१ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष हिउँदयाममा भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ ।
भारतको विद्युत मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो ।
प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म विद्युत् आयात गर्न पाउने छ । यसअनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्म बाहेक अन्य समयमा आईएक्सबाट दैनिक विद्युत् आयात गर्न सकिने छ ।
अनुमति अनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइन मार्फत ३ सय मेगावाट तथा न्यु नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइन मार्फत ५० मेगावाट गरी कुल ३ सय ५० मेगावाट विद्युत् आयात गर्न सकिने छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट ३ सय ५० मेगावाट विद्युत् आयात अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न थप सहज हुने बताए ।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४ सय ३१ मेगावाट जडित क्षमता भएका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन् ।
यो लगायत अवस्था ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
गत वर्षको विद्युत् माग र उत्पादन अवस्था आधार मानेर गरिएको विश्लेषण अनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म विद्युत् माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ ।
यस अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ । विशेषगरी माघ र फागुनमा दैनिक औसत ४ सय ५० देखि ५ सय मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने अनुमान छ ।
यस्तै उच्च माग हुने पिक आवरमा दैनिक ८ सयदेखि ९ सय मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको अनुमान छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने आकलन छ ।
आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाब क्रमश: बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ ।
प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।
प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म उक्त विद्युत् निर्यात गर्न पाउने छ ।