४ मंसिर, काठमाडौं । कुमार कुशाग्र र कप्तान तिलक वर्माले शानदार शतक बनाएपछि राइजिङ स्टार्स एसिया कपमा भारतले नेपालसामू बलियो योगफल खडा गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारत ए ले ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको हो ।
कुशाग्रले ११७ तथा तिलकले १०७ रन बनाए । सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए । त्यसअघि ओपनर वैभव सूर्यवंशीले २६ रन बनाएका थिए ।
भारत ४२-३ को अवस्थामा हुँदादेखि कुशाग्र र तिलक मिलेर चौथो विकेटका लागि २०६ रनको शानदार दोहोरो शतकीय साझेदारी बनाए ।
भारतको स्कोर २४८ हुँदा कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक बनाएपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले ३-३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफले १ विकेट लिए ।