कारोबार रकमको आधारमा हेर्दा समूह फेर्ने रणनीतिमा लगानीकर्ता देखिएको होकी भन्न सकिने अवस्था बनेको छ ।
काठमाडौँ — लामो समयदेखि बैंकिङ समूहले प्रतिरोध सामाना गरिरहेपछि लगानीकर्ताहरूले लगानी क्षेत्र फेर्न खोजेको जस्तो देखिएको छ ।
कारोबार रकमको आधारमा हेर्दा समूह फेर्ने रणनीतिमा लगानीकर्ता देखिएको होकी भन्न सकिने अवस्था बनेको छ ।
विशेषगरी बैंकिङ समूह धेरै अघिदेखि १६१८ विन्दु आसपासमा आएर प्रतिरोध परिक्षण गरिरहेको छ । पटक पटक यो विन्दुमा पुग्दै बैंकिङ समूह फर्किएको छ ।
बुधबार पनि कारोबार अवधिमा पटक पटक यो समूह १६१७ सम्म ओर्लिएर बढ्ने प्रयासमा देखिएको थियो । केही समय १६२७ विन्दुसम्म पुगेको यो समूहले त्यो वृद्धि कायम गर्न सकेन । बजार बन्द हुँदा भने यो समूह १६२० आ आएको छ । १६१८ को तह अझै प्रतिरोधको रूपमा देखिदा लगानीकर्ताहरू अन्यत्र सर्न लागेको जस्तो देखिएको हो ।
मंगलबार कुल कारोबार रकम बैंकिङ समूहको हिस्सा करिब ३० प्रतिशत रहेकोमा बुधबार यस्तो हिस्सा २९ प्रतिशतमा झरेको छ ।
बैंकिङ समूहमा कारोबार रकम घट्दा यसको प्रत्यक्ष लाभ जलविद्युत समूहमा देखिएको छ । मंगलबार कुल कारोबारमा जलविद्युत समूहको हिस्सा ३६ प्रतिशत रहेकोमा बुधबार यो हिस्सा बढेर ४९ प्रतिशत पुगेको छ ।
हाइड्रोपावर कम्पनीहरूको समूहगत परिसूचक ३५८६ विन्दुबाट बढ्ने प्रयासमा छ । यसले एक वर्षको अवधिमा ४१२९ मा उचाई बनाएकोमा त्यसपछि घटेर ३४३७ सम्म झरेको थियो । बुधबार यो परिसूचक ३६३४ विन्दुमा छ ।
बजार वृद्धिको दिशामा रहँदा सबैभन्दा धेरै चलायमान हुने क्षेत्र नै जलविद्युत समूह भएकोले पनि जोखिम लिने अल्पकालिन लगानीकर्ताको रोजाईमा यो क्षेत्र पर्ने गर्छ । उच्च उतारचढाव हुने यो क्षेत्रमा जोखिम पनि त्यतिकै हुन्छ ।
दीर्घकालिन लगानी गर्नेहरूले भने वाणिज्य बैंकहरूलाई प्राथमिकतामा राख्दै आएका छन् ।