भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेसन वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती सहर तारे होटलको केन्द्र बन्दै छ ।
भवानी भट्ट , रञ्जना बिसी , रुपा गहतराज , दीपेन्द्र बडुवाल , नवीन पौडेल , शंकर आचार्य , पर्वत पोर्तेल
महेन्द्रनगर, कैलाली, नेपालगन्ज, भैरहवा, परासी, वीरगन्ज र विराटनगर — पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्रै पाँचतारे होटल छ- पोखरा ग्रान्ड । भारतसँग सीमा जोडिएको भैरहवामा भने तीन वटा पाँचतारे होटल सञ्चालनमा छन् र थप सात निर्माण वा स्तरोन्नतिको चरणमा छन् । भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती जिल्ला–सहरहरू अहिले तारे होटलको नयाँ केन्द्र बन्दै गएका छन् ।
पूर्वको कोशीदेखि मधेश, लुम्बिनी र सुदूरपश्चिमसम्म सीमा नाका, भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन तथा व्यापारिक गतिविधिलाई लक्षित गरेर होटल क्षेत्रमा अर्बौँको निजी लगानी थपिँदै गएको छ ।
तारे होटलको विस्तारसँगै यस क्षेत्रमा भइरहेको लगानीले पनि सीमावर्ती सहरमा बदलिँदो होटल व्यवसायको तस्बिर देखाउँछ । लगानीसँगै रोजगारी र पर्यटन पूर्वाधार विस्तारको अवसर पनि सिर्जना भएको छ ।
कोशी प्रदेशभर होटल व्यवसायमा एक खर्ब हाराहारी लगानी भइसकेको छ भने झापा, मोरङ र सुनसरीमा मात्रै पौने खर्ब लगानी पुगेको व्यवसायीको भनाइ छ । मधेश प्रदेशमा पनि लगानी थपिँदै छ । लुम्बिनीको रुपन्देहीमा होटल, रिसोर्ट र रेस्टुरेन्टमा एक खर्ब हाराहारी लगानी भइसकेको छ ।
यस्तै सुदूरपश्चिममा पनि होटल व्यवसायमा २४ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र नयाँ लगानी भित्रिने क्रम जारी रहेको व्यवसायीहरूको भनाइ छ ।
होटल एसोसिएसन नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भैरहवामा केही समयअघि आयोजित कार्यक्रममा भनेका थिए, ‘पोखरामा होटलको संख्या धेरै छ । पाँचतारे होटल एउटा मात्रै छ । रुपन्देहीमा आधा दर्जन बढी पुगिसके ।’ पोखरा स्थापित गन्तव्य भए पनि बुद्ध जन्मस्थल लुम्बिनीका कारण रुपन्देही र आसपासका क्षेत्र होटल हबका रूपमा विकास भइरहेको उनको भनाइ थियो ।
रुपन्देहीमा मात्र लुम्बिनी हेरिटेज, सिद्धार्थ भिलासा, टाइगर प्यालेस बाई सोल्टी र हयात प्यालेस पाँचतारे होटल सञ्चालनमा छन् ।
भैरहवा–लुम्बिनी खण्डअन्तर्गत हयात रिजेन्सी र होलिडे इन निर्माण चरणमा छन् । लुम्बिनी प्यालेस रिसोर्टलाई स्तरोन्नति गरेर मेरियट ब्रान्डमा पाँचतारे लक्जरी वेलनेस रिसोर्ट बनाइँदै छ । भैरहवाको बुद्ध चोकमा अर्को पाँचतारे होटल निर्माणाधीन छ ।
भैरहवा मात्र होइन महेन्द्रनगरदेखि झापा–विराटनगरसम्मका सीमावर्ती जिल्ला–सहरमा पछिल्ला केही वर्षयता अर्बौँ रुपैयाँ लगानीका तारे होटल खुल्ने लहर नै चलेको छ । रुपन्देही, बाँके, कैलाली, पर्सा, मोरङ, झापा, चितवन र नवलपरासीमा पनि पाँचतारे तथा चार तारे होटलसँगै अन्तर्राष्ट्रिय होटल ब्रान्ड पनि भित्रिइरहेका छन् । व्यवसायीहरुका अनुसार क्यासिनो, डेस्टिनेसन वेडिङ, सम्मेलन, वेलनेस पर्यटन र भारतीय बजारलाई लक्षित गर्दै होटल उद्योग विस्तार भइरहेको छ ।
भैरहवा–लुम्बिनी खण्डअन्तर्गत हयात रिजेन्सी र होलिडे इन निर्माण चरणमा छन् । लुम्बिनी प्यालेस रिसोर्टलाई स्तरोन्नति गरेर मेरियट ब्रान्डमा पाँचतारे लक्जरी वेलनेस रिसोर्ट बनाइँदै छ । भैरहवाको बुद्ध चोकमा अर्को पाँचतारे होटल निर्माणाधीन छ ।
