Trending
Prev Story
Next Story

चुनावी रणनीतिसँग जोडेर आन्दोलनको ‘मुड’ मा एमाले

Ekantipur •
November 19, 2026 • 01:32 AM
7
7 reads 0 reactions

स्थानीय तहका उम्मेदवार छनोटदेखि प्रचारप्रसार र निर्वाचन परिचालनसम्मका योजना समेटेर १५ बुँदे कार्ययोजना अघि सारेको एमालेले निर्वाचन जित्न आन्दोलनकै शैलीमा तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

चुनावी रणनीतिसँग जोडेर आन्दोलनको ‘मुड’ मा एमाले

स्थानीय तहका उम्मेदवार छनोटदेखि प्रचारप्रसार र निर्वाचन परिचालनसम्मका योजना समेटेर १५ बुँदे कार्ययोजना अघि सारेको एमालेले निर्वाचन जित्न आन्दोलनकै शैलीमा तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

काठमाडौँ — २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएको एमालेले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरी संगठन सुदृढीकरण र चुनावी अभियान अघि बढाउने भएको छ । स्थानीय तहका उम्मेदवार छनोटदेखि प्रचारप्रसार र निर्वाचन परिचालनसम्मका योजना समेटेर १५ बुँदे कार्ययोजना अघि सारेको एमालेले निर्वाचन जित्न आन्दोलनकै शैलीमा तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिएको छ ।

मंगलबार सुरु राष्ट्रिय भेलामा अध्यक्ष केपी शर्मा ओलीले सहभागी नेता–कार्यकर्तालाई स्थानीय निर्वाचन जित्ने प्रतिबद्धतासहित परिचालित हुन र सरकारविरुद्ध आन्दोलनको तयारीमा समेत रहन निर्देशन दिएका छन् । निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला एमालेले निर्वाचनको तयारीलाई आन्दोलनकै रूपमा अघि बढाउन खोजेको हो । करिब ३ हजार ४ सय नेता तथा कार्यकर्ताको भेलामा अध्यक्ष ओलीले भने, ‘आसन्न स्थानीय निर्वाचन जित्नैपर्ने भएकाले आन्दोलनकै रूपमा तयारी अघि बढाउनुस् ।’

एमालेले निर्वाचन केन्द्रित संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने भएको छ । रास्वपा नेतृत्वको एकल सरकारलाई खबरदारी गर्दै निर्वाचनमा होमिन अध्यक्ष ओलीले नेता तथा कार्यकर्तालाई भनेका छन् । पार्टी पुनर्गठनसम्बन्धी अन्तरसंघर्षलाई थाती राखेर आसन्न निर्वाचनमा होमिने निर्णय असोज पहिलो साता नै एमाले केन्द्रीय कमिटीले गरिसकेको छ ।

‘अब लगातार स्थानीय र प्रदेश निर्वाचन हुँदै छन्, हामीले तत्कालीन स्थानीय निर्वाचन जित्नुपर्नेछ, हामी सशक्त संगठन लिएर चुनावमा जाँदै छौं,’ अध्यक्ष ओलीले भने, ‘अब आरामको जिन्दगी होइन, स्थानीय निकायको निर्वाचनमा भव्य सफलता प्राप्त गर्ने अठोट र प्रतिबद्धताका साथ लाग्नुपर्नेछ, पार्टीको आन्तरिक एकताको सन्देशका रूपमा जानुपर्नेछ ।’

अध्यक्ष ओलीसहित भेलालाई सम्बोधन गर्ने सबैजसो एमाले नेताहरूले सरकारको चर्को आलोचना गरे । ओलीले अघिल्लो प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको भन्दै फागुनमा भएको निर्वाचनमा घेराबन्दीका कारण ठूलो पराजय भोग्नुपरेको तर्क गरे । वर्तमान सरकारले कुनै पनि बेला एमालेलगायत दलसँग प्रतिशोध लिन सक्ने भन्दै उनले आन्दोलनको तयारीमा लाग्न आग्रह गरे ।

‘अब तपाईंहरू आन्दोलनको तयारीमा बस्नूस्, सरकारले कसैमाथि पनि प्रतिशोध लिन सक्छ, कसैलाई पनि गिरफ्तार र हमला गर्न सक्छ,’ उनले भने, ‘किनभने यो सरकारले के गर्छ भन्ने कुराको टुंगोठेगान छैन । थितिविधिमा बस्ने, नीति मान्ने, संविधान मान्ने, कानुन मान्ने र मर्यादाभित्र बस्ने सरकार होइन यो । त्यसकारण हामीले सबै कुरा हेरेर बसेका छौं ।’

