Trending
Prev Story
Next Story

रंगमञ्च मेरो बाटो हो, फिल्म बाध्यता : सुनील पोखरेल

Ekantipur •
October 24, 2026 • 10:00 AM
1
1 reads 0 reactions

कान्तिपुरसँगको अन्तर्वार्तामा अग्रज नाट्यकर्मी सुनील पोखरेलले काठमाडौंबाहिर रंगमञ्चको जागरण बढे पनि नाटकबाट जीविकोपार्जन गर्न कठिन रहेको बताएका छन् । उनी भन्छन्- 'नाटकप्रतिको रहर रहुन्जेल रंगमञ्च जीवित रहन्छ ।'

रंगमञ्च मेरो बाटो हो, फिल्म बाध्यता : सुनील पोखरेल

कान्तिपुरसँगको अन्तर्वार्तामा अग्रज नाट्यकर्मी सुनील पोखरेलले काठमाडौंबाहिर रंगमञ्चको जागरण बढे पनि नाटकबाट जीविकोपार्जन गर्न कठिन रहेको बताएका छन् । उनी भन्छन्- 'नाटकप्रतिको रहर रहुन्जेल रंगमञ्च जीवित रहन्छ ।'

विराटनगर — नेपाली रङ्गमञ्चलाई नयाँ जीवन दिन महत्वपूर्ण भूमिका खेलेका नाट्यकर्मी सुनील पोखरेल अभिनय र निर्देशनका स्थापित नाम हुन् । भारतको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) बाट नाट्यशिक्षा लिएका उनले नेपाली, भारतीय तथा युरोपेली नाटकको निर्देशन गर्दै नेपाली रङ्गमञ्चको विकासमा योगदान पुर्‍याएका छन् ।

गुरुकुलको स्थापना र नाट्यप्रशिक्षणमार्फत नयाँ पुस्ताका कलाकार तयार गर्नसमेत उनको भूमिका उल्लेखनीय छ । उनै पोखरेलको अभिनय रहेको आन्तोन चेखभको चर्चित एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ असोज २८ र २९ गते विराटनगरमा मञ्चन भयो । रङ्गमञ्चसँगको लामो यात्रा, अभिनयको अनुभव र नेपाली थिएटरको अवस्थाबारे पोखरेलसँग कान्तिपुरका पर्वत पोर्तेलले गरेको कुराकानी :

विराटनगरसँग तपाईंको सम्बन्ध कस्तो छ ?

विराटनगरसँग मेरो गहिरो सम्बन्ध छ । मेरो रङ्गमञ्चीय यात्रा यहीँबाट सुरु भएको हो । भैरव थापा र म, बिरोज लामिछाने सँगसँगै नाटकमा आएका थियौँ । बिरोज अहिले छैनन् । विराटनगर आउँदा उनको सम्झना धेरै आउँछ ।

त्यतिबेला हामी साना कलाकार थियौँ । ठूल्ठूला भूमिका पाउँदैनथ्यौँ । सबैले फुच्चे केटाहरूका रूपमा हेर्थे । राजारानीका जन्मदिन, पञ्चायत दिवसजस्ता अवसरमा मञ्चन हुने एकाङ्कीमा ससाना भूमिका खेल्थ्यौँ । त्यही वातावरणले हामीलाई नाटकतिर तान्यो र रङ्गमञ्चसँग जोड्यो ।

काठमाडौंमा साथीभाइ र दर्शक धेरै छन् । तर, विराटनगरमा आफ्ना साथीलाई फोन गरेर नाटक हेर्न बोलाउँदाको आत्मीयता बेग्लै लाग्छ । यहाँ आउँदा आफ्ना मान्छेसँग जोडिएको अनुभूति हुन्छ ।

विराटनगरमा तपाईंले कतिवटा नाटक मञ्चन गरिसक्नुभयो ?

