घोप्टेभिरको पहिरो सफा गर्न पृथ्वी राजमार्गमा भोलि मंसिर ५ देखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खाले गाडी चलाउन रोक लगाइएको हो ।
चितवन — घोप्टेभिरको पहिरो सफा गर्न शनिबारदेखि पृथ्वी राजमार्ग दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
चितवन जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नहुँदासम्म घोप्टेभिरको पहिरो सफा गर्न पृथ्वी राजमार्गमा भोलि मंसिर ५ देखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सबै खाले गाडी चलाउन रोक लगाएको जनाएको छ ।
पृथ्वी राजमार्गको इच्छाकामनास्थित कुरिनटार नजिक घोप्टेभिरमा तिहार आसपासदेखि लगातारजसो पहिरो खसेको छ । पहिरोले घण्टौं बाटो अवरुद्ध हुनुका साथै ढुंगा लागेर एक जनाको निधन भएको छ ।
सम्भावित जोखिमलाई ध्यानमा राखेर ढुंगा माटो हटाउन सडक बन्द गरिएको चितवन जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।