Trending
Prev Story
Next Story

गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा

Ekantipur •
November 25, 2026 • 11:02 AM
7
7 reads 0 reactions

इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारदेखि सचिवालयका सदस्यसम्म फेसबुक ग्रुपमा व्यंग्यात्मक पोस्ट, कमेन्ट र मिममा सक्रिय

गम्भीर राजनीतिक विवादमाथि प्रधानमन्त्रीका सल्लाहकारको फेसबुकमा ठट्टा

इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारदेखि सचिवालयका सदस्यसम्म फेसबुक ग्रुपमा व्यंग्यात्मक पोस्ट, कमेन्ट र मिममा सक्रिय

काठमाडौँ — सोमबार बिहान ९ बजेर १० मिनेटमा ‘आउट अफ कन्टेक्स्ट पोलिटिक्स २.०’ नामक फेसबुक ग्रुपमा एउटा तस्बिर पोस्ट भयो । ‘लाइफ इज ब्युटिफुल’ लेखिएको डायरीको तस्बिरसँगै राखिएको क्याप्सनमा लेखिएको थियो, ‘डायरी हेरेको हो के, मोबाइल त लगिहाल्यो नि कुमार बेनले देख्नै हुन्न ।’ तस्बिर र क्याप्सन पोस्ट गर्ने व्यक्ति थिए– प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाह ।

‘आउट अफ कन्टेक्स्ट पोलिटिक्स २.०’ समसामयिक राजनीतिक घटनाक्रममाथि व्यंग्य र आलोचना गर्ने उद्देश्यले सञ्चालन गरिएको फेसबुक ग्रुप हो । ५० हजारभन्दा बढी सदस्य रहेको यही ग्रुपमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहले इनम सापकोटाको मोबाइल प्रकरणलाई लिएर व्यंग्यात्मक पोस्ट गरेका हुन् । यो समाचार तयार पार्दासम्म उक्त पोस्टमा सात सयभन्दा बढी रियाक्ट र एक सय ८० भन्दा बढी प्रतिक्रिया देखिन्थे ।

शाहको यो पोस्टको सम्बन्ध प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनमाथि उठेको प्रश्नसँग जोडिन्छ । इनम सापकोटाबाट बरामद मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि बेनको घरमा राखिएको दाबीसहितका समाचार सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

सेतोपाटीले कात्तिक १७ मा उच्च प्रहरी स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका इनम सापकोटाबाट बरामद दुईवटा मोबाइल फरेन्सिक परीक्षण हुनुअघि बेनले दुई दिनसम्म आफ्नै घरमा राखेका थिए । कात्तिक २७ मा प्रकाशित अर्को समाचारमा फरेन्सिक रिपोर्टलाई उद्धृत गर्दै असोज १६ गते राति करिब सवा ९ बजे मोबाइलको लोकेसन ललितपुरको ज्वागलस्थित बेनको निवासनजिक देखिएको उल्लेख थियो । मोबाइलबाट सामाजिक सञ्जाल प्रयोग भएको र केही सन्देश मेटिएको विवरण पनि उक्त समाचारमा समेटिएको थियो ।

यी विवरण सार्वजनिक भएपछि बेनको भूमिकामाथि वहस सुरु भएको थियो । मोबाइल फोन फरेन्सिक परीक्षणअघि उनको निवासमा पुगेको भनिएको विषयमा निष्पक्ष छानबिन र जवाफदेहिताको मागसमेत उठ्यो । यही प्रकरणलाई लिएर सडक प्रदर्शन पनि भएका थिए । सामाजिक सञ्जालमा भने बेनलक्षित व्यंग्य, ट्रोल र मिम बन्न थाले । यही विवादलाई लिएर बनेका मिमको हिस्सा बन्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिमले पनि व्यंग्यात्मक पोस्ट गरेका हुन् ।

तर यो ग्रुपमा अशिम शाह मात्रै सक्रिय छैनन् । विवादको केन्द्रमा रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन स्वयं पनि यही ग्रुपमा पोस्ट र कमेन्ट गरिरहेका छन् । ‘कुमार बेन’ नामको फेसबुक अकाउन्टबाट गत शुक्रबार (मंसिर ४) बिहान ८ बजेर ९ मिनेटमा ‘एडमिन प्लिज अप्रुभ’ भन्दै एउटा पोस्ट गरिएको थियो ।

यो समाचार तयार पार्दासम्म बेनको उक्त पोस्टमा दुई हजार ६ सयभन्दा बढी रियाक्ट, सात सय ३२ प्रतिक्रिया र ९३ सेयर देखिन्थे । उनी आफैँ पोस्ट गर्ने मात्र होइन, अरूले राखेका पोस्टमा पनि प्रतिक्रिया जनाइरहेका छन् ।

नोभेम्बर २१ राति ११ बजेर ३७ मिनेटमा ‘बिमर्श मिश्रा’ नामक अकाउन्टबाट ग्रुपमा एउटा पोस्ट राखिएको थियो । त्यसमा लेखिएको थियो, ‘तपाईंको घरमा कुमार बेन र सर्प एकैचोटि पस्यो भने पहिला कसलाई लखेट्नुहुन्छ?’ उक्त पोस्टमा बेनको प्रोफाइलबाट ‘विवेक मिश्र भन्देउ त’ भन्ने कमेन्ट गरिएको छ । विवेक मिश्र प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार हुन् ।

त्यस्तै, सागर पौडेल नामक प्रयोगकर्ताले नोभेम्बर २० मा दिउँसो ११ बजेर ५५ मिनेटमा ‘अनि हजुरहरूले कुन ब्रान्डको मोबाइल बोक्नुहुन्छ त?’ भन्ने पोस्ट राखेका थिए । त्यसमा बेनको आइडीबाट ‘जसले जुन इनाम दियो, त्यही नै मोबाइल चलाउँछु म’ भन्ने प्रतिक्रिया आएको थियो ।

यसरी इनम सापकोटाको मोबाइलसँग सम्बन्धित पोस्टहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेन ठट्टा र व्यंग्यात्मक प्रतिक्रियामा सहभागी भइरहेका देखिन्छन् । प्रधानमन्त्री शाहका अन्य सल्लाहकार र सचिवालयका सदस्य पनि यही विषयमा बनेका मिम र व्यंग्यात्मक पोस्टमा जोडिएका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुबास शर्माले पनि इनम सापकोटाको मोबाइल प्रकरणलाई लिएर व्यंग्यात्मक सामग्री पोस्ट गरेका छन् । नोभेम्बर २० मा दिउँसो १२ बजेर ११ मिनेटमा शर्माको फेसबुक आइडीबाट एउटा तस्बिर पोस्ट गरिएको थियो । तस्बिरमा कुमार बेन सोफामा बसिरहेका देखिन्छन् । उनीअगाडिको टेबलमा चारवटा मोबाइल फोन छन् भने उनको एउटा हातमा पनि मोबाइल देखिन्छ । तस्बिरको क्याप्सनमा लेखिएको छ, ‘मिसन कुमार बेन, आफ्नो फोनको सुरक्षा आफैँ गर्नु ल ।’

सत्तानिकट व्यक्तिहरू नै विवादसँग सम्बन्धित विषयलाई मिम र ठट्टामार्फत प्रस्तुत गर्न थालेपछि ग्रुपभित्रै त्यसको औचित्यमाथि कुरा उठेको छ । अनुसन्धान र छानबिनबाट टुंगो लाग्नुपर्ने गम्भीर विषयलाई सामाजिक सञ्जालमा हास्यव्यंग्यको विषय बनाउँदा जवाफदेहिताको प्रश्न ओझेलमा पर्ने भन्दै केही सदस्यले आलोचना गरेका छन् ।

‘हेमन्त एम. न्यौपाने’ नामक प्रयोगकर्ताले ‘जवाफदेहिता कहिलेदेखि मजाकको विषय बन्यो?’ शीर्षकमा पोस्ट गर्दै गम्भीर आरोपलाई मिम र ठट्टामार्फत हल्का बनाउने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । उनको तर्क छ, कसैमाथि आरोप लाग्दैमा सामाजिक सञ्जालमा त्यसलाई न्यायको माध्यम बनाउनुभन्दा स्वतन्त्र अनुसन्धानमार्फत तथ्य सार्वजनिक हुनुपर्छ ।

‘सामाजिक सञ्जाल कहिलेदेखि देशमा न्याय दिने मञ्च बन्यो? कसैमाथि अपराध वा अनियमितताको आरोप लाग्छ भने सरकारले स्वतन्त्र अनुसन्धान टोली बनाएर छानबिन गर्नुपर्छ । सत्यतथ्य बाहिर आउन दिनुपर्छ र कानुनलाई आफ्नो बाटोमा अघि बढ्न दिनुपर्छ,’ उनले लेखेका छन् ।

