२ मंसिर, काठमाडौं । उदाउँदा तथा अवसरबाट वञ्चित मुलुकका सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले ग्लोबल क्रिएटिभ फाउन्डेसन (जीसीएफ) स्थापना गरिएको छ। फाउन्डेसनले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय अभियान सुरु गरेको हो।
भौगोलिक अवस्था, आर्थिक परिस्थिति र अवसरको अभावका कारण सिर्जनशील प्रतिभा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्नबाट वञ्चित हुन नहुने मान्यताका साथ फाउन्डेसन स्थापना गरिएको जनाइएको छ। यसले नयाँ प्रतिभालाई मार्गदर्शन, व्यावसायिक सञ्जाल विस्तार र अन्तर्राष्ट्रिय अवसर प्राप्त गर्न सहयोग गर्नेछ।
फाउन्डेसनका संस्थापक मोहम्मद अक्रम हुसेन ढाकास्थित पीओपी ५ का प्रमुख सिर्जनात्मक अधिकृत हुन्। उनले कान्स लायन्स, डी एन्ड एडी, वान शो, स्पाइक्स एसिया र ग्लोबल एफी अवार्डसहित २७० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।
फाउन्डेसनको सल्लाहकार समितिमा ३८ देशका ४८ जना सिर्जनशील अगुवा आबद्ध छन्। उनीहरूले नयाँ प्रतिभालाई परामर्श दिने, कार्यक्रमको मापदण्ड निर्धारण गर्ने तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने काम गर्नेछन्।
फाउन्डेसनको संस्थापक सल्लाहकार समितिमा नेपालको प्रतिनिधित्व आउटरीच नेपालका संस्थापक तथा ‘ब्रान्डसूत्र’ र ‘ब्रान्डसूत्र २.०’ का लेखक उज्ज्वल शाक्यले गरेका छन्। विज्ञापन तथा ब्रान्ड निर्माण क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका शाक्यले नेपाली सिर्जनशील प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसँग जोड्न र नयाँ प्रतिभालाई मार्गदर्शन गर्न योगदान गर्नेछन्।