काठमाण्डौ । वर्षायाममा भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको नेपाल अब हिउँद सुरु भएसँगै पुनः विद्युत् आयात गर्नुपर्ने अवस्थामा पुग्ने भएको छ। सम्झौताअनुसारको समयावधि सकिएपछि नेपालले बंगलादेशतर्फ गर्दै आएको ४० मेगावाट विद्युत् निर्यात बन्द गरेको छ भने आगामी एक सातादेखि १० दिनभित्र भारतबाटै विद्युत् आयात गर्नुपर्ने सम्भावना देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार सुक्खायाम सुरु भएसँगै जलविद्युत् उत्पादन घट्ने र आन्तरिक माग बढ्ने भएकाले नेपाल अब विद्युत् निर्यात गर्ने अवस्थाबाट आयात गर्नुपर्ने चरणमा प्रवेश गर्दैछ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको पाँचवर्षे सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत् निर्यात गर्ने व्यवस्था छ।
सोहीअनुसार यस वर्षको निर्यात अवधि आइतबार समाप्त भएको हो। अब बंगलादेशतर्फको विद्युत् निर्यात आगामी वर्षको निर्धारित अवधिमा मात्रै पुनः सुरु हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले चाडपर्वको बिदा सकिएसँगै उद्योगधन्दा र अन्य व्यावसायिक गतिविधि बढ्ने भएकाले विद्युत् माग उल्लेख्य रूपमा बढ्ने बताएका छन्।
उनका अनुसार चाडपर्वको अवधिमा मुलुकको विद्युत् माग करिब एक हजार ८०० देखि एक हजार ९०० मेगावाटको हाराहारीमा सीमित थियो।
तर उद्योग तथा कलकारखाना पूर्ण क्षमतामा सञ्चालन हुन थालेपछि विद्युत् माग दुई हजार ४०० देखि दुई हजार ५०० मेगावाटसम्म पुग्न सक्ने प्राधिकरणको अनुमान छ।
अहिले विद्युत् उपलब्धता करिब दुई हजार ६०० देखि दुई हजार ७०० मेगावाट रहेको श्रेष्ठले जानकारी दिए।
तर सुक्खायाम बढ्दै जाँदा नदीहरूमा पानीको बहाव घट्ने भएकाले विद्युत् उत्पादनसमेत क्रमशः घट्नेछ।
यही कारण आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अबको एक सातादेखि १० दिनभित्र नेपालले भारतबाट बिजुली आयात गर्नुपर्ने सम्भावना छ।
उनले चाडपर्व सकिएपछि विद्युत् प्रणालीमा लोड बढ्ने र उपलब्ध उत्पादनले माग धान्न कठिन हुन सक्ने बताएका छन्।
नेपालमा अधिकांश जलविद्युत् आयोजना नदीको बहावमा आधारित भएकाले वर्षायाममा उत्पादन बढ्ने र हिउँदमा घट्ने समस्या छ।
यसै कारण वर्षाको समयमा अतिरिक्त बिजुली भारत र बंगलादेशतर्फ निर्यात गर्ने नेपालले सुक्खायाममा भने आन्तरिक माग पूरा गर्न भारतबाटै बिजुली आयात गर्दै आएको छ।
यस वर्ष पनि यही अवस्था दोहोरिन लागेको हो।
यस वर्ष बंगलादेशतर्फ विद्युत् निर्यात प्राकृतिक विपत्तिका कारण प्रभावित भएको थियो।
गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात रोकिएको थियो।
बंगलादेशमा विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्र प्रभावित भएपछि नेपालले सम्झौताअनुसार निरन्तर बिजुली पठाउन सकेको थिएन।
त्यसपछि नेपाल विद्युत् प्राधिकरणले अन्य आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति प्राप्त गरेको थियो।
सोही स्वीकृतिपछि कात्तिक ६ गते साँझदेखि बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गरिएको थियो।
तर निर्यात पुनः सञ्चालन भएको करिब २५ दिनमै सम्झौताको वार्षिक अवधि समाप्त भएको छ।
यसले प्राकृतिक विपत्तिका कारण नेपालले यस वर्ष बंगलादेशमा विद्युत् निर्यात गर्ने अवसर पूर्ण रूपमा उपयोग गर्न नसकेको देखाएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।