सियारीस्थित लुम्बिनी प्यालेस रिसोर्टलाई मेरियट ब्रान्डमा स्तरोन्नति गर्न मात्रै थप १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ खर्च हुँदै छ । पूर्वी नवलपरासीको त्रिवेणी क्षेत्रमा पनि पछिल्लो समय होटल तथा रेस्टुरेन्टमा एक अर्बभन्दा बढी लगानी थपिएको छ ।
उता धनगढीमा चौलानी समूहले करिब २ अर्ब २० करोड रुपैयाँ लगानीमा होलिडे इन निर्माण गरिरहेको छ ।
रुपन्देहीमा मात्र डेढ दर्जनभन्दा बढी चार तारे होटल सञ्चालनमा छन् । स्तरीय होटलको संख्या एक सयभन्दा धेरै छ । बेलहिया–बुटवल र भैरहवा–लुम्बिनी करिडोर आसपास नयाँ होटल खुलिरहेका छन् । एक दर्जन हाराहारी क्यासिनो छन् । नयाँ सञ्चालनमा आएका होटलमा क्यासिनो सञ्चालनको तयारी छ । अधिकांशले डेस्टिनेसन वेडिङ र कर्पोरेट कार्यक्रम लक्षित गरेका छन् ।
रुपन्देही, बाँके, कैलाली, पर्सा, मोरङ, झापा, चितवन र नवलपरासीमा पाँचतारे तथा चार तारे होटलसँगै अन्तर्राष्ट्रिय होटल ब्रान्ड पनि भित्रिइरहेका छन् ।
रुपन्देहीस्थित लुम्बिनी हेरिटेज होटलका सञ्चालक अनिल श्रेष्ठ तारे होटलको सञ्चालनसँगै विदेशी व्यवस्थापन कम्पनी पनि भित्रिरहेको बताउँछन् । ‘एकपछि अर्को स्तरीय होटल सञ्चालनमा आइरहेका छन्,’ उनले भने, ‘यसले सेवासँगै हस्पिटालिटीको स्तर पनि वृद्धि हुनेछ ।’
रुपन्देहीमा होटल, रिसोर्ट र रेस्टुरेन्ट व्यवसायमा एक खर्ब हाराहारी लगानी भइसकेको व्यवसायीहरूको दाबी छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु भए सँगै होटल क्षेत्रमा लगानी गर्ने क्रम बढेको उनीहरूको भनाइ छ । तर, चार वर्षअघि नै सञ्चालनमा आए पनि पर्याप्त उडान नहुँदा व्यवसायीहरू निराश बनेका छन् । विमानस्थलबाट केही सीमित चार्टड अन्तर्राष्ट्रिय उडान मात्र हुने गरेको छ । पाहुना नभएपछि धेरै लगानीकर्ताले होटल बिक्री गरेका छन् । केहीलाई बैंकको किस्ता चुकाउने चिन्ता छ ।
व्यवसायीहरूले विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई सहुलियत र प्रवर्द्धनात्मक कार्यक्रम गर्नुपर्ने माग गर्दै आएका छन् । तत्कालीन सरकारले २०८१ सालमै भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य सहित दुई वर्षसम्म वायुसेवा कम्पनीहरूलाई विभिन्न सहुलियत दिने निर्णय पनि गरेको थियो ।
तर, उक्त निर्णयपछि पनि सीमित उडान मात्र हुँदा होटल व्यवसायी निराश छन् । उक्त विषयलाई सम्बोधन गर्न भन्दै वर्तमान सरकारले हालै मात्र पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई यसअघि दिइएको सुविधाहरूलाई भदौ २०८५ सम्म निरन्तरता दिने निर्णय गरेको छ ।
६ साउनको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको थियो । नयाँ व्यवस्था अनुसार भदौ २०८५ सम्म दुवै अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिइने छ । साथै, यसअघि नेपाल वायुसेवा निगमले ग्राउन्ड हृयान्डलिङ सेवाबापत लिँदै आएको शुल्कमा २५ प्रतिशत मात्र छुट दिइएकोमा अब त्यसलाई बढाएर ५० प्रतिशत पुर्याइएको छ ।
‘धेरैजसो भारतीय मनोरञ्जनका लागि आउने गरेका छन्,’ होटल एसोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) श्रेष्ठले भने, ‘त्यसकै प्रभावस्वरुप क्यासिनोसहितका तारे होटलको सञ्चालन बढिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भएमा संख्या अझै बढ्ने देखिन्छ ।’
बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रमा पनि होटल व्यवसायमा लगानी बढ्दो छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मानसरोवर यात्रा कारण बाँके जिल्ला पछिल्लो समयमा भारतीय र आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ । व्यवसायीहरूका अनुसार यहाँ साना र ठूला ३ हजार होटल सञ्चालनमा छन् । अहिलेसम्म १२ अर्ब लगानी भइसकेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताए । नयाँ तारे होटल थपिने क्रम पनि जारी छ । पाँचतारे होटल पौवा निर्माणाधीन छ । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेले मानसरोवर, लुम्बिनी र पशुपति दर्शनका लागि भारतीय आउने गरेको बताए ।
यहाँका क्यासिनोमा भारतीय पर्यटकहरूको राम्रै भीड लाग्ने गरेको छ । व्यवसायीहरूका अनुसार क्यासिनो खेल्नका लागि भारतका बहराइच, लखनउ, कानपुर, गोन्डालगायतका सहरबाट भारतीय आउने गरेका छन् ।
होटल सोल्टी वेस्ट एन्ड प्रिमियरका सेल्स म्यानेजर प्रतीक श्रेष्ठले वैवाहिक कार्यक्रमका लागि पनि भारतीय पर्यटकहरू आउने गरेको बताए । ‘वेडिङका लागि आउँछन्,’ उनले भने, ‘कर्पोरेट र संघसंस्थाका कार्यक्रम धेरै हुन्छन् ।’ त्यस्तै चार तारे होटल डायमन्ड प्यालेस लर्ड्स प्लाजाका सेल्स म्यानेजर भोजराज शाहले नेपालगन्जका होटल र क्यासिनो भारतीय पर्यटकका लागि प्रमुख आकर्षण भएको बताए ।
उता सुदूरपश्चिममा पनि अर्बौंलगानीमा होटल निर्माण भइरहेका छन् । चौलानी क्लबले सुदूरपश्चिमको ठूलो सहर धनगढीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । आइएचजी समूहअन्तर्गतको चेन कम्पनी होलिडे इन र चौलानी लिमिटेडबीच होटल सञ्चालन सम्झौता भइसकेको छ । करिब २ अर्ब २० करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको होटल २०८४ बाट सञ्चालनमा आउने होटल व्यवस्थापनले जनाएको छ । त्यस्तै धनगढीमै चार तारे सनलाइट होटल बनिरहेको छ । सनलाइट प्रालिकै लगानीमा स्टार होटल पनि सञ्चालनको अन्तिम चरणमा छ ।
सुदूरपश्चिमकै अर्को प्रमुख सहर महेन्द्रनगरमा तीन वटा क्यासिनोसहितका तारे होटल सञ्चालनमा छन् । दुई दशकदेखि सञ्चालनमा रहेको ओपेरा यस क्षेत्रकै पुरानो तारे होटल हो । चार तारे अनुमति पाएको होटलले सीएमजी क्लबलाई क्यासिनो सञ्चालन गर्न दिएको छ । यहाँ पनि अधिकांश ग्राहक भारतीय हुन् । ‘मुख्य ग्राहक भारतीय पर्यटक हुन्,’ होटलका प्रबन्धक गणेश चटौतले भने, ‘अहिले पर्यटकीय गतिविधि कम भएकाले भएकाले सञ्चालनमा चुनौती छ ।’
पछिल्लो समय रुपम र डायमन्ड होटल थपिएका छन् । डायमन्डलाई चार तारे होटलमा स्तरोन्नति गर्न थप ५० करोडभन्दा बढी लगानी गरिएको सञ्चालक सुरेन्द्र सिंहले बताए । ‘एक वर्षभित्र पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरेका छौँ,’ सिंहले भने, ‘त्यहीअनुसार तीव्र गतिमा काम पनि भइरहेको छ ।’
कोशी प्रदेशका झापा र मोरङका सीमावर्ती क्षेत्रमा पनि तारे होटल बढिरहेका छन् । झापामा मात्र तीन वटा पाँच तारे होटल सञ्चालनमा छन् । मेचीनगर–७, निन्दा खोला आसपासमा पाँचतारे डिलक्स होटल मेची क्राउन सञ्चालनमा छ । होटलका सञ्चालक बलराम सापकोटाका अनुसार सीमावर्ती क्षेत्रमा स्तरीय होटलको अभाव रहेकाले लगानी गरिएको हो । झापाकै इँटा भट्टामा गत वर्षदेखि अर्को पाँचतारे होटल ‘अश्वत्थ’ पनि सञ्चालनमा छ । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले १ अर्ब ३० करोड लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन् । त्यस्तै बिर्तामोडमा अर्को पाँच तारे होटल ‘किङ्सबेरी’ सञ्चालनमा छ ।
