Trending
Prev Story
Next Story

भन्सार छलीका सामान ‘भान्छादेखि बजारसम्म’

Ekantipur •
October 23, 2026 • 06:00 AM
1
1 reads 0 reactions

सीमावर्ती जिल्लाका सुरक्षा प्रमुख तस्करी नियन्त्रणलाई प्राथमिकता दिएको बताउँछन् । तर भन्सार छलीका सामान भित्रिने क्रम थामिएको छैन । व्यवसायी भने तस्करीका कारण आफ्नो व्यापार प्रभावित भइरहेको गुनासो गर्छन् ।

भन्सार छलीका सामान ‘भान्छादेखि बजारसम्म’

सीमावर्ती जिल्लाका सुरक्षा प्रमुख तस्करी नियन्त्रणलाई प्राथमिकता दिएको बताउँछन् । तर भन्सार छलीका सामान भित्रिने क्रम थामिएको छैन । व्यवसायी भने तस्करीका कारण आफ्नो व्यापार प्रभावित भइरहेको गुनासो गर्छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका अंगद मुराउ गत १८ जेठमा भारतबाट मोटरसाइकलमा खुर्सानी र पिँडालु ल्याएर आइरहेका थिए । स्थानीय बर्गदवा–पुर्निहवा सडक खण्डमा सशस्त्र प्रहरीको छड्के ‘चेकिङ’ देखेपछि उनी रोकिए । सशस्त्र प्रहरीले ‘रोक्–रोक्’ भनेपछि मुराउले मोटरसाइकलमा आगो लगाए ।

भाग्ने प्रयास विफल भएपछि उनले मोटरसाइकलमा आगो लगाएको प्रहरीको भनाइ छ । तरकारी ओसार्न प्रयोग गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आगो लगाउँदा साढे दुई क्विन्टल खुर्सानी र पिँडालु पनि आधा जल्यो ।

गत २५ कात्तिकमा यशोधरास्थित सीमा क्षेत्रको मर्यादपुर प्रहरी चौकीनजिकै २ सय १८ बोरा युरिया मल बरामद भयो । भन्सार छलेर भित्र्याइएको मल सुठौंली भन्सार कार्यालयले बरामद गरेको थियो । दशगजाबाट एक सय मिटर नेपालतर्फ बेवारिसे अवस्थामा मल फेला परेको थियो । तर मल ओसारपसारमा संलग्न व्यक्ति फेला परेनन् ।

रूपन्देहीको बेथरीमा एक वर्षअघि ट्रकमा तस्करीका सामान ओसारिरहेको जानकारीपछि सशस्त्र र नेपाल प्रहरीको टोली पुग्यो । नियन्त्रणमा लिन खोज्दा जथाभाबी ट्रक चलाएपछि प्रहरीले भागेर ज्यान जोगाउनुपर्‍यो । लुम्बिनी–भैरहवा खण्डअन्तर्गत बेथरीमा ट्रक जोगाउने र नियन्त्रणमा लिने पक्षबीच भएको घम्साघम्सीको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बन्यो ।

प्रहरी अधिकारीका अनुसार तस्करीमा संलग्नले आफ्नै सूचना संयन्त्र बनाएका हुन्छन् । प्रहरी आए/नआएको निगरानी गर्छन् । प्रहरी देख्नासाथ सञ्जालमा सूचना फैलाउँछन् । जसले गर्दा तस्करीका सामान बरामद भए पनि संलग्न व्यक्ति उम्किन्छन् । ती अधिकारीका अनुसार पक्राउ परे पनि प्रायः भरिया हुन्छन् ।

यस्ता घटना सीमामा सामान ओसार्ने र पक्राउबाट जोगिने तस्करीको शैलीका उदाहरण हुन् । विभिन्न नाकाबाट प्रशासनको आँखा छलेर भित्र्याइएका सामान सीमाक्षेत्रमै थन्किँदैनन् । सर्वसाधारणको भान्छादेखि मुलुकका ठूला सहरसम्म पुग्छन् । एकैपटक धेरै सामान भन्सार छलेर भित्र्याउन सम्भव नहुने भएकाले थोरै–थोरै मात्रामा ल्याएर गोदाममा राख्ने गरिन्छ । गोदामबाट बजारमा पठाउने गरिएको सुरक्षा अधिकारी बताउँछन् ।

पर्साको वीरगन्जस्थित सिर्सिया नाकामा केही साताअघि सशस्त्र प्रहरीले भारतबाट कपडा ओसारिरहेको महिला समूहलाई रोकेपछि तनाव भयो । एक महिलाले सशस्त्रका जवानको औंला भाँचिदिइन् । एक दर्जन व्यक्तिले सुरक्षाकर्मीलाई घेरा हाले ।

वीरगन्जबाट महिला र बालबालिकाको प्रयोग गरी दैनिक उपभोग्य वस्तुदेखि कपडा, मोबाइल र लागूऔषध भित्र्याउने गरिएको सुरक्षाकर्मी बताउँछन् । बिहान झिसमिसेदेखि रातिसम्म टाउकोमा सामान बोकेर खेत, आली र सिर्सिया नदी हुँदै नेपाल प्रवेश गर्छन् ।

कतिपयले सुरक्षाकर्मीको आँखा छलेर २४ देखि ४८ घण्टासम्म नाकामै बसेर सामान भित्र्याउने गर्छन् । सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीले महिला, बालबालिका र पुरुष गरी पर्सामा ५ सय व्यक्ति पोके तस्करीमा संलग्न रहेको बताए । उनका अनुसार वीरगन्जको अलौ नाकाबाट दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको तस्करी हुने गरेको छ । ‘संगठित तस्करी नियन्त्रणमा आए पनि पोके तस्करी चुनौती बनेको छ,’ उनले भने ।

तस्करीका सामान वीरगन्ज आसपासका बजारदेखि बाराको जितपुर–सिमरासम्म पुग्छन् । पोके तस्करीमा संलग्नले दिनमा ८ सयदेखि १ हजार रुपैयाँसम्म कमाउँछन् ।

कपिलवस्तुमा तस्करी गरेर भित्र्याइएका सामान कृष्णनगर, तौलिहवा, चन्द्रौटा, बर्रोहिया, महाराजगन्जलगायतका बजारमा पुग्छन् । कम्प्युटर पार्ट्स बुटवल–भैरहवासम्म पुर्‍याइन्छ । तराईका जिल्लामा मागअनुसार तस्करी गराउने व्यक्ति र समूह हुन्छन् । नाकाअनुसार तस्कर सक्रिय हुने सुरक्षाकर्मी बताउँछन् । आफैं लगानी गरी सामान ल्याउँदै तस्करले थोरै नाफा राखेर पसलेलाई बिक्री गर्छन् ।

कपिलवस्तुमा पनि तस्करीमा संलग्न मुख्य व्यक्ति विरलै पक्राउ पर्छन् । पक्राउ पर्ने अवस्थामा सामान छाडेर भाग्छन् । आक्कल–झुक्कल भरिया पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ ।

रौतहटमा भारतबाट भन्सार छलेर ल्याएका सामान जिल्लाभित्रै भण्डारण गरिन्छ । केही व्यापारीले मोटरसाइकलमा गाउँ–गाउँ डुलाएर पनि बिक्री गर्छन् । तस्करीमा संलग्न अधिकांश मजदुरीमा निर्भर व्यक्ति हुन्छन् । उनीहरूले चिनी ल्याउँदा प्रतिकिलो २/३ रुपैयाँ लिन्छन् । खाद्यान्नमा पनि किलोका हिसाबले रकम लिने गरेको गौरका एक व्यापारीले सुनाए । उनले भने, ‘उनीहरू सीमाक्षेत्रका विपन्न बासिन्दा हुन् । पोके तस्करी गरेर जीविका चलाउँछन् ।’

गौर भन्सार कार्यालयका अनुसार कपडामा भ्याटसहित २९ र मोबाइलमा १८ प्रतिशतसम्म भन्सार महसुल लाग्छ । जिल्ला प्रहरी रौतहटका डीएसपी वसन्त गौतम भारतबाट पोका पारेर सामान ओसार्नेले सुरक्षाकर्मीलाई झुक्याउने गरेको सुनाउँछन् । यसरी सामान ओसार्ने कोही पक्राउ परे भने उनीहरू मुख्य व्यक्तिको नाम पोल्दैनन् । ‘घरका लागि हो भन्दै झुक्याउँछन्,’ उनले भने, ‘मोटरसाइकलसहित पक्राउ परेकाले समेत तस्करी गराउनेको नाम लिँदैनन् ।’

व्यापारीहरूका अनुसार नेपाली बजारको तुलनामा भारतीय बजारमा चिनी प्रतिकिलो ६४ भारतीय रुपैयाँ र खानेतेल प्रतिलिटर २० देखि ३० रुपैयाँ सस्तो पर्ने गर्छ । कपडामा प्रतिगोटा ३ सयदेखि ४ सय रुपैयाँसम्म र मोबाइलमा ४ देखि ५ हजार रुपैयाँसम्म मूल्य अन्तर हुने उनीहरूको भनाइ छ ।

सीमावर्ती बासिन्दा दैनिक आवश्यकताका सामग्री भारतीय बजारबाट खरिद गरेर ल्याउँछन् । उनीहरू चिनी, चियादेखि नुन, स्याम्पु, साबुन, टुथब्रस–मन्जन, दाल–चामल, पेय पदार्थका साथै लत्ताकपडा खरिद गर्न भारतीय बजार पुग्छन् । यस्ता सामान ल्याउन रोकटोक छैन । यही छुटको फाइदा उठाएर केहीले व्यावसायिक लाभको उद्देश्यसहित सामान तस्करी गर्दै आएका छन् । रौतहटमा कुखुरा तस्करी नियमित रूपमा भइरहेको देखिन्छ । कुखुराको तस्करी नियन्त्रणको माग गर्दै जिल्लास्थित पोल्ट्री व्यवसायीले आन्दोलन नै गर्दै आएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले ठूला कन्टेनर वा ट्रकबाट हुने तस्करी रोकिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सीताराम रिजालले थोरै–थोरै गरेर दिनभरिमा सामान भित्र्याउनेका कारण तस्करी नियन्त्रणमा चुनौती भइरहेको बताए । ‘फेला पारेसम्म नियन्त्रणमा लिएर भन्सार बुझाउँछौं,’ उनले भने, ‘सीमाक्षेत्रमा कडाइ गर्न थालेपछि एउटा न एउटा बहाना बनाउन थाल्छन् ।’

लुम्बिनी प्रदेशका सीमावर्ती ६ जिल्लामा पनि भन्सार छलेर भारतबाट भित्र्याइने घरायसी उपयोगका सामान प्रत्येक दिन बरामद हुने गरेका छन् । सागपात, फलफूल, तरकारी, पशुपक्षीदेखि मोबाइल, कम्प्युटर पाटर््स, टेलिभिजन, वासिङ मेसिन, एयर कन्डिसनर तथा विद्युतीय उपकरण तस्करी हुने गरेको प्रहरीको विवरण छ । जुत्ता–चप्पल, कुर्ता–सुरुवाल, चिनी र विभिन्न खाद्यान्न पनि भन्सार छलेर ल्याइने सामग्रीमा पर्छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट केही साताअघि खटिएको टोलीले बर्दियाको मधुवनस्थित कोठियाघाटबाट भन्सार छलीका कुर्ता–सुरुवाल ७० थान, थान कपडा ३० थान, वाकर ३५ थान, सर्ट–पाइन्टका कपडा ३५ थान, खुर्सानी पटाका २० थान, ग्रिनेट पटाका १ हजार थान, साइकल ६ र डुंगा दुई थान नियन्त्रणमा लिएको थियो । त्यस्तै पश्चिम नवलपरासीको सरावलस्थित भन्सार टोलबाट प्रहरीले भन्सार छलेर भित्र्याइएका एक करोड रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद गरेको थियो ।

भारतबाट लु३च २९३९ नम्बरको पिकअप गाडीमा ल्याउँदै गर्दा जिल्ला प्रहरीले मोबाइल पार्टस बरामद गरेको प्रहरी नायब उपरीक्षक मदन थापाले बताए । उनका अनुसार तस्करीमा संलग्नले १ हजार ७ सय ६५ थान सेतो रङको एयर पड्स, ६ सय ३३ थान कालो रङको एयर पड्स, ३ हजार ८ सय थान कालो रङको टेम्पर ग्लास, ४ हजार ५ सय थान सेतो टेम्पर ग्लास र ९ सय ३० थान मोबाइल पिकअप गाडीमा भित्र्याएका थिए ।

पश्चिम नवलपरासीस्थित सीमा क्षेत्रमा गरिने सुरक्षा जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटरका सीपीयू प्रोसेसर, मोटरसाइकलका पार्टपुर्जा, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायतका सामान बरामद हुने गरेका छन् । ‘तस्करीमा प्रयोग गरिएका भ्यान, टाँगा र घोडासमेत नियन्त्रणमा लिइएको छ,’ डीएसपी थापाले भने, ‘पोके तस्कर परिचालन गरेर सीमामा भण्डारण गरेर गाडी–घोडामा ओसार्ने गरेको पाइन्छ ।’

रूपन्देहीको मायादेवी गाउँपालिकामा गत २२ भदौमा भन्सार छलेर भारतबाट ल्याइएका साढे १५ लाख मूल्य बराबरका रोलगोल्डका गहना प्रहरीले बरामद गर्‍यो । जिल्ला प्रहरीबाट खटिएका सादा पोसाकका प्रहरीले जाँच गर्ने क्रममा गहना बरामद गरेको जिल्ला प्रहरीका डीएसपी कृष्णकुमार चन्दले बताए । इलाका प्रहरी बुटवलको टोलीले स्थानीय विकासपथबाट करिब १२ लाख मूल्य बराबरका कुर्ता–सुरुवाल र बच्चाका फ्रकलगायत बरामद गरेको थियो ।

जिल्ला प्रहरी रूपन्देहीले गत १३ भदौमा मायादेवीको कुट्टाबाट साढे १४ लाख मूल्यको औषधि बरामद गरेको थियो । लु२च ६३४८ नम्बरको पिकअप गाडीमा ल्याइएको आधा दर्जनभन्दा बढी कम्पनीका औषधि नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए । ‘सीमावर्ती भारतीय बजारबाट कपडा, दाल, तोरी, चिनी, औषधि, विभिन्न ब्रान्डका पेय पदार्थ भन्सार छलेर भित्र्याउने गरेको पाइएको छ,’ उनले भने, ‘विद्युतीय उपकरण पनि बरामद भइरहेका छन् ।’

बाँकेमा पनि लत्ताकपडा, खाद्यान्नसँगै भारतबाट लागूऔषध, हार्डवेयर, मोबाइल, गाडीका पाटर्र््सको तस्करी पूर्ण रूपमा रोकिएको छैन । सीमा क्षेत्रबाट प्रहरीले दैनिक चोरी पैठारी र तस्करीका सामान बरामद गरिरहेको छ । जिल्लाका मुख्य तथा सहायक नाकाबाट लत्ताकपडा र खाद्यान्न भित्र्याउने गरिएको सुरक्षा निकायले जनाएको छ ।

नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक नाका हो । सशस्त्र प्रहरीले नेपालगन्जसहित मुख्य तथा सहायक नाकामा नियमित गस्ती, जाँच र निगरानीमा कडाइ गरेको जनाएको छ । सशस्त्र प्रहरीले नाकामा तालिमप्राप्त कुकुर परिचालन गरेको छ । ‘अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र जाँचसँगै तालिमप्राप्त कुकुरको प्रयोग भइरहेको छ,’ सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले भने, ‘सीमा क्षेत्रमा बढाइएको निगरानीको मुख्य प्राथमिकतामा लागूऔषध नियन्त्रणसमेत रहेको छ ।’

कपिलवस्तुमा भारतबाट सबैभन्दा बढी चिनी र मलखाद भित्रिने गरेको छ । यहाँका व्यवसायीका अनुसार तस्करी गर्दा चिनीमा १५ देखि २० रुपैयाँ नाफा हुन्छ । ५० किलो मलको बोरामा ४/५ सय बढी आम्दानी हुने गरेको छ । कपिलवस्तुका खुनवा, हर्दौना, कुशहवा बढनी, भिल्मी, बगही, सिर्सिहवा, ठकुरापुर, ननवा, रंगपुर, गौरा, चाकलचौडा र हथिहवा दोहनी नाकाबाट भन्सार छलेर सामान भित्र्याउने गरिएको छ ।

कर्जन्हवाका हरिराम पालका अनुसार तस्करले रंगपुर नाकाबाट साँझ र राति चोरी तस्करी गरेर सामान ओसार्ने गर्छन् । जिल्ला प्रहरी कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह तस्करी नियन्त्रणका लागि कडा कदम चालेको दाबी गर्छन् ।

कञ्चनपुरमा ब्रह्मदेवदेखि दक्षिणी क्षेत्र पुनर्वाससम्म नेपाल–भारत ओहोरदोहोर गर्ने नाका छन् । तिनै नाकाबाट साइकल, मोटरसाइकल र चारपांग्रे गाडीमा तस्करी हुने गरेको पाइन्छ । यससँगै लागूऔषध ठूलो मात्रामा तस्करी हुने गरेको प्रहरीको भनाइ छ । दिनमा एक/दुई जना पक्राउ भइरहेको कुराले पनि लागूऔषध कति भित्रिरहेको भन्ने पुष्टि हुन्छ ।

‘भारतबाट लत्ताकपडा र हार्डवेयरका सामान बढी मात्रामा तस्करी भइरहेको छ,’ महेन्द्रनगरका एक व्यवसायीले भने, ‘देखिने गरी साइकल–मोटरसाइकलमा थोरै मात्रामा सामान भित्रिरहेको छ ।’

उनका अनुसार चिनी, चामल, दाल, खानेतेल र चिसो पेय पदार्थलगायतका सामान भित्रिने गरेका छन् । ‘रातिको समयमा ठूलो परिमाणमा चिनी तस्करी भइरहेको छ,’ दोधारा चाँदनीका एक स्थानीयले भने ।

कञ्चनपुर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको जनाएको छ । गत आर्थिक वर्ष भन्सारले ६९ करोड २ लाख राजस्व संकलनको लक्ष्य प्राप्त गरेको थियो । तर, ६२ करोड १० लाखमात्र संकलन भयो । चालु वर्षको पहिलो दुई महिनामा १० करोड ५७ लाख लक्ष्य प्राप्त गरेकामा १० करोड ४५ लाख संकलन भएको कञ्चनपुर भन्सारका सूचना अधिकारी चक्रदेव भट्टले बताए ।

भन्सार छली नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरीले नियमित गस्ती र जाँच गर्दै आएका छन् । भन्सार कार्यालयले पनि निगरानी गर्दै आएको छ । भन्सार छलेर ल्याइएका सामान बरामद हुन्छन् । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्री भन्छन्, ‘तस्करीका जटिल र संगठित रूपमा अनुसन्धान गर्न प्रादेशिक अनुसन्धान इकाइ बनाएर परिचालन गरिएको छ । यसबाट सुधार देखिएको छ ।’

सीमावर्ती जिल्लाका सुरक्षा प्रमुख तस्करी नियन्त्रणलाई प्राथमिकता दिएको बताउँछन् । स्थानीय व्यवसायी पनि तस्करीका कारण आफ्नो व्यापार प्रभावित भइरहेको गुनासो गर्छन् । तर भन्सार छलीका सामान भित्रिने क्रम थामिएको छैन । खुला सीमा, सीमित जनशक्ति र भौगोलिक जटिलताले साइकल, मोटरसाइकल तथा पैदल गरी सामान भित्र्याउने गरिरहेका छन् ।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठका अनुसार तस्करीका कारण सबैभन्दा ठूलो हानि राजस्व संकलनमा भइरहेको छ । ‘अवैध व्यापार हुँदा आपराधिक गतिविधि पनि बढ्छ,’ उनले भने, ‘काम नगरी कमाउने बानीको विकास हुन्छ ।’

