१४ सिटे ईभी दुर्घटनामा १४ जनाको मृत्यु भएपछि यात्रु सुरक्षाका लागि प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीमाथि निगरानी बढाएको छ।
हेटौंडा — निर्धारित क्षमताभन्दा बढी यात्रु बोकेर हेटौंडा–भीमफेदी–देउराली–कुलेखानी सडकमा सवारी दुर्घटना हुने गरेकाले प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्न थालेको छ ।
उक्त सडक खण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा कात्तिक २६ गते १४ सिटे विद्युतीय माइक्रोबस दुर्घटना भएको थियो । दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । दुर्घटनामा परेको उक्त गाडीले २० जना यात्रु बोकेको थियो । सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण पनि दुर्घटना भएको अनुमान गरिएको छ ।
हेटौंडा–काठमाडौं सडकखण्डमा सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ले निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने र अवैध रूपमा अतिरिक्त सिट जडान गरी सञ्चालन गर्ने गरेकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस्ता गाडीका चालकलाई कारबाही गर्न थालेको छ ।
पछिल्लो समय हेटौंडा–काठमाडौं सडकखण्डमा बढ्दै गएका सवारी दुर्घटनालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि प्रहरीले सवारी जाँचमा तीव्रता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा चारवटा ईभीमा अवैध रूपमा अतिरिक्त सिट जडान गरिएको फेला पारेको थियो ।
प्रहरीका अनुसार सवारी दर्ता किताबमा १४ सिट क्षमता उल्लेख भएका ती सवारीसाधनमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको थियो । यसरी निर्धारित क्षमताभन्दा बढी यात्रु बोक्ने व्यवस्था गरिएको पाइएपछि प्रहरीले सवारीसाधनमा जडान गरिएका अतिरिक्त सिटसमेत हटाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत कार्य गरेको कसुरमा ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रतिगाडी १० हजार रुपैयाँका दरले चारवटै सवारीसाधनलाई ४० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय सञ्चारकर्मीको रोहबरमा अतिरिक्त सिट निकालिएको थियो । कारबाहीमा पर्ने सवारीसाधनमा बा.प्र. ०८–००१ ज ००४२, बा.प्र. ०१–००२ ज ६२३९, बा.प्र. ०१–००२ ज ७००६ र बा.प्र. ०१–००२ ज ६९८१ नम्बरका ईभी रहेका छन् ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।