हामीले काठमाडौंँबाट सातवटा नाटक विराटनगर ल्याएका थियौँ । गुरुकुलको उद्घाटनका बेला पनि नाटक ल्याइएका थिए । त्यसपछि मैले यहाँ दुईवटा नाटक निर्देशन गरेँ । मैले अभिनय गरेका नाटकको संख्या ठ्याक्कै सम्झना छैन, दुई–तीनवटा जति होलान् । ‘जयमाया’ मैले निर्देशन गरेको होइन । त्यो गुरुकुल उद्घाटनका बेला हामीले यहाँ ल्याएका थियौँ ।

तपाईंले विराटनगरमा गुरुकुल स्थापना गर्नुभयो । त्यसपछि भने आरामले बस्नुभयो भन्ने आरोप पनि लाग्छ । यसलाई कसरी लिनुहुन्छ ?

मैले यहाँ आएर आगो बाल्न सलाई कोरेको मात्र हो । त्यसपछि आगो ताप्ने र त्यसमा दाउरा थप्ने काम अरूले गर्नुपर्थ्यो । तर, सोचे जस्तो कहाँ हुन्छ र ! संस्था स्थापना गर्नु एउटा कुरा हो, त्यसलाई निरन्तरता दिनु अर्को कुरा । गुरुकुललाई अगाडि बढाउने जिम्मेवारी अरूले पनि लिनुहुनेछ भन्ने लागेको थियो । तर, सोचे जस्तो अगाडि बढ्न सकेन भन्ने लागेको छ ।

काठमाडौंको गुरुकुल बन्द भएपछि त्यहाँका कलाकारहरू पलायन भए कि रङ्गकर्ममै सक्रिय भए ?

धेरैजसो आफ्नै काममा लाग्नुभयो । अहिले नेपाली फिल्म र टेलिभिजनमा गुरुकुलसँग जोडिएका धेरै कलाकार सक्रिय हुनुहुन्छ । सौगात मल्ल, विपिन कार्की, कमलमणि नेपाल, अरुणा कार्की, मणिराम पोखरेल, प्रविण खतिवडा, सरस्वती चौधरी, पशुपति राई र सरिता गिरीलगायत कलाकारको यात्रा गुरुकुलसँग जोडिएको छ । घिमिरे युवराज पनि त्यही यात्राका सहयात्री हुनुहुन्छ ।

गुरुकुल बन्द भयो भन्दैमा त्यसले निर्माण गरेको सम्पूर्ण सांस्कृतिक ऊर्जा समाप्त भएको होइन । त्यहाँ सिकेका र काम गरेका कलाकारहरू विभिन्न क्षेत्रमा सक्रिय हुनुहुन्छ । गुरुकुलको प्रभाव त्यसरी नै फैलिएको छ ।

आफूले अभिनय वा निर्देशन गरेका नाटकमध्ये सबैभन्दा प्रिय कुन लाग्छ ?

दुई–तीनवटा नाटक विशेष लाग्छन् । अल्बेयर कामुको उपन्यासमा आधारित ‘द आउटसाइडर’ हामीले धेरै वर्षअघि मञ्चन गरेका थियौँ । ‘मार्क्स फर्किए’ पनि मलाई निकै मन पर्छ । त्यसमा मैले आफूलाई धेरै हदसम्म जोडेको छु । अहिले मञ्चन भइरहेको नाटक ‘अन्तिम गीत’ पनि मेरा लागि महत्वपूर्ण छ ।

तपाईंले ‘अन्तिम गीत’ आफ्नो अन्तिम नाटक हुन सक्छ भन्नुभएको छ । अब अवकाश लिने सोच्दै हुनुहुन्छ कि कसो ?

यो मैले खेलेको अन्तिम नाटक हुन पनि सक्छ, नहुन पनि सक्छ । केही समय अवकाश लिएर घरमै बस्ने सोच बनाएको थिएँ । तर, अहिले फेरि नाटक खेल्ने ऊर्जा आएको छ । त्यसैले आफूलाई ‘सेमी–रिटायर्ड’ भन्न थालेको छु । फेरि नाटक खेल्न थालेँ भने पूर्ण अवकाश लिएको भन्न मिलेन ।

यसअघि मैले प्रवीण खतिवडासँग मिलेर ‘मार्क्स फर्किए’ निर्देशन र अभिनय गरेको थिएँ । त्यसपछि केही समय नाटकबाट टाढा बसेँ । अहिले भने फेरि रङ्गमञ्चमा फर्कने उत्साह जागेको छ ।

एनएसडीमा छँदा अभिनेता इरफान खानसँग तपाईंको संगत भयो । उहाँलाई कसरी सम्झनुहुन्छ ?

