नवप्रवर्तन र नयाँ प्रविधि भित्र्याउने युवालाई व्यावसायिक घरानाले अवसर दिनुपर्ने भन्दै दुगडले सरकारी प्रक्रियामा हुने ढिलाइले सिर्जनशील युवा निरुत्साहित भएर बिदेसिनुपरेको बताए ।
काठमाडौँ — नयाँ होऊन् वा पुराना, सबै व्यावसायिक घरानाले नवप्रवर्तनको सोच र नयाँ प्रविधि लिएर आउने युवालाई स्थान दिनुपर्ने पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले बताएका छन् ।
व्यवसायले समयअनुसार आफूलाई परिवर्तन गर्न नसके प्रतिस्पर्धामा पछि पर्ने उल्लेख गर्दै उनले नवप्रवर्तनलाई आत्मसात् गर्नु सबै व्यावसायिक घरानाका लागि आवश्यक रहेको बताए ।
कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको तेस्रो सत्र ‘तुलनात्मक लाभमा नवप्रवर्तनको साथ’ विषयमा बोल्दै दुगडले नयाँ प्रविधिको सदुपयोगले समाज र अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्ने बताए ।
राज्यमन्त्री रहँदा आफूले स्टार्टअप कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उनले त्यस क्रममा युवाहरूले देखाएको सिर्जनशीलता र प्राविधिक क्षमताबाट आफू प्रभावित भएको बताए ।
त्यतिबेला नयाँ उद्यम तथा आविष्कारलाई प्रोत्साहन गर्न सहुलियत ब्याजदरमा ऋण, अनुदान र निर्यातमा सहुलियत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले बताए । ती कार्यक्रमको कार्यान्वयन प्रक्रिया पनि सुरुमा निकै छिटो हुने गरेको भए पनि पछिल्लो समय यसमा ढिलासुस्ती हुँदा युवाहरू निरुत्साहित भएको उनको भनाइ छ ।
‘हामीले पहिले यसको प्रक्रिया एक सातामै कार्यान्वयनमा लैजान्थ्यौँ । तर अहिले एक महिना हुँदै यो प्रक्रियामा त्योभन्दा लामो समय लाग्न थालेको छ,’ उनले भने, ‘सरकारी प्रक्रियामा हुने ढिलाइले नयाँ सोच र सिर्जना भएका युवाहरू निराश भएर विदेशिनुपर्ने अवस्था आएको छ ।’
नयाँ प्रविधि र नवप्रवर्तनमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न सरकारले छिटो निर्णय गर्नुपर्ने उनको भनाइ थियो । उनले नयाँ प्रविधिको विकाससँगै मुलुकहरूबीच अप्रत्यक्ष प्रतिस्पर्धा र द्वन्द्वसमेत बढिरहेको उल्लेख गर्दै प्रविधिको सकारात्मक उपयोगका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।