Trending
Prev Story
Next Story

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

Ekantipur •
November 15, 2026 • 08:32 AM
4
4 reads 0 reactions

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।

प्राथमिक उपचार पाउनै सात घण्टा हिँड्छन् टिंकरवासी

चार वर्षअघि बनेको सामुदायिक स्वास्थ्य संस्थाको भवन हस्तान्तरण नहुँदा टिंकरका बासिन्दा आधारभूत उपचारबाट समेत वञ्चित छन्।

टिंकर (दार्चुला) — २०७९ साल असोजमा व्यास गाउँपालिका–१, टिंकरकी ४१ वर्षीया विन्द्रा बुढा करिब तीन महिना ताक्लाकोट बसेर गाउँ फर्किएकी थिइन् । फर्केको तेस्रो दिनदेखि उनलाई एक्कासि असह्य टाउको दुख्ने र रिङ्गटा लाग्ने हुन थाल्यो ।

उनको अवस्था झन् बिग्रँदै गएपछि आत्तिएका परिवारले गाउँले गुहारे । गाउँका केही युवा जम्मा भए । हतारहतार उनलाई स्ट्रेचरमा बोकेर उपचारका लागि हिँडाइयो । झन्डै सात घण्टा पैदल बोकेर सडक भएको ठाउँ सीमापारि भारत पुर्‍याइयो । तर, त्यहाँ पुग्दा नपुग्दै उनको ज्यान गयो । कुन रोग लागेको थियो भन्ने थाहा पाउनसमेत नपाई परिवारले उनलाई गुमाउनुपर्‍यो ।

‘गाउँमा स्वास्थ्य चौकी छैन । स्वास्थ्य चौकी नै नभएपछि स्वास्थ्यकर्मी हुने कुरा भएन,’ उनका श्रीमान् चन्द्रसिंह बुढाले भने, ‘हामी साधारण मान्छेले के रोग लागेको भन्ने कुरा कसरी थाहा पाउनु ?’ गाउँमा सामान्य उपचारको व्यवस्था मात्रै भएको भए श्रीमती गुमाउनुपर्ने थिएन भन्ने कुराले उनलाई अहिले पनि पिरोलिरहेको छ । ‘गाउँमै जाँच गर्न जान्ने, औषधि दिन जान्ने मान्छे भइदिएको भए अस्पताल पुर्‍याउँदासम्म त उनलाई बचाउन सकिन्थ्यो होला । अकालमै ज्यान जाँदैनथ्यो होला,’ उनले भने ।

यसरी अकालमा ज्यान गुमाउने टिंकरकी विन्द्रा एक उदाहरण मात्रै हुन् । सामान्य प्राथमिक उपचारको समेत व्यवस्था नभएको यो सीमान्त गाउँका बासिन्दाको ज्यान जोखिममा छ । ७५ परिवारका करिब ४५० जनाको बसोबास रहेको यो गाउँमा स्वास्थ्य सेवाको अभावमा एकातिर अकालमै ज्यान जाने खतरा छ भने अर्कोतिर सामान्य उपचारका लागि समेत ठूलो रकम खर्चेर भारतका विभिन्न सहर वा दार्चुला सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यता छ ।

उपचारको कुनै व्यवस्था नहुँदा यहाँका स्थानीय मात्रै होइन, प्रहरी र कर्मचारीले समेत अकालमा ज्यान गुमाएका उदाहरण छन् । ‘विन्द्रा बितेको एक वर्षपछि एक जना प्रहरी असईको पनि बाटैमा मृत्यु भएको थियो,’ पूर्वजिविस सदस्यसमेत रहेका टिंकरका स्थानीय दानसिंह टिंकरीले भने, ‘मान्छे स्वस्थ जस्तै थियो । रक्तचाप बढेपछि प्रहरी र गाउँले मिलेर बोकेर लैजाँदै थियौं । बाटैमा सास गइहाल्यो ।’ रक्तचाप जाँच गर्ने र प्राथमिक उपचार गर्ने व्यक्ति गाउँमा भएको भए ती प्रहरीले ज्यान जोगिनसक्ने उनको भनाइ छ ।

गाउँमा उपचारको कुनै व्यवस्था नभएपछि स्थानीयले सामान्य बिरामी हुँदा र चोटपटक लाग्दा गाउँमै जडीबुटी र घरेलु उपचार गर्ने गरेको स्थानीय डुचुङ दोर्जे तामाङले बताइन् । ‘ठूलो रोग लाग्यो भने सक्नेले खलंगा वा इन्डियातिर लैजान्छन्,’ उनले भनिन्, ‘नसक्नेले यहीँ जडीबुटी गर्ने र देउता पुकार्ने हो । भगवान्‌को कृपाले ठीक भए भयो, नभए काल कुरेर बस्नुपर्छ ।’ उपचारको उचित प्रबन्ध नभएका कारण धेरैजसोले बिरामी हुँदा देवीदेवतालाई सन्चो गराइदिन भाकल गर्ने गरेको उनले सुनाइन् ।

