बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।
काठमाडौँ — बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि बंगलादेशलाई अस्थिर बनाउने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।
भारतको सिमासँग जोडिएको उत्तरपश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार एक जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरुले शान्ति फैलाउनका लागि आगजनी र हत्याको सहारा लिएको आरोप लगाए ।
हसिनाको पार्टीका तर्फबाट देशभरमा एक दिन बन्द आह्वान गरिएपछि केही क्षेत्रमा हिंसा भएको छ । बंगलादेशका सञ्चारमाध्यमहरुका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिग र उसका सहयोगी संगठनका नेता तथा बीएनपीका कार्यकर्ताबीच भएको हिंसात्मक झडपमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।
स्थानीय मिडियाका खबरअनुसार बंगादेशका पूर्व मुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको पैतृक घरमा आगो लगाइएको छ । बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।
न्यू एच अखबारका अनुसार बिहीबारसम्म देशका १८ जिल्लामा हिंसा फैलिएको छ । मंगलबार रातिदेखि नै देशका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र विस्फोट भइरहेको छ । जसमा बस, प्रहरी चौकी, बीएनपीका नेता कार्यकर्ताको घर र पार्टी कार्यालय तथा बैंकहरुका शाखाहरुमा आक्रमण भइरहेको छ ।