साँगु खोला १ जलविद्युत र साँगु खोला जलविद्युतबाट २०८२ देखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ ।
काठमाडौँ — हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ देखि आईपीओ जारी गर्ने भएको छ ।
यसले अंकित मूल्य एक सय रूपैयाँको आईपीओ जारी गर्ने भएको हो ।
यसको सेयरमा मंसिर २३ गतेसम्म आवेदन दिन पाइनेछ । यदी सो अवधिमा सेयर बिक्री नभएमा भने पुस ३ गतेसम्म यसको बिक्री खुला रहनेछ । १० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणको लागि ३४ लाख ६४ हजार ५ सय कित्ता सेयर छुट्याएको छ ।
सेयर जारी पछि यसको चुक्ता पुँजी एक अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूलाई सेयर जारी गरिसकेको छ ।
यसले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेकाका लागि ४ लाख २२ हजार ५ सय कित्ता सेयर निष्कासन गरिसकेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड छ ।
यसले सेयर बिक्रीबाट उठेको रकम ऋण तिर्न र ठेकोदारको बाँकी रकम भुक्तानीमा खर्चिने भएको छ ।
यसले सिटिजन्स बैंकबाट लिएको ४७ करोड ७६ लाख रुपैयाँ बराबरको ऋण तिर्ने भएको छ । ठेकोदारलाई ११ करोड ३८ लाख भुक्तानी गर्ने भएको छ ।
हिम पर्वत लिमिटेडले दोलखामा दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २० मेगावाटको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको साँगु खोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
साँगु खोला १ जलविद्युत र साँगु खोला जलविद्युतबाट २०८२ देखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ । यी दुवै आयोजनाको अनुमति अवधि २१११ सम्म छ ।
प्रतिमेगावाट करिब २० करोड ९१ रुपैयाँ लागतमा साँगु खोला १ जलविद्युत र करिब १८ करोड २५ लाख रुपैयाँ लागतमा साँगु खोला जलविद्युत आयोजना निर्माण भएको हो ।
कम्पनीले २०८२-८३ मा १७ करोड रूपैयाँ नाफा कमाएको छ । विद्युत विक्रीबाट ५७ करोड रूपैयाँ आम्दानी गरेको छ । करिब २० करोड रुपैयाँ बराबर रकम ऋणको ब्याज तिर्न प्रयोग भइरहेको छ ।
यसको प्रतिसेयर नेटवर्थ एक सय १५ रुपैयाँ ०५ पैसा छ । यही नेटवर्थ कायम रहेमा यसले नेप्सेमा पहिलो कारोबारको लागि करिब एक सय १५ देखि ३ सय ४६ रुपैयाँको मूल्य रेञ्ज पाउन सक्छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा छ ।
यसको संस्थापकहरूमा अवसर इक्विटि फण्ड, हिमाल गुरूङ लगायत छन् । फण्डको ४३.६१ प्रतिशत र गुरूङको १९.५९ प्रतिशत सेयर स्वामित्व छ ।
कम्पनीको साँगु खोला जलविद्युत्को साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र साँगु खोला १ को यस्तो अवधि ६.२९ वर्ष छ ।
साधारण लगानी फिर्ता हुने अवधि भनेको कुनै आयोजनामा गरिएको सुरुवाती लगानी बराबरको रकम आम्दानीबाट फिर्ता हुन कति समय लाग्छ भनेर गरिने मापन हो । यसले लगानी गरेको रकम कति वर्षमा उठ्छ भन्ने देखाउँछ । यसमा समयअनुसार पैसाको मूल्यमा हुने परिवर्तन भने लिएको हुँदैन् ।
त्यस्तै, साँगु खोला जलविद्युतबाट डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष र साँगु खोला १ को यस्तो अवधि ९.५६ वर्ष छ । डिस्काउण्ट लगानी फिर्ता हुने अवधि भविष्यमा प्राप्त हुने आम्दानीलाई वर्तमान मूल्यमा रूपान्तरण गरेर हिसाब गरिन्छ । अर्थात्, समय बित्दै जाँदा पैसाको मूल्य घट्ने पक्षलाई समेत ध्यानमा राखिन्छ ।
साँगु खोला १ को आन्तरिक प्रतिफल दर (आइआरआर) १२.२६ प्रतिशत र साँगु खोलाको यस्तो दर १३.५२ प्रतिशत छ । आन्तरिक प्रतिफल दरले आन्तरिक प्रतिफल दर भनेको कुनै आयोजनामा गरिएको लगानीबाट भविष्यमा कति प्रतिफल प्राप्त हुन सक्छ भनेर गरिने हिसाब हो । आयोजनाले आफ्नो सञ्चालन अवधिभर वार्षिक औसत कति प्रतिशत प्रतिफल दिन सक्ने सम्भावना छ भन्ने देखाउँछ । तर, यो निश्चित रूपमा प्राप्त हुने प्रतिफल होइन । आयोजनाको आम्दानी, खर्च, उत्पादन, बजार मूल्य र सञ्चालन अवस्थालगायतका आधारमा गरिएको अनुमानित हिसाब हो ।