चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) सम्मका आर्थिक सूचकहरूले नेपाली अर्थतन्त्रमा दोहोरो चरित्र देखाएका छन् । एकातिर बाह्य क्षेत्र ऐतिहासिक रूपमै सबल बन्दै गएको छ भने अर्कोतिर आन्तरिक आर्थिक गतिविधिमा अपेक्षित चलायमान देखिन सकेको छैन ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति निकै मजबुत अवस्थामा छन् । तर, बैंकिङ प्रणालीमा पर्याप्त तरलता र निकै सस्तो ब्याजदर हुँदाहुँदै पनि निजी क्षेत्रको कर्जा मागले गति लिन सकेको छैन । यसका विपरीत, अघिल्लो वर्षको तुलनामा उपभोक्ता मूल्यवृद्धि (महँगी) चार गुणाभन्दा बढीले उकालो लाग्दा आम नागरिकको भान्सा र यातायात खर्च निकै महँगिएको छ ।
एक वर्षको अन्तरालमा बजारभाउ आकासिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । २०८३ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत कायम भएको छ, जुन गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा जम्मा १.४७ प्रतिशतमा सीमित थियो । चालु आवको पहिलो तीन महिनाको औसत मुद्रास्फीति ६.२२ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष यो दर १.६७ प्रतिशत मात्र थियो ।
महँगी यति उच्च दरले बढ्नुको मुख्य कारक खाद्य तथा पेय पदार्थ समूह हो । गत वर्ष असोजमा २.५४ प्रतिशतले ऋणात्मक रहेको यस समूहको मूल्यवृद्धि चालु आवको असोजमा ८.०४ प्रतिशत पुगेको छ । विशेषगरी भान्सामा दैनिक प्रयोग हुने घ्यू तथा तेलको मूल्य १६.४४ प्रतिशत र फलफूलको १५.४६ प्रतिशतले बढेको छ । त्यस्तै, चिनी तथा चिनीजन्य परिकारमा ११.८४ प्रतिशत, माछामासुमा ८.९१ प्रतिशत र तरकारीमा ७.२८ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ३.८० प्रतिशतबाट उक्लिएर ५.४६ प्रतिशत पुगेको छ, जसमा यातायात खर्च १२.९७ प्रतिशत र मदिराजन्य पेय पदार्थ ८.८३ प्रतिशतले महँगिएको छ ।
रेमिट्यान्स बढ्दा चालु खाता र शोधनान्तर बचतमा उछाल
आन्तरिक बजार महँगीको चपेटामा परिरहँदा मुलुकको बाह्य क्षेत्रलाई भने रेमिट्यान्सले बलियो आड दिएको छ । चालु आवको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ भित्रिएको छ । अमेरिकी डलरमा समेत रेमिट्यान्स १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ । असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएर मासिक आप्रवाहमा नयाँ कीर्तिमान कायम भएको छ । यसअघि २०८३ वैशाखमा भित्रिएको २ खर्ब ५७ अर्ब रुपैयाँ नै हालसम्मको उच्च रेमिट्यान्स थियो ।
उच्च रेमिट्यान्सकै कारण वैदेशिक व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड पुग्दा पनि बाह्य सन्तुलनमा दबाब परेको छैन । समीक्षा अवधिमा निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड पुगेको छ भने आयात ३८.२ प्रतिशतको वृद्धिसहित ६ खर्ब ४६ अर्ब ७८ करोड पुगेको छ । खुद सेवा आय १९ अर्ब ५५ करोडले घाटामा रहे पनि रेमिट्यान्स र द्वितीय आयको टेवामा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा छ । गत वर्ष चालु खाता २ खर्ब २८ अर्ब बचतमा थियो । यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड (१ अर्ब ९८ करोड अमेरिकी डलर) ले बचतमा पुगेको छ । जुन गत वर्ष २ खर्ब ६४ अर्ब ३ करोड बचतमा थियो ।
विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो
शोधनान्तर स्थितिमा देखिएको लगातारको बचतले विदेशी विनिमय सञ्चितिलाई नयाँ उचाइमा पुर्याएको छ । २०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको कुल सञ्चिति तीन महिनामै ६.८ प्रतिशतले बढेर असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर कायम भएको छ ।बैंकिङ क्षेत्रसँग रहेको यो सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको आकलन छ ।
यद्यपि, सञ्चिति रकम बढे पनि आयातको आयत उच्च दरले बढेकाले सञ्चिति पर्याप्तताको अवधिमा भने सामान्य गिरावट देखिएको छ ।
सस्तो ब्याजदरले पनि तान्न सकेन कर्जा, बदलियो निक्षेपको संरचना
बहुमतको स्थिर सरकारले समेत निजी क्षेत्रको आत्मविश्वास पूर्ण रूपमा जगाउन नसक्दा कर्जा विस्तार सुस्त देखिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि ब्याजदर निकै तल झरेको छ । गत वर्ष असोजको तुलनामा चालु आवको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर (बेस रेट) ५.५६ प्रतिशतबाट घटेर ४.६९ प्रतिशतमा आइपुगेको छ ।यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ बाट ३.०७ प्रतिशतमा र कर्जाको ब्याजदर ७.५० बाट ६.३१ प्रतिशतमा झरेको छ ।
विकास बैंक र वित्त कम्पनीहरूको औसत कर्जा ब्याजदर पनि क्रमशः ७.५९ र ८.३७ प्रतिशत कायम भएको छ । ९१–दिने ट्रेजरी बिलको ब्याजदर १.०१ प्रतिशत र अन्तरबैंक दर २.७५ प्रतिशतमा सीमित छ ।
ब्याजदर सस्तिएपछि निजी क्षेत्रतर्फको कर्जा विस्तारमा अघिल्लो वर्षको तुलनामा सामान्य सुधार भने देखिएको छ । तीन महिनामा निजी क्षेत्रतर्फ ३.१ प्रतिशत अर्थात् १ खर्ब ८४ अर्ब १९ करोड रुपैयाँ कर्जा विस्तार भई कुल कर्जा ६० खर्ब ४१ अर्ब २५ करोड पुगेको छ । गत वर्ष सोही अवधिमा जम्मा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड) मात्र कर्जा बढेको थियो । वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रको कर्जा ८.३ प्रतिशतले बढेको छ । क्षेत्रगत रूपमा खनिजमा १७.८, यातायात उपकरण उत्पादन तथा मर्मतमा १२.४ र धातुजन्य तथा विद्युतीय सामान उत्पादनमा १०.७ प्रतिशतले कर्जा बढ्दा कृषि क्षेत्रको कर्जा भने २.५ प्रतिशतले खुम्चिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २.८ प्रतिशत (२ खर्ब ३२ अर्ब ८९ करोड) ले बढेर ८५ खर्ब ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । निक्षेपको ब्याजदर ३ प्रतिशतको हाराहारीमा झर्नु र महँगी ६ प्रतिशत नाघ्नुले निक्षेपकर्ताको वास्तविक ब्याजदर ऋणात्मक बनेको छ । जसले पुँजी पलायनको जोखिम बढाएको छ ।
न्यून ब्याजदरकै कारण निक्षेपकर्ताहरू लामो अवधिको मुद्दती खाताबाट साधारण बचततर्फ सरेका छन् । गत वर्ष असोजमा कुल निक्षेपमा ४६.४ प्रतिशत हिस्सा रहेको मुद्दती निक्षेप चालु आवको असोजमा ३४ प्रतिशतमा खुम्चिएको छ भने बचत निक्षेपको हिस्सा ३८.७ प्रतिशतबाट बढेर ४९.३ प्रतिशत पुगेको छ । बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले तीन महिनाको अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत ५५ खर्ब ९५ अर्ब २० करोड रुपैयाँ प्रशोचन (बजारबाट खिचेको) गरेको छ ।