नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष सारडाले कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै रहेको तर सस्तो लागतका आधारमा मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिइन् ।
काठमाडौँ — कोशी प्रदेशमा उत्पादनको सम्भावना र क्षमता पर्याप्त भए पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न उत्पादनको गुणस्तर बढाउनुपर्ने नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष गिरिजा सारडाले बताएकी छन् ।
कान्तिपुर मिडिया ग्रुपले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत दोस्रो सत्र ‘कोशीको उत्पादन, विश्वबजारमा पहिचान’ मा बोल्दै उनले गुणस्तरीय उत्पादनका लागि प्रविधिसँगै नीतिगत सहयोग पनि आवश्यक रहेको बताइन् ।
‘कोशी प्रदेशमा उत्पादन गर्ने क्षमता धेरै छ । तर सस्तो लागतका आधारमा मात्रै हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । हाम्रो उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्छ,’ उनले भनिन् ।
सारडाले उद्योगबाट उत्पादित रबर र अटोमोबाइल ट्युब पाकिस्तान, भारत, श्रीलंका र टर्कीमा निर्यात भइरहेको जानकारी दिइन् ।