प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमेकी चीनको १० दिने भ्रमणमा निस्केको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिपी) को निम्तोमा रास्वपाको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रधानमन्त्री शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा रास्वपाका नेताहरूको चीन भ्रमण एउटा संयोग मात्र पनि हुन सक्छ । त्यसैले हुन सक्छ, प्रधानमन्त्री शाहले चीन जान लागेका नेताहरूलाई चीन भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित तथा विशेष गरी नेपालको विकास र समृद्धिमा योगदान पु¥याउने अवसरका रूपमा उपयोग गर्न निर्देशन दिनुभयो । रास्वपाको टोली चीनमा रहेकै बेला प्रधानमन्त्री शाह भारतीय समकक्षी नरेन्द्र मोदीको निम्तोमा तीनदिने भारत भ्रमणका लागि मङ्सिर पहिलो साता नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । १३ चैत २०८२ मा प्रधानमन्त्री नियुक्त हुनभएका शाहले यसअघि गत महिना संयुक्त राष्ट्रसङ्घको महासभालाई न्युयोर्कमा सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय पक्षले पहिलो औपचारिक भ्रमण आफ्नो देशमा गराउन चाहेको थियो । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण भारतबाहेक अन्यत्र नहोस् भन्ने भारतको सधैँको चाहना हुने गरेको छ तर शाह प्रधानमन्त्री नियुक्त हुनुभएको आठ महिनासम्म पनि भारत भ्रमणको टुङ्गो लाग्न नसकेको सन्दर्भमा भारतीय विदेश सचिव विक्रम मिश्रीले कात्तिक १८ गते काठमाडौँस्थित त्रिभुवन विमानस्थल ओर्लिएलगत्तै कूटनीतिक भेटघाट र सक्रियता बढाउनुभएको थियो ।
विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणको तयारी र कार्यसूचीमाथि नेपाली अधिकारीहरूसँग गम्भीर छलफल गर्नुभएपछि प्रधानमन्त्री शाहको भ्रमणको टुङ्गो लागेको हो । नयाँ दिल्लीबाट प्रकाशित प्रमुख पत्रपत्रिका, त्यहाँका टेलिभिजन च्यानल र अनलाइन पोर्टलहरूले पनि प्रधानमन्त्री बनेपछिको शाहको आसन्न भ्रमणको विषयलाई विशेष महत्वका साथ स्थान दिएका छन् । लामो समयदेखि दुई छिमेकीका बिच उच्चस्तरीय भ्रमण हुन नसकिरहेको सन्दर्भमा कूटनीतिक दृष्टिले प्रधानमन्त्री शाहको भ्रमण आफैँमा महत्वपूर्ण मानिएको छ । त्यसका अतिरिक्त यो भ्रमणले दुई देशबिचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ । हुन त प्रधानमन्त्रीको तहबाट हुने एउटै भ्रमणले दुई देशबिच थाती रहेका सबै समस्याको निरूपण भई नै हाल्छ भन्न सकिँदैन । व्यावहारिक रूपमा पनि सम्भव हुँदैन । तर पनि दुई देशका अधिकारीबिच विभिन्न तहमा हुने द्विपक्षीय भेटघाट र छलफलले सम्भावनाका ढोका खोल्न भने पक्कै पनि सहयोग पुग्ने छ । त्यसैले पनि हुनु पर्छ, प्रधानमन्त्री शाहको भ्रमणअघि सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली पुगिसक्नुभएको छ । त्यसबाट सम्बन्धका आयाम फराकिलो बन्दै गएको छ । यसबाट पारस्परिक विश्वासमा वृद्धि भइरहेको छ । नेपालमा जेनजी विद्रोहपछि गठन भएको सरकार र सरकारको नेतृत्व गरेको दल रास्वपासँग मिलेर काम गर्न चाहेको स्पष्ट हुँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )