Trending
Prev Story
Next Story

बर्दिया निकुञ्ज आसपास रिसोर्टमा लगानीको लहर, ठाकुरद्वारादेखि मधुवनसम्म फैलिए होटल-रिसोर्ट

Ekantipur •
November 20, 2026 • 11:02 AM
2
2 reads 0 reactions

बर्दिया निकुञ्ज क्षत्रेमा स्थानीय व्यवसायीको लगानीबाट सुरु भएको पर्यटन पूर्वाधारमा पछिल्लो समय जिल्ला बाहिरका ठूला लगानीकर्ता आकर्षित भइरहेका छन् ।

बर्दिया निकुञ्ज आसपास रिसोर्टमा लगानीको लहर, ठाकुरद्वारादेखि मधुवनसम्म फैलिए होटल-रिसोर्ट

बर्दिया निकुञ्ज क्षत्रेमा स्थानीय व्यवसायीको लगानीबाट सुरु भएको पर्यटन पूर्वाधारमा पछिल्लो समय जिल्ला बाहिरका ठूला लगानीकर्ता आकर्षित भइरहेका छन् ।

बर्दिया — बाघ अवलोकनका लागि प्रसिद्ध गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज आसपास सुविधासम्पन्न होटल र रिसोर्ट धमाधम सञ्चालनमा आइरहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रमा आकर्षक रिसोर्ट सञ्चालन गर्ने क्रम बढेको हो। एक दशक अघिसम्म स्थानीय व्यवसायीले लगानी गरेर होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएका थिए। पछिल्लो समय भने जिल्ला बाहिरका ठूला लगानीकर्ता पनि आकर्षित भइरहेका छन्।

पहिले निकुञ्जको मुख्यालय रहेको ठाकुरद्वारामा मात्रै होटल तथा रिसोर्ट सञ्चालनमा थिए। सुरुमा निकुञ्जसँग जोडिएको चिटकैयामा टाइगर टप्स कर्णाली लज सञ्चालनमा आएको थियो। टाइगर टप्सले विदेशी पाहुना आकर्षित गर्न थालेपछि निकुञ्जबाहिर अन्य रिसोर्ट पनि सञ्चालनमा आएका थिए। अहिले ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि मधुवन नगरपालिकासम्म आकर्षक रिसोर्ट सञ्चालनमा आएका छन्।

पहिले निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरबाबा–९ मा केन्द्रित लगानी विस्तार भएर मधुवन नगरपालिकासम्म पुगेको हो। कर्णालीको भँगालो आसपासका मध्यवर्ती क्षेत्रमा रिसोर्ट निर्माण भइरहेका छन्। पर्यटन पूर्वाधारमा लगानी थपिँदा स्थानीय बासिन्दा खुसी छन्। ठाकुरद्वारा र मधुवनका बासिन्दाले होटल तथा रिसोर्टमा रोजगारी पाउन थालेपछि उत्साहित भएको होटल संघ नेपाल, बर्दियाका अध्यक्ष मोहनलाल चौधरीले बताए। ‘पर्यटन व्यवसायीले लगानी गर्नु अरूको ग्राहक काट्नु होइन, नयाँ ग्राहक भित्र्याउनु पनि हो,’ अध्यक्ष चौधरीले भने, ‘नयाँ ग्राहक भित्रिँदा स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय कृषि उत्पादनको खपत पनि बढ्छ।’

मधुवन नगरपालिकामा पनि अहिले ठूलो लगानीका स्तरीय होटल निर्माण भइरहेका छन्। मधुवन–१, पत्थरबोझीमा १० बिघा क्षेत्रफलमा कल्पतरु रिसोर्ट निर्माणाधीन छ। प्रकृति र वातावरणअनुकूल रिसोर्ट निर्माण भइरहेको सञ्चालक कौशलेन्द्र (दिपु) गुप्ताले बताए। ‘भारतका विभिन्न ठाउँबाट विवाह र भोज गर्न आउनेलाई लक्षित गरी रिसोर्ट निर्माण गरिरहेका छौं,’ उनले भने, ‘५० करोड लगानी गरेर रिसोर्ट निर्माण गर्न लागेका हौं।’ निर्माण पूरा गरी आठ महिनाभित्र रिसोर्ट सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए। कल्पतरुको शाखा नेपालगन्जमा छ भने सुर्खेतमा पनि अर्को शाखा निर्माणाधीन रहेको गुप्ताले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयको सामुन्ने ठूलो लगानीमा बर्दिया रिसोर्ट निर्माण भइरहेको छ। पर्यटकलाई फरक सेवा–सुविधा दिने उद्देश्यले रिसोर्ट निर्माण भइरहेको सुपरभाइजर हरिवंश चौधरीले बताए। निकुञ्जको मुख्य कार्यालय प्रवेश गर्ने गेटको सामुन्ने रहेको यो रिसोर्ट आसपास पुराना र स्थापित होटल तथा रिसोर्ट पनि छन्। चौधरीका अनुसार २०८० पुसदेखि निर्माण कार्य भइरहेको छ। ‘कुनै प्राविधिक समस्या नआए ०८४ वैशाखमा रिसोर्ट सञ्चालन गर्ने योजना छ,’ उनले भने, ‘यसको लगानी ३५ करोड आसपास छ।’

यहाँ सञ्चालनमा रहेका केही रिसोर्टलाई प्रकृतिमैत्री बनाइएको छ। स्थानीय स्रोत–साधनको उपयोग गरेर वातावरणमा प्रभाव नपर्ने गरी निर्माण गरिएका संरचना पर्यटकका लागि आकर्षण बनेका छन्। ठाकुरबाबा–९, हात्तीसारमा वातावरणमैत्री टाइगर ट्रयाक इको लज सञ्चालनमा आएको छ। अहिले अधिकांश होटल तथा रिसोर्ट कंक्रिटबाट निर्माण गरिएका छन्। तर स्थानीय स्रोत–साधन प्रयोग गरेर बनाइएको प्रकृतिमैत्री टाइगर ट्रयाक इको लज पर्यटन क्षेत्रमा नौलो छ।

माटोको भित्ता र छानामा समेत प्राकृतिक स्रोत–साधन उपयोग गरिएकाले यहाँका कोठा चिसा र वातावरण शान्त रहेको छ। अहिले यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ। सस्टेनेबल हस्पिटालिटी विधाअन्तर्गत इको लजले ए प्लस अवार्डसमेत प्राप्त गरिसकेको छ। वन्यजन्तुबाट पीडित तथा लामो समयदेखि संरक्षणमा क्रियाशील ठाकुरबाबा–९ का हेमन्तप्रसाद आचार्यले इको लज सञ्चालनमा ल्याएका हुन्।

‘दुई करोड रुपैयाँ लगानी गरेर वातावरणमा कुनै प्रभाव नपर्ने किसिमले इको लज सञ्चालनमा ल्याइएको छ,’ उनले भने, ‘इको लजमा वन्यजन्तुबाट प्रभावितले रोजगारी पाएका छन्।’ यसको मुनाफाबाट वन्यजन्तुको आक्रमणमा श्रीमान् गुमाएका महिलालाई सहयोग गर्ने योजना रहेको उनले बताए।

तीन वर्षदेखि मधुवन–१, पत्थरबोझीमा गेरुवा रिभरसाइड रिट्रिट सञ्चालनमा छ। कर्णालीको भँगालो गेरुवा किनारमा तीन बिघा क्षेत्रफलमा रिसोर्ट सञ्चालन गरिएको छ। आरामदायी बसाइ, शान्त वातावरण र वन्यजन्तु अवलोकनका लागि पर्यटक यहाँ आउने गरेका छन्। यहाँका संरचनालाई वातावरणमैत्री बनाउन बाँस प्रयोग गरिएको रिसोर्टका व्यवस्थापक कुमार खड्काले बताए।

‘तीन वर्षदेखि टेन्टबाट सेवा दिँदै आएका छौं,’ उनले भने, ‘आवश्यक नयाँ संरचना निर्माणाधीन अवस्थामा छन्।’ एक वर्षभित्र निर्माण कार्य पूरा गरी रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आउने उनले जानकारी दिए। उनका अनुसार गेरुवा रिभरसाइड रिट्रिटमा १५ करोड रुपैयाँ लगानी भइसकेको छ।

‘गत वर्ष भारतीय फिल्म ‘सनम तेरी कसम’का मुख्य नायक हर्षवर्धन राणे गेरुवा रिभरसाइड रिट्रिटमा चार दिन बिताएर खुसीसाथ फर्किएका थिए,’ उनले भने, ‘जंगल वाक र जिप सफारीमा जाँदा पाटे बाघ, एकसिंगे गैंडा, हात्तीलगायत वन्यजन्तु देखेर भारतीय नायक खुसी भएका थिए।’ नदी र वनसँगै जोडिएकाले रिसोर्टमा बसेरै वन्यजन्तु अवलोकन गर्न सकिने उनले बताए।

मधुवन–१ मै बुरहान वाइल्डरनेस क्याम्प्स रहेको छ। कर्णालीका भँगालो, गेरुवा र खौराहा खोलाले यसलाई घेरिएको छ। खाता करिडोरअन्तर्गत टापुमा रहेको यो क्याम्प प्रकृतिमैत्री ढंगले निर्माण गरिएको छ। यहाँ स्थायी संरचना छैनन्। पर्यटक आएपछि टेन्ट व्यवस्थापन गरेर आवासको व्यवस्था गरिन्छ। यहाँ ट्री हाउस पनि छन्। क्याम्पस्थलबाट बाघ, हात्ती, गैंडा, चित्तललगायत वन्यजन्तु र विभिन्न प्रजातिका पक्षी अवलोकन गर्न सकिन्छ।

सन् २०२२ देखि मौलिक वस्तु यथावत् राखेर संरक्षणमा टेवा पुर्‍याउँदै गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले क्याम्प स्थापना गरिएको सञ्चालक प्रभा गौतमले बताइन्। ‘दुई वर्ष परीक्षणका रूपमा बितायौं,’ उनले भनिन्, ‘तेस्रो वर्षदेखि व्यापारको हिसाबले अघि बढ्यो। बुरहान क्याम्प्सबाट सन्तुष्ट छौं।’

सञ्चालक गौतमका अनुसार प्रकृति र स्थानीय संस्कृतिको सँगसँगै संरक्षण गर्ने योजना छ। ‘यहाँका बेरोजगार स्थानीय युवालाई रोजगारी उपलब्ध गराएका छौं,’ उनले भनिन्, ‘स्थानीय उत्पादन उपभोग गरेर गाउँलेलाई स्वरोजगार बनाइरहेका छौं।’ बुरहान परिसरमा अहिले दुईवटा ट्री हाउस र १२ वटा क्याम्प छन्। भीडभाड गराएर वन्यजन्तुलाई बिच्क्याउनुभन्दा प्रकृति र स्थानीय संस्कृतिप्रति रुचि भएका पर्यटक मात्रै बुरहान क्याम्पमा आउने गरेको उनले बताइन्। रातभरि ठूलो आवाजमा डिजे बजाउँदा क्याम्पमा आउने पाहुना र वन्यजन्तुलाई असर पर्ने गरेको उनको भनाइ छ। यहाँ आउने पाहुनालाई गाउँको बीचमा रहेको अँगना घरमा लगेर स्थानीय परिकारको स्वाद चखाउने र सांस्कृतिक कार्यक्रम देखाउने गरिएको उनले बताइन्।

उनका अनुसार सन् २०२४ मा टाइम्स म्यागजिनले प्रकाशित गरेको विश्वका एक सय गन्तव्यको सूचीमा परेपछि बुरहान क्याम्प्स चर्चित बनेको थियो। प्रकृतिमा रमाउन र प्रकृतिलाई माया गर्न रुचाउने आन्तरिक तथा बाह्य पर्यटक निरन्तर बुरहानमा आइरहेको क्याम्पका व्यवस्थापक दिनेश आचार्यले बताए।

मधुवन–१, पत्थरबोझीमै खाता करिडोरमा दुई वर्षदेखि टाइगर भिल्ला सञ्चालनमा छ। बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षबीच ओहोरदोहोर गर्ने वन्यजन्तुको जैविक मार्गअन्तर्गत निर्माण गरिएको टाइगर भिल्ला भारतीय पर्यटकको रोजाइमा परेको छ।

