एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने बताएका छन् ।
काठमाडौँ — एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाएका छन् ।
बिहीबार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले पार्टीले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसकेको, आन्तरिक एकता कायम गर्न नसकेको र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकेको बताए ।
पार्टीभित्रको विभाजन, संगठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्नु पनि पराजयका कारण रहेको उनले उल्लेख गरे । अल्गोरिदमको भ्रम र डिप स्टेटको षड्यन्त्र चिर्न नसकेको उनको भनाइ छ ।
नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने उनको टिप्पणी छ । उनले केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरी सही निष्कर्ष निकालेको दाबी गर्दै त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सम्बोधनका क्रममा थापाले पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता संघर्ष चर्किरहेको बताए । संसदीय, सडक र कानुनी संघर्षका माध्यमबाट फासीवादको प्रतिवाद गर्दै त्यसलाई पराजित गर्नुपर्ने उनको भनाइ थियो ।