साउनदेखि कात्तिकसम्म ४५ हजार ३६८ नेपालीसहित ८४ हजार ५४ पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका छन्।
चितवन — भोटेकोशी, असोज र बुढीगण्डकीमा लगातार आएका ठूला बाढीपहिरोजस्ता विपद्का बीच पनि चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या घटेको छैन।
चालु आर्थिक वर्षको चार महिनामा चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या ८४ हजार नाघेको छ। वर्षमा सबैभन्दा बढी पर्यटक आउने महिना कात्तिकमा मात्रै करिब ५० हजार पर्यटक निकुञ्ज पुगेका छन्।
गत तीन आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा निकुञ्ज घुम्ने पर्यटकको संख्या सन्तोषजनक रूपमा बढेको तथ्यांक छ। स्वदेशी पर्यटकको आगमन अत्यधिक हुँदा विदेशी पर्यटकको संख्यामा भने सामान्य सुधार मात्रै देखिएको छ। सार्क देशका पर्यटकको संख्या न्यून छ। विदेशी पर्यटकको आगमनमा उल्लेख्य सुधार हुने अपेक्षा गरिए पनि भोटेकोशी बाढीपछि धेरैले बुकिङ रद्द गरेको होटल व्यवसायी बताउँछन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार साउनदेखि कात्तिकसम्म स्वदेशी ४५ हजार ३६८, विदेशी ३४ हजार ८९९ र सार्क देश (प्रायः भारत) का ३ हजार ७८७ गरी कुल ८४ हजार ५४ जनाले निकुञ्ज घुमेका छन्। वन्यजन्तु अवलोकनमा रुचि राख्ने पर्यटकका लागि नेपालमा चितवन राष्ट्रिय निकुञ्ज पहिलो गन्तव्य हुने गरेको छ।
नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवनमा विश्वका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटेबाघलगायत जीवजन्तु पाइन्छन्। गत आर्थिक वर्ष ०८२/८३ को पहिलो चार महिनामा ६७ हजार ८४२ र त्यसअघिको आर्थिक वर्ष ०८१/८२ को साउनदेखि कात्तिकसम्म ६३ हजार २८ पर्यटक निकुञ्ज घुम्न आएका थिए। तीन आर्थिक वर्षको तुलनामा चालु वर्षको पहिलो चार महिनामा सबैभन्दा धेरै पर्यटक आएका हुन्।
हरेक वर्ष कात्तिकमा चितवन निकुञ्ज घुम्न आउने पर्यटकको संख्या सबैभन्दा धेरै हुन्छ। दसैं, तिहारजस्ता पर्व र लामो बिदाका कारण यस महिनामा पर्यटकको चहलपहल बढ्छ। त्यसमाथि मुख्य पर्यटकीय यामको सुरुवात पनि कात्तिकबाटै हुने भएकाले यो महिना निकुञ्ज घुम्नेको संख्या बढी हुन्छ। यसपालि कात्तिकमा कुल ४९ हजार ५२८ पर्यटकले निकुञ्ज घुमेका छन्। तीमध्ये सबैभन्दा धेरै ३२ हजार ५५४ नेपाली छन्।
कात्तिकमा निकुञ्ज घुम्ने विदेशी १५ हजार १०४ र सार्क देशका पर्यटक १ हजार ८७० मात्रै रहेको निकुञ्ज कार्यालयको तथ्यांक छ। ‘विदेशी पर्यटकको संख्या यस पटक अझै राम्रो हुने आशा थियो। भदौमा आएको विनाशकारी भोटेकोशी बाढीपछि धेरै विदेशी पर्यटकले अग्रिम बुकिङ रद्द गरे,’ क्षेत्रीय होटल संघ (हान) सौराहाका महासचिव महेश खनालले भने।
भोटेकोशी बाढीपछि असोज १० र ११ गतेको लगातारको वर्षा र बाढीका कारण बुकिङ भएकामध्ये आधाभन्दा धेरै रद्द भएको उनले बताए। ‘बुढीगण्डकीमा अचानक आएको बाढी र त्यसपछि पनि मौसम प्रतिकूल हुने सूचनाले पर्यटन क्षेत्र प्रभावित भयो। तैपनि कात्तिक महिनामा घुम्नेहरू धेरै नै आएका छन्,’ खनालले भने।
निकुञ्ज घुम्न आउनेमा पहिला स्वदेशी पर्यटकको संख्या निकै न्यून हुने गर्थ्यो। २०७२ वैशाखको भूकम्पपछि विदेशी पर्यटक घट्दै गएसँगै स्वदेशी पर्यटकको आगमन बढ्न थालेको पर्यटन व्यवसायीको अनुभव छ। गत वर्षको कात्तिकमा ११ हजार ८०९ विदेशी पर्यटक चितवन निकुञ्ज आएका थिए। त्यसको तुलनामा यस वर्षको कात्तिकमा विदेशी पर्यटकको संख्या बढेको देखिन्छ। तर २०८१ कात्तिकमा १४ हजार ३५६ विदेशीले निकुञ्ज घुमेका थिए।