नेपालगन्ज–राजापुर हुलाकी मार्गबाट नजिक रहेकाले वन्यजन्तु अवलोकन गर्न आउने पर्यटक यहाँ आकर्षित भएका हुन्। ओराही र कर्णालीको भँगालो गेरुवाको बीचमा अवस्थित टाइगर भिल्ला आकर्षक देखिन्छ। करिब १४ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न टाइगर भिल्ला सञ्चालनमा ल्याइएको सञ्चालक सुनिल घिमिरेले बताए।

मधुवन–२, खैरेनीमा पाँच महिनादेखि बर्दिया नेचर लज सञ्चालनमा छ। खाता करिडोर, औराही खोला र सामुदायिक वनले घेरिएको लज शान्त वातावरणमा छ। लजलाई प्रकृतिमैत्री बनाउन पुराना थारू घर किनेर त्यसबाट निस्केका काठलगायत सामग्री प्रयोग गरिएको सञ्चालक प्राप्ती प्याकुरेलले बताइन्। ‘छेउमै रहेको थारू गाउँले पाहुनालाई आनन्दित बनाउने गरेको छ,’ उनले भनिन्, ‘प्राकृतिक सुन्दरता र स्थानीय संस्कृति समेटिएकाले यहाँको रिसोर्टले अहिले पाहुनाको मन जितिरहेको छ।’

ठाकुरबाबा–८ स्थित टाइगर टप्स लजको स्वरूप परिवर्तन गरेर आधुनिक बनाइएको छ। केही वर्षअघिसम्म माटो र काठबाट बनेका संरचना रहेका लजमा अहिले परिमार्जन गरिएको छ। स्विमिङ पुलसमेत निर्माण गरिएको छ। ठाकुरबाबा–७ मा सेन्ट्रल प्लाजा गंगल लज रहेको छ।

ठाकुरबाबा–९ मा मात्रै दुई दर्जन होटल तथा रिसोर्ट छन्। उक्त वडामा थारू होम रिसोर्ट, फरेस्ट हाइवे, रेसिडेन्स, गैंडा क्याम्प, बर्दिया भिल्ला, बर्दिया टाइगर रिसोर्ट, बर्दिया जंगल लज, बबई रिसोर्टलगायत सुविधासम्पन्न होटल सञ्चालनमा रहेको पर्यटन व्यवसायी रामजी थापाले बताए। ‘अहिले निकुञ्जसँग जोडिएको मधुवन क्षेत्र लगानीको केन्द्र बनेको छ,’ उनले भने, ‘पहिले खेर गएको जमिनमा अहिले आकर्षक रिसोर्ट बनेका छन्।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
दसैं–तिहारमा १५ हजारभन्दा बढी पर्यटकद्वारा बर्दिया निकुञ्जको भ्रमण

दसैं–तिहारमा १५ हजारभन्दा बढी पर्यटकद्वारा बर्दिया निकुञ्जको भ्रमण

बर्दिया जिल्लाको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा दसैं–तिहार अवधिमा १५ हजारभन्दा बढी पर्यटकहरूले भ्रमण गरेका छन् । दर्सैँ र तिहार अवधिमा लामो समयको विदा पर्ने भएको हुनाले पनि आन्तरिक पर...

#निकुञ्ज #बर्दिया
Compare →
Onlinekhabar
10h ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

४ मंसिर, भुरीगाउँ (बर्दिया) । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र …

#बर्दिया
Compare →
Nagarik News
1d ago
काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ, ३५ जना जापानी

काभ्रेको रिसोर्टबाट ४० विदेशी नागरिक पक्राउ, ३५ जना जापानी

काभ्रेको एक रिसोर्टबाट प्रहरीले ४० जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ३५ जना जापानी र पाँच जना चिनियाँ नागरिक रहेका छन्।

#रिसोर्ट
Compare →
Bizshala
3d ago
होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

होटलको व्यापार बढ्यो तर नाफा हरायो, नेप्सेमा सूचीकृत ८ मध्ये ६ होटल घाटामा, सोल्टी र चन्द्रागिरी मात्रै नाफामा

काठमाण्डौ । मुलुकको पर्यटन तथा होटल व्यवसायमा आर्थिक गतिविधि बढ्न थाले पनि त्यसको सकारात्मक प्रभाव अधिकांश होटलको...

#होटल
Compare →
Arthasansar
1w ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#होटल
Compare →

Related Stories

World News
Build #2612