Trending
Prev Story
Next Story

सौका संस्कृति र हिमाल जोडेर व्याँसमा पर्यटन प्रवर्द्धनको योजना

Ekantipur •
November 20, 2026 • 12:02 PM
2
2 reads 0 reactions

सौका संस्कृति, हिमशृङ्खला र साहसिक पदयात्रालाई जोडेर व्याँसलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ।

सौका संस्कृति र हिमाल जोडेर व्याँसमा पर्यटन प्रवर्द्धनको योजना

सौका संस्कृति, हिमशृङ्खला र साहसिक पदयात्रालाई जोडेर व्याँसलाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ।

बझाङ — प्राकृतिक सौन्दर्य, सुन्दर हिमशृङ्खला र विशिष्ट हिमाली सभ्यताको संगम मानिने दार्चुलाको व्याँस गाउँपालिकामा पर्वतीय पर्यटनको सम्भावना पहिचान तथा प्रवर्द्धन गर्न नाम्पा हिमालको आधार शिविर पुग्ने पदमार्गको स्थलगत अध्ययन गरिएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिले व्याँस गाउँपालिकाको समन्वयमा गरेको अध्ययनमा यस क्षेत्रका हिमालको तथ्यांक संकलन, पदमार्गको भौगोलिक अवस्था र स्थानीयस्तरमा रहेका होमस्टेलगायत पर्यटन पूर्वाधारको अवस्थाबारे जानकारी संकलन गरिएको हो ।

पर्वतारोहण संघका पदाधिकारी, प्राविधिक, फोटोग्राफर, भिडियोग्राफर तथा स्थानीय तहका प्रतिनिधिसहितको टोलीले नाम्पा हिमशृङ्खलाअन्तर्गतका विभिन्न चुचुराको स्थलगत अध्ययन गरेको गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्ययनका क्रममा पाँच हजार मिटरभन्दा अग्ला हिमालको विवरण, तस्बिर तथा भिडियो संकलन गर्नुका साथै नाम्पा आधार शिविरसम्म पुग्ने पदमार्गको अवस्था र होमस्टेहरूको सुविधाबारे अध्ययन गरिएको उनले जानकारी दिए ।

पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष किशोर खड्काका अनुसार संकलित तस्बिर, भिडियो र प्राविधिक विवरणका आधारमा व्याँस क्षेत्रका हिमालको ‘पिक प्रोफाइल’ तथा स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी आवश्यक सूचनासहितको यात्रा तालिका (आइटिनरी) तयार गरिनेछ । ‘अहिले संकलन भएका तस्बिर, भिडियो र प्राविधिक विवरणका आधारमा पर्यटकलाई आवश्यक सूचना समेटिएको आइटिनरी र व्याँसमा रहेका हिमालहरूको पिक प्रोफाइल तयार पारिनेछ,’ अध्यक्ष खड्काले भने ।

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्रमा अवस्थित व्याँस गाउँपालिका हिमाल आरोहण, साहसिक पदयात्रा तथा प्राकृतिक दृश्यावलोकनका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । तर सडक, सञ्चार, व्यवस्थित पदमार्ग र पर्यटकका लागि आवश्यक आधारभूत सुविधाको अभावमा यहाँ पर्यटकको आगमन न्यून छ ।

अध्ययन टोलीका सदस्य तथा पर्वतारोहण संघका प्रदेश सचिव विक्रम ठकुल्लाले स्थलगत अध्ययनबाट पर्यटन पूर्वाधारको आवश्यकता र सम्भावित स्थान पहिचान गर्न सहयोग पुगेको बताए । ‘कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भन्ने कुरा स्थलगत अध्ययनबाट पहिचान भएको छ,’ उनले भने, ‘हामी अध्ययन प्रतिवेदनमार्फत प्रदेश र स्थानीय सरकारलाई आवश्यक पूर्वाधार निर्माणका लागि सिफारिस गर्नेछौं ।’ उनका अनुसार अध्ययन प्रतिवेदनले नाम्पा क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि तीनै तहका सरकार तथा निजी क्षेत्रलाई लगानीका सम्भावित क्षेत्र पहिचान गर्न आवश्यक आधार र सूचना उपलब्ध गराउनेछ ।

अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने व्याँसमा ६ हजार मिटरभन्दा अग्ला थुप्रै हिमाल छन् । तर ती हिमालको उचाइ, अवस्थिति र आरोहणसम्बन्धी अद्यावधिक तथा एकीकृत तथ्यांक सरकारी निकायमा उपलब्ध छैन । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो शिखर अपि हिमाल (७,१३२ मिटर) व्याँस र अपिहिमाल गाउँपालिकाको सिमानामा अवस्थित छ । यसैगरी नाम्पा (६,७५७ मिटर), बोम्बे (६,८०८ मिटर), व्यास (६,६७० मिटर) र योका पहाड (६,६४४ मिटर) लगायत हिमशिखर यस क्षेत्रमा छन् ।

सीमावर्ती क्षेत्रमा धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेका ओम पर्वत र आदि कैलाशसमेत रहेकाले व्याँसलाई पर्वतीय पर्यटनसँगै धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । यसका अलावा नेपालको दार्चुलामा मात्रै बसोबास रहेको आदिवासी सौका समुदायको मौलिक संस्कृति, भाषा, भेषभूषा, जीवनशैली र परम्परागत चाडपर्व पनि यस क्षेत्रका पर्यटकीय आकर्षण हुन् ।