उनी मेरो नजिकको साथी थिए । उनको निधनपछि मैले उनलाई धेरै मिस गरेको छु । हामी करिब तीन वर्ष सँगै बसेर पढेका थियौँ, एनएसडीमा । पछि उनी काठमाडौं आए र मेरै घरमा बसे । उनी परिवारकै सदस्यजस्ता थिए । उनलाई सम्झिँदा निकै भावुक हुन्छु ।

एनएसडीमा पाएको प्रशिक्षणले तपाईंको कलायात्रालाई कसरी प्रभाव पार्‍यो ?

एनएसडी पुग्नुअघि मैले नेपालमा थिएटरलाई राम्रोसँग बुझेकै रहेनछु । थिएटरमा प्रकाशको प्रयोग कसरी हुन्छ भन्ने कुरासमेत थाहा थिएन । अहिले मैले रङ्गमञ्चबारे जति बुझेको छु, त्यसको ठूलो श्रेय त्यही स्कुललाई जान्छ ।

अहिले पनि थिएटरलाई पूर्ण रूपमा बुझिसकेको त छैन । यो निरन्तर सिकिरहनुपर्ने विधा हो । तर, मेरो कलायात्रामा एनएसडीको योगदान अत्यन्त महत्वपूर्ण रह्यो ।

त्यहाँका शिक्षकहरूमध्ये कसलाई सम्झनुहुन्छ ?

हामी पढ्दा त्यहाँ अनुभवी शिक्षकहरू हुनुहुन्थ्यो । रवीन्द्र दास त्यहाँका शिक्षक हुनुहुन्थ्यो । पछि हामीले उहाँलाई काठमाडौं पनि बोलाएर सेट डिजाइनसम्बन्धी कार्यशाला पनि गराएका थियौँ । त्यतिबेलाका धेरै शिक्षक अहिले अवकाश लिइसक्नुभएको छ । कतिपय हामीमाझ हुनुहुन्न ।

नयाँ पुस्ताले नाटकलाई बुझ्ने तौरतरिकामा के फरक देख्नुहुन्छ ?

यसको जवाफ नयाँ पुस्तालाई नै सोध्नुपर्छ । उनीहरूले नाटकलाई कसरी बुझिरहेका छन् भन्ने कुरा उनीहरूकै अनुभवबाट आउनुपर्छ ।

अहिले नाटक गर्ने भाइबहिनीहरूलाई कामको चाप छ, तर आर्थिक चुनौती पनि छ । पहिले नाटकको शो सकिएपछि सबैलाई खाना खुवाउने कुरा सामान्यजस्तो लाग्थ्यो । अहिले त्यही कुरा पनि चुनौती बन्न सक्छ । रङ्गमञ्चमा काम गर्ने कलाकारका लागि सिर्जनात्मक कामसँगै दैनिक जीवन धान्ने प्रश्न पनि महत्वपूर्ण छ ।

विशेषगरी काठमाडौं बाहिरका थिएटरको अवस्था कस्तो देख्नुहुन्छ ?

हामीले करिअर सुरु गर्दाको तुलनामा अहिले काठमाडौं बाहिरका थिएटरमा निकै जागरण आएको छ । काँकडभिट्टादेखि धनगढीसम्म नाट्य गतिविधि भइरहेको छ । विराटनगरमा विभिन्न प्रयास भए, केही बन्द पनि भए । पोखरामा दुई–तीनवटा थिएटर छन् । झापा र इलाममा नाट्य गतिविधि बाक्लै छ । अन्य सहरमा पनि थिएटर सुरु गर्ने तयारी भइरहेको छ ।

काठमाडौंमा अहिले सात–आठवटा नाटकघर छन्, जहाँ नियमित नाटक मञ्चन हुन्छ । त्यसैले पहिलाभन्दा अवस्था राम्रो छ ।

गुरुकुल बन्द हुँदा एउटा अध्याय सकिएजस्तो लागेको थियो । तर, त्यसपछि अन्य ठाउँमा थिएटर खुले र नयाँ प्रयासहरू सुरु भए । त्यस अर्थमा गुरुकुलको बन्द हुनु नेपाली रङ्गमञ्चका लागि एउटा संक्रमण पनि थियो होला । एउटा संस्था बन्द भए पनि त्यसले जगाएको चेतना र सिर्जनात्मक ऊर्जा अन्यत्र फैलिन सक्यो होला ।

यद्यपि नाटक खेलेर मात्रै बाँच्न सकिने अवस्था अझै बनेको छैन । यो मुख्यतः रहर र जुनूनको काम हो । मानिसभित्र नाटकप्रतिको रहर रहुन्जेल रङ्गमञ्च मर्दैन ।

नेपाली थिएटरको विकासमा राज्यको भूमिका कस्तो छ ?

राज्यको साथ मैले खासै देखेको छैन । तर, ‘राज्य’ र ‘जनता’ दुवै अमूर्त शब्द हुन् । राज्य खोजेर बस्ने होइन, राज्यलाई प्रश्न गर्ने हो ।

जनता भनेको को हो ? तपाईं र म होइनौँ ? जनताले के भन्यो भनेर हामी आफूलाई जनताभन्दा अलग राख्न मिल्दैन । राज्य र जनतालाई अलग–अलग, आफूभन्दा बाहिरका कुनै अमूर्त शक्तिका रूपमा बुझ्ने प्रवृत्तिमाथि पनि प्रश्न गर्नुपर्छ । राज्य र जनता दुवैलाई ठोस अर्थमा बुझेर प्रश्न गर्न आवश्यक छ ।

तपाईंले सीमित फिल्ममा पनि अभिनय गर्नुभएको छ । तर, रङ्गमञ्चलाई नै बढी प्राथमिकता दिनुहुन्छ, किन ?

बीचमा दुई–तीनवटा फिल्ममा अभिनय गरेको छु । ‘बाह्र गाउँ’ नामको फिल्ममा पनि खेलेको छु । तर, मलाई रङ्गमञ्च मन पर्छ । फिल्ममा अभिनय गर्दा त्यति आनन्द लिन सक्दिनँ । फिल्म निर्माणको प्रक्रिया धेरै प्राविधिक लाग्छ ।

रङ्गमञ्चमा अभिनय गर्दा जसरी पात्रलाई जीवन दिन सकिन्छ, त्यसको स्वाद फिल्ममा त्यति पाउँदिनँ । त्यसैले फिल्म मेरो मुख्य बाटो होइन । तर, काम नपाएको बेला वा आर्थिक आवश्यकता परेको बेला फिल्ममा अभिनय गर्नु मेरो बाध्यता हो ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
शंकर पोखरेलको आरोप : इनम सापकोटा प्रधानमन्त्रीको चुनावी अभियानदेखि नै सक्रिय थिए

शंकर पोखरेलको आरोप : इनम सापकोटा प्रधानमन्त्रीको चुनावी अभियानदेखि नै सक्रिय थिए

नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानदेखि नै सक्रिय रहेको भन्दै उनी प्रधानमन्त्री बनेपछि गरेका गतिविधिले गम्भीर आशंका जन्माएको बताएका छन्।

#पोखरेल
Compare →
Hamro Patro News
14h ago
एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

एमालेको राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) ले महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ एकीकृत सन्देश प्रवाह गर्न राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको बताएका छन् । ...

#पोखरेल
Compare →
Onlinekhabar
15h ago
‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा

‘आवारा पागल दीवाना २’ बन्ने पक्का, सुनील शेट्टीले गरे खुलासा

सन् २००२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘आवारा पागल दीवाना’ को दोस्रो भाग बन्ने भएको छ । फिल्मको सिक्वेलको प्रतीक्षामा रहेका दर्शकका लागि अभिनेता सुनील शेट्टीले खुसीको खबर दिएका छन् । फिल्मको काम अघि बढिरहेको …

#सुनील
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →

Related Stories

World News
Build #2612