२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक वित्तीय विवरणअनुसार ३ कम्पनी सर्वोत्तमको ६७, शिवमको ६६ तथा सोनापुरको नाफा ५५ प्रतिशत घटेको छ । बाँकी २ कम्पनी पाल्पा र घोराही सिमेन्टको नोक्सानी झन् बढेको छ ।
केही कम्पनीको बिक्री आम्दानी उच्च दरले घट्नु त केहीको बिक्री आम्दानीमा सुधार हुँदा पनि बिक्री लागत बढ्नुले नाफा प्रभावित पारेको देखिन्छ ।
सर्वोत्तमको बिक्री लागत ४० प्रतिशत बढेको छ भने शिवम् सिमेन्टको बिक्री आम्दानी नै ११ प्रतिशत घटेको छ । त्यस्तै सोनापुरको बिक्री लागत १४ प्रतिशत बढेको छ भने घोराहीको बिक्री आम्दानी खस्किएको छ ।
अन्तर्राष्ट्रियसँगै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च रहँदा कच्चा पदार्थ निकाल्ने लागत महँगो भएको कम्पनीहरूले चुनौतीका रुपमा औंल्याएका छन् ।
त्यस्तै बाढी तथा पहिरोले ढुवानी खर्च बढाएको र यसले पनि लागत महँगिएको विवरणमै औंल्याएका छन् । बिक्रीमा आएको मन्दी तथा बजारमा मूल्य प्रतिस्पर्धाले पनि नाफामा असर पारेको औंल्याएका छन् ।
सडक निर्माणमा सिमेन्ट प्रयोग भए बढ्नेछ व्यापार
सडक निर्माणका क्रममा बिटुमिनको प्रयोगलाई घटाइ स्वदेशमा उत्पादिन सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने निर्णय असोज ३० गतेको मन्त्रिपरिषद बैठकले गरेको थियो ।
‘आयातित बिटुमिनमा आधारित कालोपत्रको विकल्पमा प्राविधिक रूपमा उपयुक्त भए स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा तथा अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ’ मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।
निर्णयअनुसार सडक निर्माणमा विदेशबाट आयात गरिने बिटुमिनमा आधारित कालोपत्रेको सट्टा प्राविधिक रूपमा उपयुक्त ठाउँमा स्वदेशी सिमेन्ट प्रयोग गरेर कङ्क्रिट सडक बनाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय ढुङ्गा तथा अन्य उपयुक्त निर्माण प्रविधिलाई पनि प्राथमिकता दिइनेछ ।
यदि मन्त्रिपरिषद्को यो निर्णय कार्यान्वयन भएमा सिमेन्टको खपत बढ्न गई कम्पनीहरूको नाफा बढ्न जानेछ ।
यसबाट आयातित बिटुमिनको खपत घटाउने, स्वदेशी सिमेन्ट उद्योगको बजार विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र आयात प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ ।