Trending
Prev Story
Next Story

कर्णालीका सडक ‘मृत्युमार्ग’

Nagarik News •
November 18, 2026 • 02:56 AM
3
3 reads 0 reactions

राजमार्गमा बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाँदा जुम्ला, कालीकोट, मुगु र दैलेखका बासिन्दाले ठुलो सास्ती खेप्दै आएका छन्।

कर्णालीका सडक ‘मृत्युमार्ग’

मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा सडकमा आइतबार अपराह्न ४ बजे बा १७ च १८६४ नम्बरको हाइलक्स जिप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए। दुर्घटनामा एक जना घाइते भए। रारातालतर्फ जाँदै गरेको जिप सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षका विजय बस्नेत, ५४ वर्षका रमेश बिडारी, ५० वर्षका पूर्णबहादुर थापा र ललितपुरकी ५४ वर्षीया अञ्जु थापा छन्। थापाको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यृ भएको हो। ५८ वर्षीय चालक कञ्चन थापा घाइते भएका छन्। उनको उपचार बिएन्डबी अस्पतालमा भइरहेको मुगुका डिएसपी रविराज थपलियाले बताए। उनीहरू राराताल घुम्न जाँदै थिए।

त्यस्तै गत साताको सोमबार कालीकोटको रास्कोट नगरपालिकाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १३१५ नम्बरको डबल क्याब जिप बिहान ४ बजे दैलेख गुराँस गाउँपालिका–१ काफलतोलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यृ भयो। मृत्यृ हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय योगेश सिम्खडा र सोही वडाका ४१ वर्षीय रने सार्की छन्। दुर्घटनामा घाइते भएका चार जनाको सुर्खेतमा उपचार भइरहेको छ।

मुगुका डिएसपी थपलियाका अनुसार ताल्चा–रारा सडकको जीर्ण अवस्थाका कारण आइतबारको दुर्घटना भएको हो। उनले राराताल जाने सडक जोखिमपूर्ण रहेको बताए। पहिरो झरेको स्थानमा सडक भासिएकाले गाडी दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको उनले बताए।

कर्णाली विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग र ग्रमीण सडकमा भएका यी दुई दुर्घटना प्रतिनिधिमूलक उदाहरण हुन्। साँघुरो सडक, सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, पुराना गाडी, तीव्र गति, ट्राफिक नियमको बेवास्तालगायत कारण कर्णाली राजमार्गमा दुर्घटना बढिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी जयराज सापकोटा बताउँछन्। ‘अत्यधिक गतिका कारण पनि दुर्घटना बढिरहेका छन्,’ उनले भने, ‘कर्णालीको भूगोल पनि कठिन छ।’

त्यसमाथि सडक पनि जीर्ण छ।’ दुर्घटना कम गर्न प्रहरीले विभिन्न सचेतनामूलक कार्य गरिरहेको उनले बताए। उनले दुर्घटना कम गर्न सडक मर्मत, गाडीको यान्त्रिक जाँच, ट्राफिक नियम पालनालगायतमा ध्यान दिन जरुरी रहेको बताए।

चुनावका बेला कर्णाली राजमार्गलाई स्तरोन्नति गर्ने नारा बनाउँदै आएका दलहरूले निर्वाचन जितेपछि बेवास्ता गर्ने गरेको दैलेखको आठबीस नगरपालिका-५ का नविन विष्टले बताए। ‘राजमार्ग पिच गरी दुई लेनको बनाउने नारा सधैं लगाउँछन्,’ उनले भने, ‘तर चुनाव जितेर गएपछि वास्ता गर्दैनन्।’

कर्णाली राजमार्गको स्तरोन्नति नहुँदासम्म कर्णालीको विकास अधुरो हुने उनको बुझाइ छ। उनले कर्णालीका सडकमा सधैं भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको सुनाए।

राजमार्गमा बर्खाको समयमा ठाउँठाउँमा पहिरो जाँदा जुम्ला, कालीकोट, मुगु र दैलेखका बासिन्दाले ठुलो सास्ती खेप्दै आएका छन्। सडक डिभिजन सुर्खेतले समेत आफ्नो दायराभित्रको सडक मर्मत तथा सम्भारमा समेत ध्यान नदिएको गुनासो कर्णालीवासीको छ। सडक डिभिजन सुर्खेतले हेर्ने राजमार्गको सुर्खेतदेखि कालीकोटको सिमाना दहीखोलासम्मको खण्ड निकै जीर्ण छ। ‘सामान्य बर्षा हुनेबित्तिकै बडेमानका चट्टान सडकमा खस्छन्, जतिसुकै उपकरण लगाए पनि १/२ दिनमा पन्छाउन सकिँदैन्’, जुम्लाको चन्दनाथ नगरपालिकाका गोरख थापाले भने, ‘कर्णाली राजमार्ग मृत्युमार्ग बनिरहेको छ।’

उनले रारा घुम्न जाने यात्रु बोकेको जीप दुर्घटनाको हृदयविदारक घटनाले सिंगो कर्णालीलाई स्तब्ध र मर्माहत बनाएको बताए। उनले मृत्युमार्ग बन्दै गरेका कर्णालीका सडक स्तरोन्नतिमा राज्यको मौनता विडम्बनापूर्ण भएको टिप्पणी गरे।

उनले ‘कर्णालीका राजमार्ग कहिलेसम्म मृत्युमार्ग बनिरहने? सडकको जीर्ण अवस्थाको अन्त्य कहिले हुने? नागरिकको बाँच्न पाउने अधिकारमाथि खेलबाड कहिलेसम्म?’ भन्दै सरकारलाई प्रश्न गरेका छन्।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कर्णाली राजमार्गको दैलेख दहीखोलादेखि जुम्ला सदरमुकाम खलंगासम्मको १ सय ६८ किलोमिटरमा १५ स्थानमा पहिरोको जोखिम छ। दहीखोला, गगनेखोला, एसमोड, हुल्म, गल्ली, मोल्फा, सेराबाडा, टाकुल्ला, भैसींगौडा, टिमुरे, गाल्जे, राँचुली र धनाडामा पहिरोको उच्च जोखिम छ।

सडक डिभिजन कार्यालय जुम्लामाथि राजमार्गको अप्ठेरोभन्दा सजिलो ठाउँमा मात्र मर्मत गरेको आरोप छ। मर्मतका नाममा करोडौं रुपैयाँ खर्च गरेको देखिन्छ। तर सडकको अवस्था जस्ताको तस्तै छ। कालीकोट खण्डमा पनि सजिलो ठाउँमा धेरै काम गरेको पाइन्छ। कालीकोटको एस मोड, पिली, ताडीलगायतका जोखिमपूर्ण खण्ड मर्मतमा चासो छैन।

३५ वर्षअघि निर्माण सुरु भएको कर्णाली राजमार्गको ट्र्याक १९ वर्षअघि मात्र खोलिएको हो। यो राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। ‘साँघुरो र अप्ठेरो भिर भएको ठाउँमै गाडी पास गर्न समस्या हुन्छ, अर्कोपट्टिबाट गाडी आए ब्याक गर्नुपर्छ,’ गाडीचालक कमल खत्रीले भने, ‘सडकमा कुनै गाडी बिग्रिए अरू गाडी पनि रोकिनुपर्छ।’

ट्र्याक खुलेको दुई दशकसम्म सरकारले सडक स्तरोन्नति र मर्मतमा गरेको करोडौंको लगानीले अवस्थामा सुधार ल्याउन सकेको छैन। सडक एक लेनको मात्र हुँदा पनि यात्रा जोखिमपूर्ण बनेको खाँडाचक्र नगरपालिकाका अभियन्ता हिक्मतजंग मल्लले बताए। उनले भने, ‘अहिले वर्षैभरि धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता छ।’

सुर्खेतदेखि जुम्लासम्म ठाउँठाउँमा झरिरहने पहिरोका कारण पनि यात्रु सास्ती भोग्न बाध्य भएको उनी बताउँछन्। उनले कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा पुग्ने कर्णाली राजमार्गको स्तरोन्नतिमा बेवास्ता हुँदा पर्यटक भिœयाउन समस्या भएको बताए। उनले भने, ‘हामी (कर्णालीवासी) लाई अरू विकास चाहिएको छैन,’ ‘यही राजमार्ग दुई लेनको पक्की बनाइदिए पुग्थ्यो।’ उनका अनुसार सडक जीर्ण र साँघुरो हुँदा सुर्खेतबाट मुगु, जुम्ला पुग्न दुई दिन लाग्छ।

आर्थिक वर्ष २०८०/८१ यता कर्णालीमा भएका सडक दुर्घटनामा ४ सय ४० जनाले ज्यान गुमाएका छन्। जीर्ण र कच्ची सडक, क्षमताभन्दा बढि यात्रु बोक्नु र पुराना गाडीका कारण कर्णालीका सडकमा दुर्घटना बढ्दै गएको हो। चाडपर्वको समयमा झन् धेरै दुघटना भएको देखिन्छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक हजार ८६ वटा सडक दुर्घटना भएका थिए। ती दुर्घटनामा एक सय १२ जनाले ज्यान गुमाए भने २ हजार ७७ जना गम्भीर घाइते भए।

आर्थिक वर्ष २०८१/८२ मा ९ सय ६८ वटा सडक दुर्घटना भए। ती दुर्घटामा एक सय ३९ जनाको ज्यान गयो भने ७ सय दुईजना गम्भीर घाइते भए। आर्थिक वर्ष २०८२/८३ भएका एक हजार एक सय ९७ सडक दुर्घटनामा १ सय ३५ जनाको ज्यान गयो र १ हजार ३५ जना गम्भीर घाइते भए। चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्म ४ सय ८७ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ भने दुई सय ७१ जना गम्भीर घाइते भएका छन्।

सडकको दुरवस्था र क्षमताभन्दा बढी भार/यात्रु बोक्दा दुर्घटना बढिरहेको कालीकोटका डिएसपी हिमबहादुर खत्री बताउँछन्। ‘कर्णालीमा चल्ने अधिकांश गाडी पुराना हुँदा पनि दुर्घटना रोक्न चुनौती थपिएको छ,’ उनले भने, ‘घाइतेले समयमै उपचार नपाउँदा मृतकको संख्या पनि बढिरहेको छ।’

दुर्घटनाबाट हुने मानवीय क्षति अपूरणीय छ। आर्थिक क्षति, उपचार खर्च, परिवारमा पर्न जाने मानसिक आघात, आश्रित र घाइतेको पुनर्स्थापना पनि चुनौतीपूर्ण छ। दुर्घटनापछिको पीडा परिवारका लागि जीवनभर नमेटिने घाउ बन्छ।

प्रकाशित: २ मंसिर २०८३ ०८:४१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मुगु- मुगुमा जिप दुर्घटना हुँदा आइतबार तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। काठमाडौँबाट मुगुको रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जिप छायाँनाथ रारा न...

#मुगु #रारा #जिप
Compare →
Onlinekhabar
1d ago
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

३० कात्तिक, मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा …

#रारा #जिप #दुर्घटना
Compare →
Ekantipur
1d ago
मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

मुगु जिप दुर्घटना : थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

सुर्खेतबाट रारा ताल जाँदै गरेको जिप आइतबार टोप्लास्थित सडकबाट करिब ६ सय मिटर तल खस्दा सख्त घाइते भएकी एक जनाको उपचारका क्रममा सोमबार ललितपुरस्थित बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

#मुगु #जिप
Compare →

Related Stories

Technology
Build #2612