर बनाएर अन्त्येष्टि गर्ने चलन छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि हालसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । नदी किनारमा फेला परेका शवमध्ये १ हजार १ सय ४८ वटालाई पहिचान खुल्ने गरी डीएनए नमुना संकलन गरेर सुरक्षित राख्ने उद्देश्यले गाडिएको छ । मृतकको पहिचान पुष्टि भएपछि ती शव चिहानबाट निकालेर सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने अधिकारीहरूले बताएका छन् ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।