ओलीले सरकार स्वेच्छाचारी र निरंकुश बाटोमा अघि बढेको आरोप लगाउँदै संविधान रक्षाका पक्षमा सबै राजनीतिक दल लाग्नुपर्ने बताए । ‘जनता उठ्नुपर्ने अवस्था आएको छ, जुन–जुन शक्तिहरू राष्ट्रियताको पक्षमा छन्, राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको पक्षमा छन्, उनीहरू उठ्नुपर्ने भएको छ,’ उनले थपे, ‘संविधान मिच्ने काम भएको छ, नेपाली जनताले बनाएको पहिलो जननिर्वाचित संविधानसभाबाट बनाएको पहिलो संविधान हो यो ।’

ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिरोधमा उत्रिन निर्देशन दिए । उनले आफू, नेकपा संयोजक पुष्पकमल दाहाल र कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई थुनेर देखाउन चुनौती दिएका छन् । ‘आईजीले भनेको सुन्छु, म केपी ओलीलाई थुन्दिन्छु, प्रचण्डलाई थुन्दिन्छु । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ?’ प्रहरी महानिरीक्षकको नाम नलिई उनले भने, ‘निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं, ६ महिना जागिर खाने एउटा सिपाहीले हामीमाथि मजाक गर्ने ?’

पार्टीभित्र फरक मत राख्ने महासचिव शंकर पोखरेललगायत नेताहरूतर्फ संकेत गर्दै ओलीले कटाक्ष गरे, ‘केपी ओलीबिनाको एमाले भनियो । गयो, गयो, सिद्धियो भनियो । त्यो केही हुनेवाला छैन, नेकपा एमाले छलफल गर्छ, फेरि एकताबद्ध भएर पार्टी अगाडि बढ्छ ।’ एमालेले निर्वाचनका लागि पार्टी जागरण र सुदृढीकरणको उद्देश्यसहित दुई कार्यभार र पन्ध्र कामको योजना अघि सारेको छ । आमनिर्वाचनपछि तल्ला कमिटीहरूबाट प्राप्त सुझावका आधारमा पुनर्गठन कार्यदलले तयार गरेको प्रतिवेदनको जगमा स्थानीय निर्वाचनको तयारीसम्बन्धी कार्ययोजना बनाइएको हो । महासचिव पोखरेलले स्थानीय निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रतिवेदन भेलामा प्रस्तुत गरेका थिए ।

‘पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा प्रस्तुत गर्दै पार्टीका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित सिंगो पार्टीपंक्ति स्थानीय निर्वाचनको तयारीमा केन्द्रित हुनु आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘पार्टीले यसअघि नै निर्वाचनको तयारीलाई समेत दृष्टिगत गरी हरेक पालिका तहमा पार्टी जागरण अभियानको संयोजन गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाएको छ । आधारभूत तहका कमिटीको सुदृढीकरण, स्थानीय राजनीतिक अवस्थाको विश्लेषण, जनसम्पर्क विस्तार, सक्षम उम्मेदवार छनोट, प्रभावकारी प्रचार तथा निर्वाचन परिचालनलाई योजनाबद्ध रूपमा सञ्चालन गर्नु आवश्यक छ ।’

अब तपाईंहरू आन्दोलनको तयारीमा बस्नूस्, सरकारले कसैमाथि पनि प्रतिशोध लिन सक्छ, कसैलाई पनि गिरफ्तार र हमला गर्न सक्छ, किनभने यो सरकारले के गर्छ भन्ने कुराको टुंगोठेगान छैन: केपी शर्मा ओली एमाले अध्यक्ष उनले ‘कमिटीको सुदृढीकरण’ सहित १३ बुँदे कार्ययोजना अघि सारेका छन् । ‘सबै आधारभूत तहका कमिटीको अवस्था समीक्षा गरी निष्क्रिय कमिटीलाई सक्रिय बनाउनुपर्छ । कार्यकर्ताको भावनाअनुरूप योग्य, सक्षम र क्रियाशील व्यक्तिहरू कमिटीको नेतृत्वमा आउने गरी सहजीकरण गरिनुपर्छ,’ पोखरेलले भनेका छन् । निर्वाचनअघि प्रत्येक वडा कमिटीले आफ्नो क्षेत्रको मतदाता संख्या, पार्टी सदस्य, समर्थक, शुभेच्छुक, जनसंगठन, प्रभावशाली व्यक्ति तथा स्थानीय मुद्दाको अद्यावधिक अभिलेख तयार गर्ने जनाएको छ ।

प्रत्येक पालिका र वडा तहमा राजनीतिक शक्ति सन्तुलनको वस्तुगत अध्ययन गरी चुनावी रणनीति बनाउने तयारी एमालेको छ । ‘विगतका निर्वाचनको परिणाम, मतान्तर, स्थानीय राजनीतिक समीकरण, गठबन्धनको सम्भावना, प्रभावशाली सामाजिक समूह तथा विपक्षी दलको अवस्थासम्बन्धी तथ्य संकलन र विश्लेषण गर्नुपर्छ,’ पोखरेलले भनेका छन् । स्थानीय, प्रदेश र संघीय निर्वाचनको परिणाम, पार्टीका बलिया तथा मध्यम र कमजोर क्षेत्रको पहिचान, विपक्षी दलको संगठनात्मक अवस्था र जनप्रभावको मूल्यांकन, स्थानीय मुद्दा, जनअसन्तुष्टि र सम्भावित चुनावी प्रभावको आकलन, वैदेशिक रोजगारीमा जानेहरूको घरधुरीको पहिचान, जनमत सर्वेक्षण र कार्यकर्ताको राय संकलन गर्ने योजना एमालेले बनाएको छ ।

यस्तै, एमालेले सम्भावित उम्मेदवार तथा आकांक्षीको पहिचान गर्ने नीति लिएको छ । उम्मेदवार छनोट गर्दा पार्टीप्रतिको निष्ठा, जनसम्पर्क, सामाजिक प्रतिष्ठा, इमानदारिता, कार्यक्षमता, नेतृत्व क्षमता, सार्वजनिक छवि, स्थानीय मुद्दाको ज्ञान तथा जनस्वीकार्यतालाई मुख्य मापदण्ड बनाउने महासचिव पोखरेलले बताएका छन् । ‘उम्मेदवार छनोट प्रक्रियामा वडा, पालिका र जिल्ला कमिटीको सुझावलाई मुख्य आधार बनाउनुपर्नेछ,’ उनले भनेका छन्, ‘सम्भावित उम्मेदवारको जनस्वीकार्यता मापन गर्न आवश्यकताअनुसार आन्तरिक सर्वेक्षण तथा कार्यकर्ता परामर्श गर्नुपर्छ ।’

उम्मेदवार छनोटमा पहुँच, लेनदेन, गुटगत प्रभाव र अन्तिम समयमा हुने अस्वाभाविक परिवर्तनलाई निरुत्साहित गरिने एमालेको भनाइ छ । एमालेले प्रचार अभियानलाई तथ्यपूर्ण, मर्यादित, जनमुखी र स्थानीय आवश्यकतामा आधारित बनाउने कार्ययोजनामा उल्लेख छ । प्रचारमा डिजिटल प्लेटफर्म (सामाजिक सञ्जाल) को अधिकतम परिचालन गर्ने तयारी छ । ‘गलत सूचना, अफवाह र भ्रामक प्रचारको तत्काल तथ्यगत प्रतिवाद गर्ने संयन्त्र निर्माण गरिनेछ,’ कार्ययोजनामा भनिएको छ ।

प्रत्येक वडा तथा पालिकाले स्थानीय जनताको सरोकार र आवश्यकता पहिचान गरी प्रतिबद्धतापत्र तयार गर्ने तर त्यसलाई यथार्थपरक, कार्यान्वयनयोग्य, समयबद्ध तथा स्रोतको सम्भावनासँग मेल खाने गरी बनाउन निर्देशन दिइएको छ । निर्वाचनका क्रममा एमालेको नेतृत्वमा भएका स्थानीय तथा राष्ट्रिय तहका राम्रा कामको सूची तयार गरी मतदातासँग छलफल गर्ने उल्लेख छ ।

निर्वाचन अवधिमा पार्टीका कार्यकर्ता, उम्मेदवार तथा समर्थकको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइने एमालेको प्रतिवेदनमा उल्लेख छ । निर्वाचन तयारीको प्रत्येक चरणमा केन्द्र र प्रदेशबाट नियमित अनुगमन तथा समीक्षा गरी रणनीति बनाउने भनिएको छ । ‘स्थानीय निर्वाचनलाई केवल मतदानको प्रतिस्पर्धा नभई जनतासँगको सम्बन्ध विस्तार, संगठन सुदृढीकरण, सक्षम नेतृत्व निर्माण र जनविश्वास पुनःस्थापित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्छ,’ प्रतिवेदनमा पोखरेलले भनेका छन् ।

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
आन्दोलनका लागि तयार रहन एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

आन्दोलनका लागि तयार रहन एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मंगलबार अखिल नेपा...

#आन्दोलन #एमा
Compare →
Nagarik News
1d ago
पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले

पार्टी सुदृढीकरण र निर्वाचन तयारीमा एमाले

आधुनिक राजनीतिमा संगठनको आन्तरिक एकता जति महत्त्वपूर्ण हुन्छ, त्यति नै महत्त्वपूर्ण पार्टीका विचार र कामहरूको सही सम्प्रेषण पनि हुन्छ।

#निर्वाचन #एमा
Compare →
Onlinekhabar
1d ago
एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित हुने

१ मंसिर, काठमाडौं । नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रित गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको उपमहासचिव लेखराज …

#निर्वाचन #एमा
Compare →
Bizshala
1d ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#आन्दोलन
Compare →

Related Stories

Politics & Governance
Build #2612