र, झापामै नयाँ पाँच तारे होटल थपिने क्रम पनि जारी छ । मेचीनगरको धुलाबारीमा होटल इस्टर्न नेपाल प्रालिले करिब ९३ करोड ४० लाख रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण गरिरहेको छ । बिर्तामोडमा अर्को पाँचतारे होटल निर्माणको अन्तिम चरणमा छ ।
यता मोरङमा पनि लेमन ट्री प्रिमियमले भर्खरै विराटनगरबाट पाँचतारे स्तरको होटल सञ्चालनमा ल्याएको छ । भारतीय होटल चेन लेमन ट्रीको नेपालमा यो तेस्रो र विराटनगरको पहिलो होटल हो । विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठका अनुसार पूर्वका तारे होटलमा हालसम्म करिब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ ।
होटल व्यवसायीका अनुसार पूर्वाका सीमावर्ती होटलको मुख्य ग्राहक पनि भारतीय पर्यटक नै हुन् । पश्चिम बंगाल, बिहार, सिक्किम र पूर्वोत्तर भारतका विभिन्न सहरबाट पर्यटक क्यासिनो, आवास र मनोरञ्जनका लागि आउने गरेका छन् । पछिल्लो समय बंगलादेशी पर्यटकसमेत आउने गरेको व्यवसायीको भनाइ छ । नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरिजम एजेन्ट्स (नाटा) कोशी प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठका अनुसार सीमावर्ती क्षेत्रमा तारे होटल थपिनुले भारतीय पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुगेको छ । ‘स्तरीय होटल उपलब्ध भएपछि पर्यटक एक दिन आएर फर्किनेभन्दा केही दिन बस्ने प्रवृत्ति बढेको छ,’ उनले भने ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका, सिमरामा रहेको होटल इच्छा पनि चारबाट पाँचतारेमा स्तरोन्नति भएको छ । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे होटल हो । सिमरा विमानस्थलबाट दुई किलोमिटर दुरीमा रहेका होटल इच्छाका सञ्चालक इच्छाबहादुर वाग्ले हुन् । उनले १२० करोडभन्दा बढी लगानी गरेर मिनी क्यासिनोसहित चार तारेस्तरको होटल इच्छा सञ्चालनमा ल्याएका थिए । त्यतिबेला होटलमा ६० वटा कोठाहरू थिए । अहिले थप ५५ करोड लगानी गरेर कोठाहरूको संख्या १०० पुर्याइएको छ । आन्तरिकसँगै भारतको मुजफ्फरपुर, दरभंगा, मधुवनी, पटना लगायत भारतका विभिन्न सहरका पर्यटकहरूलाई लक्षित गरिएको छ । क्यासिनोमा काम गर्नेसहित २ सय जनाले रोजगार पाएका छन् ।
यस्तै मुलुककै प्रमुख औद्योगिक–व्यापारिक केन्द्र वीरगन्जमा अझै पनि पाँचतारे होटल खुलेको छैन । वीरगन्जमा क्लार्क रिसोर्ट, सिद्धार्थ दियालो र सरोवर गरी तीन वटा चार तारे होटल सञ्चालनमा छन् । वीरगन्जकै पुरानो होटल भिष्वा भने अझै तीनतारे स्तरमै सञ्चालनमा छ । त्यसबाहेक होटल मकालु, पुजन र सुरजलगायतका पुराना होटलले पनि सेवा विस्तार गर्दै लगेका छन् ।
होटल भिष्वाका प्रबन्धक प्रशान्त सिंहका अनुसार वीरगन्जको होटल व्यवसाय मुख्यतः आन्तरिक पर्यटक निर्भर छ । भारतीय पर्यटकको संख्या अपेक्षाकृत कम भए पनि पछिल्लो समय वैवाहिक कार्यक्रमका लागि भारतीयहरूले वीरगन्जका होटल रोज्ने क्रम बढेको छ । त्यसले व्यवसायलाई उल्लेख्य टेवा पुगेको उनले भने ।
यहाँका क्यासिनोका मुख्य ग्राहक भने भारतीय नै हुन् । वीरगन्जमा क्लार्क रिसोर्ट, सिद्धार्थ दियालो, सरोवर, भिष्वा र होटल सुरजमा गरी पाँच वटा क्यासिनो सञ्चालनमा छन् । यी क्यासिनोका अधिकांश ग्राहक भारतीय नागरिक हुने गरेको होटल सरोवरस्थित महाजोंग क्यासिनोका प्रबन्धक सिताराम बानियाँ बताउँछन् ।
