१ मंसिर, काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा आजदेखि चौबिसै घण्टा खुला गर्ने योजना स्थगित गरेको छ ।
टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना भए तापनि केही प्राविधिक कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।
‘हाम्रा ग्राहकलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले टंगाल स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरिएको थियो,’ सीओओ पौडेलले भने, ‘तर, केही प्राविधिक कारण तत्कालका लागि उक्त योजना स्थगित गर्नुपरेको छ ।’
पौडेलका अनुसार ग्राहकहरूको अपेक्षा र विश्वास सधैं उच्च प्राथमिकतामा राख्दै ग्राहकहरूलाई निराश हुन नदिई आवश्यक तयारी पूरा गरी छिट्टै चौबिसै घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गरिने छ ।