सीमा क्षेत्रमा भन्सार छलेर सामान भित्र्याउने ‘संस्कार’ बनिसकेकाले सरकारी पक्षको प्रयासबाट मात्र नियन्त्रण सम्भव नहुने उनले बताए । ‘भन्सार दर कम गरेपछि स्वतः तस्करी रोकथाम हुन्छ,’ उनले भने, ‘प्रहरीले डन्डा चलाएर मात्र नियन्त्रण सम्भव छैन ।’

एक महिनाअघि साइकलमा बोरा बोकेका रूपन्देही, सिद्धार्थनगरका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । बोराभित्र रङको डिब्बा राखिएको थियो । खेतैखेत आएकाले साइकल हिलोमैलो थियो । प्रहरीले सोधपुछ गर्दा ती व्यक्तिले भैरहवास्थित एक पसलमा रङ पुर्‍याउन लागेको बताएका थिए ।

लुम्बिनी प्रदेश प्रहरीका अनुसार २०८१/०८२ मा भन्सार छलीका सामानबाट ३६ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । २०८२/०८३ मा ५७ करोड ५५ लाख राजस्व संकलन गरिएको छ । २०८१/८२ को तुलनामा २०८२/०८३ मा अवैध तस्करी नियन्त्रणबाट राजस्व संकलन ५६ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार २०८०/०८१ मा मधेशका ८ जिल्लाबाट ८६ करोड ५७ लाख १८ हजार ८ सय ९४ रुपैयाँका लत्ताकपडा तथा फेन्सी कपडा बरामद गरिएको थियो । त्यो वर्ष २९ करोड ७८ लाख ७२ हजार २ सय ६० रुपैयाँका सवारीसाधन र पार्टपुर्जा बरामद गरिएको थियो भने २३ करोड ६६ लाख ८५ हजार ८ सय १९ रुपैयाँका किराना सामग्री र ७ करोड ३३ लाख ९५ हजार ९ सय १९ रुपैयाँका विद्युतीय सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा सुनचाँदी पनि भित्रिएको छ ।

०८१/०८२ मा ५१ करोड ९० लाखका भन्सार छलीका लत्ताकपडा तथा फेन्सी कपडा र ४२ करोड ८ लाख रुपैयाँका सवारीसाधन र पार्टपुर्जा बरामद गरिएको थियो । ०८२/०८३ मा १० करोड २१ लाख रुपैयाँका तस्करीका लत्ताकपडा तथा फेन्सी कपडा, ७५ करोड ८ लाख रुपैयाँका सवारी साधन र पार्टपुर्जा, ९ करोड ७८ लाख रुपैयाँका किराना सामग्री र ५ करोड ८२ लाखका विद्युतीय सामग्री बरामद गरियो । मधेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी प्रभु ढकालले सीमामा पोके तस्करी रोक्न भन्सार कार्यालय, राजस्व गस्ती, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र नेपाल प्रहरी लागिपरेको बताए ।

- दीपेन्द्र बडुवाल (भैरहवा), मनोज पौडेल (कपिलवस्तु), शंकर आचार्य (पर्सा), शिव पुरी (रौतहट), रूपा गहतराज (नेपालगन्ज) र भवानी भट्ट (कञ्चनपुर)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

पर्सा । प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्य बराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर ...

#भन्सार #छली
Compare →
Bizshala
5d ago
सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

काठमाण्डौ । कसैले रेस्टुरेन्टमा खान छाडेका छन्। कसैले घरमा प्रयोग नभएका सामान बेचेका छन्। केहीले त वर्षौंदेखि जम्मा...

#सामान
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

#भन्सार
Compare →

Related Stories

Business & Economy
Build #2611