४ मंसिर, काठमाडौं । चीन भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सांसदहरूले गरेको कुराकानीको अडियो संवाद विवादित भएपछि सांसद श्रीराम न्यौपानेले त्यसबारे स्पष्टीकरण दिएका छन् ।
सामाजिक सञ्जालमार्फत सांसद न्यौपानेले नै सार्वजनिक गरेको एक भिडियोमा विपक्षी दलहरूका नेताहरूमाथिको टिप्पणी थियो ।
उक्त संवादका क्रममा उनीहरूले कांग्रेसको आधिकारिकता शेरबहादुर देउवा पक्षलाई दिनुपर्ने, एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव महेश बस्नेत अझै चर्को भएर उत्रिनुपर्ने, आफूहरूले त्यसको फाइदा लिन सक्ने लगायका टिप्पणी गरेका थिए ।
जसबारे स्पष्ट पार्दै सांसद न्यौपानेले लेखेका छन्–
देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति जनतामा देखिएको असन्तुष्टि र परिवर्तनको अपेक्षाकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकपटकका लागि मत परिवर्तन गर्दै जनताले अत्यधिक मत दिएका हुन्।
जनताले दिएको यो अभूतपूर्व अवसरलाई सदुपयोग गर्दै सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिन सक्नुपर्छ। जनताको अपेक्षाअनुसार काम गरेर परिणाम घरदैलोसम्म पुर्याउन सकेनौँ भने आगामी निर्वाचनमा हामीले पनि विगतका राजनीतिक दलहरूले सामना गरेको जनविश्वासको संकट बेहोर्नुपर्ने अवस्था आउन सक्छ।
हाम्रो अनौपचारिक छलफल र संवादको मूल निष्कर्ष यही थियो– जनताले दिएको मत र विश्वास स्थायी होइन; त्यसलाई काम, इमानदारी र नतिजाबाट प्रमाणित गर्नुपर्छ। यथार्थ पनि यहि नै हो।