मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा छठ पर्व मनाउन घर जाने क्रममा कात्तिक २६ गते बिहीबार बिहान भएको सो दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख छ।
काठमाडौँ–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। विज्ञप्तिअनुसार दुर्घटनामा ज्यान गुमाउने यात्रुमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा हुन् भने एक जना चालक कविलासी नगरपालिकाका रहेका छन्।
सरकारले दुर्घटनाका घाइतेहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाउँदै स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पतालहरूलाई आवश्यक निर्देशन दिइसकेको छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। यसका साथै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले प्राप्त गर्ने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनाको वास्तविक कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। अन्त्यमा, सरकारले पीडित परिवारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।