पछिल्ला १० दिनको विरोध प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँपटक घरेलु बम विस्फोट
ढाका — बंगलादेशमा अवामी लिगका कार्यकर्ताहरुले गरेको विरोध प्रदर्शनमा हिंसा भड्किदाँ दुई जना सत्तापक्षीय कार्यकर्ताको मृत्यु भएको छ ।
त्यस्तै, पूर्व नेता मुहम्मद युनुसको पुर्ख्यौली घरमा आगजनी भएको प्रहरीले जनाएको छ । युनुस बंगलादेशको अन्तरिम सरकारमा प्रमुख थिए । सत्तारुढ बंगलादेश नेशनल पार्टीका सांसद् एसएन जिलानीसहित सत्तापक्षीय नेताहरु आन्दोलनकारीको निशानामा परेका छन् ।
अवामी लिगका कार्यकर्ताहरुले गरेको आन्दोलनका दौरान देशका विभिन्न भाग ठप्प बनेका छन् ।
नयाँ राहदानी र परिचयपत्रका लागि हसिनाले गरेको अनुरोध सरकारले अस्वीकार गरेपछि सुरु भएको साताव्यापी विरोध प्रदर्शन र र्यालीको उत्कर्षस्वरूप अवामी लिग पार्टीले बिहीबार देशव्यापी बन्द आह्वान गरेको हो ।
उनीहरुले हसिनाको स्वदेश फिर्ती फिर्ती सहज बनाउन सरकारसँग माग गरेका छन् । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेकी छिन् ।
हिंसा रोक्नका लागि हसिनाका समर्थक बाहुल्य मानिएका गोपालगन्ज र फरिदपुर लगायत सात जिल्लामा ‘बङ्गलादेश बोर्डर गार्ड’ का ९७ प्लाटुन परिचालन गरिएको गार्डका प्रवक्ता सरिफुल इस्लामले बताए ।
राजधानी ढाकाबाट करिब ३०० किलोमिटर (१८६ माइल) दक्षिणपूर्वमा रहेको चटगाउँस्थित पूर्व अन्तरिम नेता युनुसको पुर्ख्यौली घरमा बुधबार राति अबेर आगजनी गरिएको प्रहरीले जनाएको छ ।
प्रयोगमा नरहेको भुइँतलाको कोठामा प्रज्वलनशील पदार्थ फालिएको हुन सक्ने स्थानीय पाँचलाइश प्रहरी चौकीका प्रमुख मोजाम्मेल हकले रोयटर्सलाई बताए । तर माथिल्ला तलामा बस्ने युनुसका पितापट्टिका परिवारका सदस्यहरू भने सुरक्षित छन् ।
पछिल्ला १० दिनको विरोध प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँपटक घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनीका घटना भएको प्रहरीले जनाएको छ । सञ्चारमाध्यमका अनुसार कैयौँ प्रहरी अधिकारी र सर्वसाधारण घाइते भएका छन् ।
सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनमा घातक दमन गर्न आदेश दिएको भन्दै विशेष अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको मंगलबार एक वर्ष पूरा भएको छ ।
सन् २०२४ को अगस्टमा राजीनामाको माग गर्दै चर्किएको हिंसात्मक प्रदर्शनपछि ढाकाबाट भागेर उनी छिमेकी भारतमा निर्वासनमा बस्दै आएकी छिन् ।
सन् २०२४ को प्रदर्शनका क्रममा भएका कैयौँ हत्याको आरोप खेपिरहेका पूर्व शिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई बिहीबार ढाकास्थित निवासबाट पक्राउ गरिएको प्रहरी अधिकारी मोहम्मद खालिद मन्सुरले रोयटर्सलाई बताए ।
युनुसद्वारा स्थापित ग्रामीण बैंकका कम्तीमा ३७ वटा शाखा तथा कार्यालयमा नोभेम्बर १० यता आगजनी वा आगजनीको प्रयास भएको र मङ्गलबार मध्यरातयता थप १४ वटामा आक्रमण भएको बैंकले जनाएको छ ।