हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो ।
मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १४ जनाको शव व्यवस्थापनमा समस्या भएको छ। मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राख्दै शव नबुझेपछि हेटौँडा अस्पतालमै शव राख्नुपर्ने अवस्था बनेको हो।
मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्। माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान उनीहरूले लिएका छन्।
शव अस्पतालमै रहँदा व्यवस्थापनमा समेत समस्या देखिएको छ। हेटौँडा अस्पतालमा एकपटकमा चारवटा शव मात्रै राख्न सक्ने क्षमता रहेको अस्पतालका डा. हरि खड्काले जानकारी दिएका छन्। दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको शव गाउँसम्म पठाउन आवश्यक आन्तरिक तयारी गरे पनि आफन्तहरू शव बुझ्न तयार भएका छैनन् ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।