बाराको प्रसौनी गाउँपालिका–२ मा महावीरी झण्डी मेलाका क्रममा आयोजना गरिएको कुस्तीमा थापाले उत्तर प्रदेशका अवधेश र झाँसीका शमसेरलाई लगातार पराजित गरे।
पर्सा — तराई मधेशको परम्परागत तथा लोकप्रिय खेल कुस्तीले छठ पर्वको समापनसँगै गाउँगाउँमा रौनक थपेको छ।
छठको मैजारो र विभिन्न धार्मिक मेलाका अवसरमा आयोजना हुने कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका चर्चित पहलमान अखाडामा उत्रिने गरेका छन्।
बाराको प्रसौनी गाउँपालिका–२ मा आयोजित महावीरी झण्डी मेलामा मंगलबार र बुधबार भएको कुस्ती प्रतियोगितामा नेपाली पहलमान बसन्त थापाले दर्शकको आकर्षण बटुले।
भारतका विभिन्न सहरमा कुस्ती खेलेर चर्चा कमाएका नवलपरासीका थापा पहिलो पटक उत्तर प्रदेशका अवधेश पहलमानसँग भिडेका थिए। कुस्ती हेर्न पुगेका स्थानीय दर्शकको समर्थन थापाले सुरुदेखि नै पाए। अखाडामा थापा उत्रिएपछि दर्शकले हुटिङ गर्दै उनको पक्षमा माहोल बनाएका थिए।
१० मिनेटको निर्धारित समयभित्र थापाले अवधेशलाई पटकपटक मात दिएका थिए। दुवै पहलमानबीचको भिडन्त रोमान्चक बन्दै जाँदा अवधेशले खेलको नियमविपरीत थापामाथि हातपात गर्न खोजेपछि अखाडाबाहिरको माहोलसमेत तनावपूर्ण बनेको थियो। दर्शकले हुटिङसँगै अवधेशमाथि ढुंगा प्रहार गर्न थालेपछि आयोजक तथा सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो।
आक्रोशित दर्शकलाई शान्त पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी पटकपटक अखाडामा पुग्नुपरेको थियो। तनावका बीच थापाले अवधेशलाई चित गर्दै भिडन्त आफ्नो पक्षमा पारे। पहिलो भिडन्तमा घाइते भएका थापा केही समय दर्शकबाट बक्सिस लिन व्यस्त भए। तर दर्शकले पुनः थापाकै कुस्ती हेर्न माग गरेपछि आयोजकले भारतको झाँसीका अर्का चर्चित पहलमान शमसेरलाई अखाडामा उतारे।
थापा र शमसेरबीचको भिडन्तले मेलाको माहोल पुनः ततायो। दर्शकको उत्साहपूर्ण समर्थनका बीच थापाले शमसेरलाई पनि पराजित गरे। लगातार दुई भारतीय पहलमानलाई चित गरेपछि थापाको पक्षमा दर्शकको उत्साह झनै बढेको थियो।
तराई मधेशमा कुस्ती केवल खेल मात्र नभई सामाजिक तथा सांस्कृतिक परम्परासँग जोडिएको मनोरञ्जनको माध्यम पनि हो। चाडपर्व, मेला तथा महावीरी झण्डीका अवसरमा गाउँगाउँमा आयोजना हुने कुस्ती प्रतियोगिताले स्थानीय संस्कृति जोगाउनुका साथै नेपाल र भारतका पहलमानबीच खेलकुद सम्बन्धसमेत स्थापित गर्दै आएको छ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।