एकादशीका अवसरमा पाल्पा र स्याङ्जा सीमाका रिडी, राम्दी, रानीघाट, केलादी र अन्य घाटमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको थियो।
पाल्पा — हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार कालीगण्डकी नदीका विभिन्न घाटमा स्नान गर्ने र मेला भर्नेको भीड लागेको छ । बिहानैदेखि नदी किनारमा भक्तजनको घुइँचो लागेको हो । पाल्पा र स्याङ्जाको सीमा भएर बग्ने कालीगण्डकी नदीका विभिन्न स्थानमा एकादशी मेला लाग्ने भएकाले टाढाटाढाबाट श्रद्धालु पुगेका छन् ।
हरिबोधिनी एकादशीका दिन कालीगण्डकीमा स्नान गर्ने, भगवान् विष्णुको पूजा गर्ने र नदी किनारमा तोरण तार्ने धार्मिक प्रचलन छ । व्रत बसेर नदीमा स्नान गरे मनले चिताएको पूरा हुने धार्मिक विश्वासका कारण पनि एकादशीका दिन कालीगण्डकी किनारमा भक्तजनको भीड लाग्ने गरेको छ ।
पाल्पाको रुरुक्षेत्र रिडी, रानीमहलस्थित रानीघाट, राम्दी, गेझाको आँधीघाट, रामपुर नगरपालिकाअन्तर्गत केलादी र खोरियाघाट, रम्भा गाउँपालिकाको हुँगीघाट र उत्तरवाहिनीलगायत स्थानमा बिहानैदेखि श्रद्धालुको चहलपहल थियो । कतिपय भक्तजन रातिदेखि नै घाटमा पुगेका थिए । नदीमा स्नान गर्ने, पूजा गर्ने र तोरण तार्नेहरूको भीड दिनभर देखिएको राम्दीका केशव बस्यालले बताए ।
माथागढी गाउँपालिका–१ का विष्णु तिमिल्सेनाले कालीगण्डकीमा स्नान र व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले हरेक वर्ष एकादशीमा भक्तजन आउने गरेको बताए । उनका अनुसार कालीगण्डकीको धार्मिक महत्त्वका कारण पाल्पा, स्याङ्जालगायत जिल्लाबाट श्रद्धालु आउने गर्छन् ।
एकादशी मेलामा धार्मिक गतिविधिसँगै स्थानीय उत्पादनको किनबेच पनि हुने गरेको छ । राम्दी, आँधीघाट र केलादीलगायत स्थानमा लागेका मेलामा घरेलु सामग्री किन्ने र बेच्नेको भीड थियो । मेलामा सुन्तला, सुपो, डोको, माटाका भाँडा, तरुल, सखरखण्डलगायत सामग्रीको कारोबार भएको केलादी मेलामा सहभागी रामपुरका कृष्ण रानाले बताए । स्थानीय किसान तथा व्यापारीले आफ्ना उत्पादन बिक्रीका लागि घाट आसपासमा पसल राखेका थिए । मेला भर्न आउनेले पूजासामग्रीसँगै घरायसी प्रयोगका सामान पनि किनमेल गरेका थिए ।
पाल्पासहित स्याङ्जा, रुपन्देही, गुल्मी, कास्की, नवलपरासी र तनहुँबाट भक्तजन मेला भर्न आएका थिए । सडक यातायातको सुविधा भएकाले राम्दीमा विशेष भीड लागेको थियो । पर्यटकीय क्षेत्र रानीमहलस्थित रानीघाटमा पनि सयौं श्रद्धालु स्नान तथा पूजाआजाका लागि पुगेका थिए । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीस्थित रुरुक्षेत्रमा समेत बिहानैदेखि स्नान गर्नेको चहलपहल थियो । रिडीको ऋषिकेश मन्दिरमा द्वादशीमा रथयात्रा गर्ने प्रचलन छ ।
कालीगण्डकीको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काउन नदी किनारका विभिन्न स्थानमा भजनकीर्तनसमेत गरिएको थियो । राम्दीदेखि उत्तरवाहिनी क्षेत्रसम्म भक्तजनले कालीगण्डकीको महिमा गाउने भजन तथा गीत प्रस्तुत गरेका थिए । रम्भा गाउँपालिकाले उत्तरवाहिनी क्षेत्रनजिकै असेर्दीस्थित गुरुकुलमा भजनकीर्तन कार्यक्रम आयोजना गरेको थियो । यहाँ दामोदर रजतोत्सव एवं उत्तरगण्डकी सद्भाव महामेला २०८३ चलिरहेकाले भीडसमेत बढेको छ ।
रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले कालीगण्डकीको धार्मिक महत्त्व र परम्पराको संरक्षण गर्ने उद्देश्यले भजनकीर्तन आयोजना गरिएको बताए । उनले कालीगण्डकी नदीमा पाइने शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूज्ने परम्परा रहेको उल्लेख गरे । ‘कालीगण्डकी नदी हाम्रो धार्मिक र सांस्कृतिक पहिचानसँग जोडिएको छ । यसको महत्त्व नयाँ पुस्तालाई बुझाउन र पुरानो परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रम गरेका हौं,’ स्थानीय कृष्णप्रसाद रेग्मीले बताए ।
मुक्तिनाथ र देवघाटजस्ता प्रसिद्ध धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व रहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए । उनका अनुसार कालीगण्डकी लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने साझा नदीसमेत हो । नदी किनारका विभिन्न घाटमा लाग्ने मेलाले धार्मिक पर्यटनसँगै स्थानीय व्यापार र आर्थिक गतिविधिमा पनि सहयोग पुर्याउँदै आएको उनले बताए ।
हरिबोधिनी एकादशीका अवसरमा रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाभित्र पर्ने कालीगण्डकी नदीका विभिन्न घाटमा ठूलो संख्यामा भक्तजन स्नान तथा पूजाआजाका लागि पुग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरप्रमुख थापाले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।