‘बुकिङ रद्द गरेकामध्ये केही, चार–पाँच प्रतिशतले फेरि बुकिङ गरेका पनि थिए। त्यसैले तुलनात्मक रूपमा विदेशी पर्यटकको संख्यामा केही सुधार देखियो। सार्क देश, खासगरी भारतबाट आउने पर्यटकको संख्या भने अझै पनि न्यून नै देखिन्छ। यसलाई पनि बढाउन आवश्यक छ,’ हान महासचिव खनालले भने।
मनसुन याम लम्बिँदा पर्यटन क्षेत्र प्रभावित हुँदै गएकोतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए। असार, साउन र भदौसम्म बर्खा हुन्छ भनेर पर्यटकीय गतिविधि बन्द हुन्छन्। असोज–कात्तिक लागेपछि निकुञ्ज खुल्छ र चहलपहल बढ्छ। तर तीन वर्षयता लगातार असोज र कात्तिकमा ठूलो पानी पर्ने, बाढी आउने, पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ।
‘गएको वर्ष चैतपछि पर्यटक राम्रो संख्यामा आए। वैशाख र जेठमा पनि निकुञ्ज घुम्न आउनेहरू धेरै नै थिए। पहिला यस्तो हुँदैनथ्यो। शनिबार र आइतबार बिदा भएका कारण स्वदेशी आए। त्यही बेला भारतीयहरू पनि आए,’ महासचिव खनालले भने।
भारतमा नेपालको प्रचार गर्न सरकारी निकाय, होटल तथा पर्यटन व्यवसायी र टुर तथा ट्राभल एजेन्सीहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने उनले बताए। गर्मी मौसममा पनि पर्यटक घुम्न आएको देख्दा नयाँ सम्भावना उजागर भएको उनको भनाइ छ। वैशाख–जेठमा भारतमा अत्यधिक गर्मी भए पनि नेपालमा त्यहाँको जस्तो गर्मी नहुने भएकाले भारतीय पर्यटकलाई घुम्न प्रेरित गर्न सकिने उनले बताए।
पर्साको ठोरीमा रहेको छोटी भन्सार कार्यालयबाट यात्रुवाहक सवारीसाधनलाई अस्थायी अनुमति पत्र दिने व्यवस्था गरेर सञ्चालनमा ल्याए चितवन आउने भारतीय पर्यटक बढ्ने उनको विश्वास छ।
विदेशी पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरै चिनियाँ रहेको व्यवसायीको भनाइ छ। युरोपेली मुलुक र अमेरिकामा पनि प्रवर्द्धनात्मक कार्यक्रम गर्न आवश्यक रहेको महासचिव खनालले जोड दिए। चितवन निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा क्षेत्र पुग्छन्। त्यहाँ स्वदेशी पर्यटकको घुइँचो नै लाग्छ। निकुञ्जको पश्चिम क्षेत्रमा भने अवस्था फरक छ। पटिहानी, जगतपुर र मेघौलीमा विदेशी पर्यटक धेरै हुन्छन्।
‘चितवन निकुञ्जको पश्चिम भेग वन्यजन्तु धेरै भएको ठाउँ हो। यहाँको वातावरण एकदम शान्त छ। जंगलको आडमा ग्रामीण परिवेशमा होटलहरू छन्। राम्रा र सुपर लक्जरी होटल तथा रिसोर्ट छन्। त्यसैले विदेशी पर्यटकको रोजाइमा पर्दछन्,’ पटिहानीका बासिन्दा तथा भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले भने। भरतपुर महानगरले पनि पश्चिम क्षेत्रलाई प्रवर्द्धन गरिरहेको उनले बताए।
कसरा पर्यटन व्यवसायी समितिका सचिवसमेत रहेका पटिहानीस्थित सोल्टी वेस्टेन्ड रिसोर्टका महाप्रबन्धक चोपलाल पाण्डेका अनुसार उनको रिसोर्टमा आउने पर्यटकमध्ये ६० प्रतिशत युरोप र अमेरिकाका छन्। बाँकी ४० प्रतिशत नेपालीसहित एसियाली मुलुकका पर्यटक छन्। ‘नोभेम्बर दोस्रो हप्तादेखि हाम्रो होटलमा राम्रो संख्यामा पर्यटक आएका छन्। हामी उत्साहित छौं,’ पाण्डेले भने।
क्याप्सन : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा रहेको देवीतालनजिक मचान उक्लँदै विदेशी पर्यटक। निकुञ्जभित्र जीप सफारी गर्दै देवीताल पुगेका पर्यटकले मचानबाट गैंडा, चरालगायत वन्यजन्तु अवलोकन गर्छन्। तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।