गम्भीर आरोपको जवाफ पारदर्शिता र विधिसम्मत अनुसन्धानबाट दिनुपर्नेमा हास्य र मिममार्फत दिइनु गलत भएको उनको भनाइ छ । उनले लेखेका छन्, ‘आरोपको जवाफ पारदर्शिता र विधिसम्मत अनुसन्धानमार्फत दिनुपर्छ, हास्य र मिममार्फत होइन । जवाफदेहिता मजाक होइन र जनताका चासोलाई पनि मजाकका रूपमा लिनु हुँदैन ।’

सामाजिक सञ्जालमा मिम र ट्रोलमार्फत सार्वजनिक प्रश्नबाट ध्यान मोड्न खोजिएको भन्दै सामाजिक अभियन्ता अंशुदा पौडेलले पनि सरकारको आलोचना गरेकी छन् । सोमबार इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै उनले सरकार र त्यसको टिमले जवाफदेहिता कसरी छल्ने भन्ने ‘मास्टर क्लास’ नै दिएको टिप्पणी गरेकी छन् ।

उनका अनुसार सरकारले सुशासनको प्रश्नमा आफैँले भद्दा मजाक गरेपछि त्यसबाट जनताको ध्यान मोड्न मिममार्फत उनीहरूसँग नजिकिन खोजेको देखिन्छ । ‘सरकार र यसको टिमबाट जवाफदेहिता कसरी छल्ने भन्ने मास्टर क्लास नै लिनुपर्ने देखियो । पहिले आफैँले सुशासनको भद्दा मजाक बनाउने, अनि त्यसबाट जनताको ध्यान मोड्न मिम बनाएर उनीहरूसँग रिलेटेबल हुन खोज्ने प्रवृत्ति देखियो,’ उनले भनेकी छन् ।

सुकुम्बासी विस्थापन, बाढी प्रभावितको पुनःस्थापना र आन्दोलनकारीको रिहाइजस्ता गम्भीर विषय ओझेलमा पारेर सरकारले मिममार्फत जनताको ध्यान अन्यत्र मोड्न खोजेको पौडेलको तर्क छ । सार्वजनिक चासोका विषयमा सरकार र त्यसका जिम्मेवार व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्नेमा उनीहरू नै व्यंग्य र ठट्टामा रमाउनु जवाफदेहिताबाट पन्छिने प्रयास भएको उनको आलोचना छ ।

सञ्जालमा चौतर्फी आलोचना भएपछि सन्दर्भ मोड्न सामाजिक सञ्जालमा यस्तो पोस्ट गरेको हो ? भन्ने विषयमा बुझ्न कान्तिपुरले कुमार बेनलाई प्रश्न गर्‍यो । तर उनले यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसहित चार जनालाई पक्राउ गर्न माग

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनसहित चार जनालाई पक्राउ गर्न माग

प्रधानमन्त्रीको सचिवालयमाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिन र कारबाहीको माग, प्रधानमन्त्रीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने चेतावनी

#सल्लाहकार #प्रधानमन्त्रीका
Compare →
Hamro Patro News
1w ago
शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश

शाहको फेसबुक पोस्टले फोहोर संकलन रोकिएको मुद्दामा सर्वोच्चले दियो ११ बुँदे निर्देशनात्मक आदेश सिंहदरबार, शीलत निवास र बालुवाटारको फोहोर संकलन रोक्दै काठमाडौं महानगरका तत्कालीन मेयर वालेन्द्र शाहले...

#फेसबुक
Compare →
Onlinekhabar
1w ago
प्रधानमन्त्रीको नीजि सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक

प्रधानमन्त्रीको नीजि सचिवालयमा ५ सल्लाहकार, २ स्वकीय र ५ संयोजक

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नीजि सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ । कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा …

#सल्लाहकार
Compare →
Bizshala
1w ago
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको नियुक्तिपत्र खल्तीमा, सरकारविरुद्ध सर्वोच्चमा मुद्दा, कार्कीको दोहोरो कदमले तरंग

काठमाण्डौ । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा...

#सल्लाहकार
Compare →
Arthasansar
1w ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#प्रधानमन्त्रीका #सल्लाहकार
Compare →

Related Stories

Politics & Governance
Build #2625