स्वास्थ्य चौकी नभए पनि यहाँ स्वास्थ्यकर्मी नै नपुग्ने भने होइनन् । छाङरु स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगी सन्तोष टिंकरी कहिलेकाहीँ फिल्ड कर्मचारीका रूपमा यहाँ पुग्ने गरेका छन् । उनी टिंकर गाउँकै स्थानीय हुन् । ‘सामान्य बिरामीलाई मैले जानेको औषधि दिने, प्राथमिक उपचार गर्ने गर्छु । आवश्यक परे सुई पनि लगाइदिन्छु,’ उनले भने, ‘तर सधैं यहाँ स्वास्थ्यकर्मी हुँदैनन् । यहाँका मान्छे बिरामी भएर ज्यानै जाने हो कि भनेर सधैं त्रासमा हुन्छन् ।’ लामो समयसम्म उपचार नपाउँदा बिरामीको अवस्था झन् बिग्रने गरेको सुनाउँदै उनले उपचार पाए निको हुने समस्या भएकाहरूले पनि स्वास्थ्य सेवाको अभावमा ज्यान गुमाइरहेको बताए ।

यो गाउँका बासिन्दाका लागि अहिले सबैभन्दा नजिकको स्वास्थ्य संस्था टिंकरबाट सात घण्टा पैदल दूरीमा रहेको छाङरु स्वास्थ्य चौकी हो । त्यहाँ पनि सामान्य उपचारको मात्रै व्यवस्था भएकाले यहाँका स्थानीय बिरामी हुँदा दार्चुला सदरमुकामबाहेक भारतका गर्व्याङ, हल्द्वानी, पिथौरागढलगायत ठाउँमा जाने गर्छन् ।

कोरोना महामारीअघि यहाँका स्थानीय उपचारका लागि तिब्बतको ताक्लाकोट बजार जाने गरेका थिए । कोरोना महामारीपछि चीन सरकारले टिंकर नाका झन्डै सात वर्ष बन्द गर्‍यो । अहिले नाका खुले पनि पहिलेजस्तो सहज आवतजावत गर्न मिल्दैन । चिनियाँ प्रशासनले तोकेको समयमा सामूहिक रूपमा मात्रै प्रवेश पाउने भएकाले टिंकरवासीको चीनतर्फ उपचारका लागि जाने बाटो पनि बन्द भएको छ ।

उपचार पूर्वाधारको अभावमा सबैभन्दा बढी समस्यामा गर्भवती महिला छन् । ‘गर्भवती भएपछि यहाँ कोही पनि बस्दैनन् । कसैका त सदरमुकामतिर घर छन् । उनीहरूलाई खासै समस्या हुँदैन,’ टिंकरकी मीना बुढाथोकी भन्छिन्, ‘घर नहुनेले कम्तीमा पाँच–६ महिना डेरा गरेर बस्नुपर्छ । तीन–चार लाख खर्च लाग्छ ।’ उनले आर्थिक अवस्था कमजोर भएका परिवारका महिला सुत्केरी हुनुपर्दा ऋणमा डुब्ने गरेको बताइन् ।

उसो त टिंकरमा सामुदायिक स्वास्थ्य संस्थाको दुईकोठे भवन पनि छ । प्रदेश सरकारको लगानीमा चार वर्षअघि नै निर्माण भएको यो भवन अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । करिब ३२ लाख रुपैयाँको लागत अनुमानमा निर्मित यो भवनको आधा रकम मात्रै भुक्तानी भएको छ । बाँकी रकम भुक्तानी हुन नसकेकाले भवन हस्तान्तरण हुन बाँकी छ ।

भवन हस्तान्तरण भएपछि कर्मचारीको व्यवस्थापन गरेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गर्ने गाउँपालिकाको तयारी भए पनि भवनकै कारण टिंकरवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको व्यास गाउँपालिकाका स्वास्थ्य शाखा इन्चार्ज मुकेशसिंह कुँवरले बताए । ‘भवनको लफडा नमिलेका कारण टिंकरका मान्छेले साह्रै दुःख भोग्नुपरेको छ,’ उनले भने, ‘भवन हस्तान्तरण भयो भने हामी तुरुन्तै स्वास्थ्य केन्द्र उद्घाटन गर्ने तयारीमा छौं ।’ उनले भवन कहिले हस्तान्तरण हुन्छ र कहिले स्वास्थ्य केन्द्र सञ्चालन हुन्छ भन्ने यकिन गर्न नसकिने बताए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
19h ago
जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी

जिल्लामै मुटुरोगको जटिल उपचार सेवा प्रभावकारी

दाङ, कार्तिक २८ गते । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको विशेषज्ञ उपचार सेवा प्रभावकारी बन्दै गएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै प्रतिष्ठानमा मुटुरोगसम्बन्धी स...

#उपचार
Compare →
Nagarik News
1d ago
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन्।

#गाउँ #पाउनै
Compare →
Bizshala
3d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →

Related Stories

Health & Wellness
Build #2612