सात वर्ष अध्यापनपछि निजामती सेवामा प्रवेश गरेका आठराईत्रिबेणीमा जन्मेका पोषण निरौलाले गाउँको विद्यालयमा आमाको नाममा अक्षयकोष बनाएका हुन् ।
ताप्लेजुङ — आठराईत्रिबेणी गाउँपालिका-२ फूलबारीमा जन्मेर भक्तपुर नगरपालिका-३ मध्यपुर ठिमी बसोबास गर्दै आएका पोषण निरौलाले आफूले पढाएको विद्यालयमा आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।
पूर्वशिक्षक निराैलाले २ लाख ५० हजार रुपैयाँ राशीको हरिमाया निरौला स्मृति कोष स्थापना गरेको विद्यालयले जनाएको छ । उनले २०३७ देखि २०४२ सालसम्म बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए ।
७ वर्षको अध्यापनपछि निरौला निजामति सेवामा प्रवेश गरे । शैक्षिक तालिम केन्द्रलगायतका निकायमा काम गरेका उनले आफ्नी स्वर्गीय आमालाई चिरस्थायी बनाउन आफूले पहिलो सेवा गरेको विद्यालयलाई सम्झिएको बताएका छन् । प्रधानाध्यापक युवराज बस्नेतका अनुसार उक्त रकमको ब्याजबाट हरेकवर्ष उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति दिइने छ । ‘उहाँको चाहना पनि त्यही हो र हाम्रो उद्देश्य पनि बालबालिकाको शिक्षामा योगदान पुगोस् भन्ने हो,’ बस्नेतले भने, ‘पहिला निवृत्त भएका व्यक्तिहरूले विद्यालयलाई सम्झिरहनु भएको छ ।’
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।