सबैभन्दा व्यस्त व्यापारिक नाका, उद्योग–व्यवसायको केन्द्र भए पनि पाँचतारे होटल नहुँदा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन, उच्चस्तरीय व्यावसायिक कार्यक्रम तथा विशिष्ट पाहुनाको आतिथ्यमा वीरगन्जले अवसर गुमाइरहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम बताउँछन् । ‘लगानीमैत्री वातावरण र पर्याप्त पूर्वाधार विकास गर्न सके वीरगन्जमा पाँचतारे होटल सञ्चालनको सम्भावना अझै बलियो छ’ उनले भने ।
सीमावर्ती सहरमा ठूलो लगानीमा तारे होटल खुल्ने क्रमसँगै ठूलो संख्यामा रोजगारीको अवसर पनि सिर्जना भएको छ । सीमावर्ती जिल्ला रुपन्देहीमा मात्र पाँच र चार तारे गरेर दुई दर्जन ठूला होटल छन् । सञ्चालनमा रहेका चार तारे स्तरको होटलमा कम्तीमा पनि २० देखि ५० करोड रुपैयाँ लगानी छ । त्यस्तै पाँचतारे होटलमा प्रत्येक कम्तीमा २ देखि ५ अर्ब रुपैयाँ लगानी गरिएको छ । सियारीस्थित लुम्बिनी प्यालेस रिसोर्टलाई थप १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ खर्च गरेर मेरियट ब्रान्डमा स्तरोन्नति थालिएको छ ।
होटल एसोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष श्रेष्ठका अनुसार भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल, सियारी, सैनामैना र देवदहमा गरेर स्तरीय होटल र रिसोर्टमा एक खर्ब हाराहारी लगानी भइसकेको छ । यी होटल र रिसोर्टमा ५ हजार हाराहारीले प्रत्यक्ष रोजगारी पाएको श्रेष्ठले बताए । एउटा स्तरीय होटलमा ५० देखि ६० जनाले रोजगारी पाएका छन् । मिनी क्यासिनोसहितका चार तारे होटलमा ३/४ सय कर्मचारी छन् । ठूलो क्यासिनो रहेको टाइगर प्यालेस बाई सोल्टीमा मात्र एक हजार हाराहारी कर्मचारी छन् ।
होटल व्यवसायी संघका अनुसार सुदूरपश्चिममा मात्र साना–ठूला गरी ८ हजार होटल छन् । तिनमा २४ अर्बभन्दा बढी लगानी छ र ५० हजारभन्दा बढीले रोजगारी पाएका छन् । संघका अनुसार सीमावर्ती जिल्ला कैलालीमा मात्रै २ हजार ५ सय होटल छन् । होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेयका अनुसार धनगढी र महेन्द्रनगरमा मात्र आधा दर्जन पाँचतारे स्तरका होटल निर्माण तथा स्तरोन्नति प्रक्रियामा छन् ।
अपी भिलेज, चौलानी समूह, होटल सनलाइट, महेन्द्रनगरको चेतन होटल र टेम्पल रिसोर्टले स्टार होटलको मापदण्डअनुसार पूर्वाधार विस्तार गरिरहेका छन् । ‘ठूला होटल आउनु भनेको अन्तर्राष्ट्रिय बजारमा यस क्षेत्रको प्रचार हुनु हो । अन्तर्राष्ट्रिय चेनसँग आबद्ध होटलले आफ्नै ग्राहक ल्याउने भएकाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ,’ पाण्डेयले भने ।
त्यस्तै विराटनगरका पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठका अनुसार कोशी प्रदेशभरि होटल व्यवसायमा एक खर्ब हाराहारी लगानी भएको छ । आधा दर्जन नयाँ पाँचतारे होटल सञ्चालनको क्रममा छन् । झापा, मोरङ र सुनसरीमा मात्रै पौने खर्बको लगानी भइसकेको व्यवसायीहरूको भनाइ छ । यी होटलमा करिब ३० हजारले प्रत्यक्ष र एक लाखले अप्रत्यक्ष रोजगारी पाएको अनुमान छ ।
भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।
रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।
नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।