यो समुदाय छाङरु, टिङ्कर, पार्ला र दुम्लीङलगायत बस्तीमा बसोबास गर्छ । यस समुदायको परम्परागत मौसमी बसाइँसराइ ‘कुञ्चा’ हिमाली जीवनशैलीको महत्त्वपूर्ण पक्ष हो । अत्यधिक चिसो र हिमपातबाट बच्न कात्तिक–मंसिरमा परिवार तथा पशुचौपायासहित सदरमुकाम खलंगा झर्ने र गर्मी सुरु भएपछि वैशाख–जेठमा पुनः छाङरु तथा टिङ्कर फर्किने परम्परा पनि पर्यटकका लागि नौलो र आकर्षणको विषय बन्न सक्ने अध्ययन टोलीको बुझाइ छ ।

सौका समुदायले मनाउने गबला, काङ्डाली, किर्जे, पितृपूजन तथा बुढानी पूजाजस्ता मौलिक पर्व र अनुष्ठान पनि सांस्कृतिक पर्यटनका महत्त्वपूर्ण आधार हुन सक्ने अध्ययन टोलीका अर्का सदस्य गौरव खड्काले बताए । परम्परागत पोसाक, रङ संस्कृति अन्तर्गतका लोकगीत, नृत्य तथा भेडाको ऊनबाट तयार गरिने राडी, पाखी र चुट्काजस्ता हस्तकलाले पर्यटकलाई फरक सांस्कृतिक अनुभव दिन सक्ने उनको भनाइ छ ।

अपि नाम्पा संरक्षण क्षेत्रमा रहेका टिङ्कर भञ्ज्याङ, कालीढुङ्गा ताल, छियालेक, यार्सागुम्बालगायत बहुमूल्य जडीबुटी पाइने पाटन तथा स्थानीय होमस्टेलाई नाम्पा आधार शिविर पुग्ने पदमार्गसँग जोड्न सके यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने दार्चुलाका स्थानीयसमेत रहेका नेपाल पर्वतारोहण संघ सुदूरपश्चिमका पूर्वअध्यक्ष देवसिं धामीले बताए ।

‘हिमाल आरोहण र पदयात्रासँगै सौका समुदायको संस्कृति, धार्मिक स्थल, जैविक विविधता र स्थानीय आतिथ्यलाई जोडेर व्याँसलाई सुदूरपश्चिमकै महत्त्वपूर्ण पर्यापर्यटकीय तथा सांस्कृतिक गन्तव्य बनाउन सकिने सम्भावना छ,’ उनले भने, ‘त्यसका लागि पदमार्गको स्तरोन्नति, सुरक्षित आवागमन, सञ्चार सुविधा, पर्यटक सूचना केन्द्र, दक्ष स्थानीय गाइड र होमस्टे सेवाको गुणस्तर सुधार गर्न आवश्यक देखिन्छ ।’ स्थानीय र प्रदेश सरकारले यस्ता कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले अध्ययनबाट संकलित विवरणले व्याँसको पर्यटन विकासका लागि दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने बताए । ‘यहाँका हिमालको पर्यटकीय सम्भावना पहिचान गरी सौका संस्कृतिसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न यो अध्ययनले आधार तयार गरेको छ,’ उनले भने, ‘अध्ययन प्रतिवेदन प्राप्त भएपछि होमस्टे स्तरोन्नति, पदमार्ग सुधार र सांस्कृतिक सम्पदाको संरक्षणका लागि आवश्यक नीति तथा कार्यक्रम तय गर्नेछौं ।’ हिमालको विवरण संकलन र आधार शिविरसम्म पुग्ने पदमार्गको अध्ययनले आगामी दिनमा पर्यटन विकासका योजना तथा लगानीका क्षेत्र पहिचान गर्न सहज हुने उनले बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
46m ago
हिमालबाट ३३ करोड ४२ लाख आम्दानी

हिमालबाट ३३ करोड ४२ लाख आम्दानी

सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको अनुमति दिएर ३३ करोड ४२ लाख ३४ हजार २२६ राजस्व संकलन गरेको छ।

#हिमाल
Compare →
Onlinekhabar
1d ago
कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

२ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् । टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म …

#हिमाल
Compare →
Hamro Patro News
2d ago
मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

मृत्युपछि पनि हिमालमा बसेका “प्लम्बर” नेभिल वुडरसनको नेपाल साइनो

सगरमाथाको शिखरमा पुग्नेहरूको नाम इतिहासले सजिलै सम्झन्छ । तर, ती शिखरको फेदमा बस्ने मानिसका लागि अस्पताल, विद्यालय र पुल बनाइदिनेहरूलाई कसले सम्झेका होलान त । न्युजिल्यान्डका नेभिल वुडरसन यस्तै एक ...

#हिमाल
Compare →
Arthasansar
4d ago
कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षण आर्थिक विकास र राष्ट्रिय पहिचानसँग जोडिएको विषय हो - चेम्बर अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदा संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता तथा आर्थिक...

#संस्कृति
Compare →

Related Stories

World News
Build #2612