भारतका अर्बपति व्यवसायी मुकेश अम्बानीको रिलायन्स समूहअन्तर्गतको जियो प्लेटफर्म्सको आईपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। ३ अर्ब २० करोड अमेरिकी डलरको यो आईपीओमा निष्कासनको पहिलो दिनमै माग उपलब्ध सेयरभन्दा ३.१६ गुणा पुगेको छ। भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओका रूपमा अघि बढाइएको यस निष्कासनले भारतीय पुँजी बजारमा नयाँ रेकर्ड बनाउने संकेत गरेको छ।
बुधबार, अक्टोबर २१ मा खुलेको आईपीओमा संस्थागत लगानीकर्ताको माग निकै तीव्र देखिएको छ। निष्कासनमा छुट्याइएको संस्थागत लगानीकर्ताको हिस्सा खुलेको १० मिनेटमै पूर्ण रूपमा माग भएको थियो भने समग्र निष्कासनको माग १०० मिनेटभित्रै उपलब्ध कित्ताभन्दा बढी पुगेको रोयटर्सले जनाएको छ।
रिलायन्स समूहले करिब २० वर्षपछि ल्याएको यो पहिलो आईपीओ हो। जियो प्लेटफर्म्सको निष्कासनलाई नयाँ सेयरमा विश्वव्यापी लगानीकर्ताको रुचि कस्तो छ भन्ने परीक्षणका रूपमा पनि हेरिएको छ। पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) सम्बन्धित कम्पनीको मूल्याङ्कन र लगानी प्रतिफललाई लिएर लगानीकर्ताले थप सावधानी अपनाइरहेका बेला जियोको आईपीओमा देखिएको मागलाई अर्थपूर्ण मानिएको छ।
जियो प्लेटफर्म्सको आईपीओले कम्पनीको मूल्याङ्कन अधिकतम १०८ अर्ब ३० करोड अमेरिकी डलरसम्म पुर्याउने अनुमान गरिएको छ। सेयर कारोबार अक्टोबर २८ देखि सुरु हुने अपेक्षा गरिएको छ। उक्त मूल्याङ्कन कायम भएमा जियो भारतका ठूला कम्पनीमध्ये एक बन्न सक्नेछ।
मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स समूहले सन् २०१९ मै जियोको सेयर बजारमा सूचीकृत गर्ने योजना सार्वजनिक गरेको थियो। तर विभिन्न कारणले योजना अघि बढ्न सकेको थिएन। सन् २०२५ मा पनि सूचीकरणको तयारी प्रभावित भएको थियो भने यस वर्ष मार्चतिर अघि बढाउने योजना इरान युद्धपछि आईपीओ बजारमा देखिएको अनिश्चितताका कारण पछाडि धकेलिएको समाचारमा उल्लेख छ।
जियो प्लेटफर्म्समा मेटा र गुगलजस्ता विश्वव्यापी प्रविधि कम्पनीको लगानी छ। कम्पनी भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो, जसका ग्राहक ५० करोडभन्दा बढी छन्। एकै देशमा ग्राहक सङ्ख्याका आधारमा जियो विश्वकै दोस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक रहेको समाचारमा उल्लेख छ।
पहिलो दिनको तथ्याङ्कअनुसार योग्य संस्थागत खरिदकर्ता (क्यूआईबी) का लागि छुट्याइएको सेयरमा माग ९.४२ गुणा पुगेको छ। यसको विपरीत सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको हिस्सामा आवेदन ०.७३ गुणा मात्रै पुगेको छ। आईपीओमा करिब एक तिहाइ हिस्सा खुद्रा लगानीकर्ताका लागि छुट्याइएको छ।
जियोको आईपीओमा प्रतिकित्ता १ हजार ६५ रुपैयाँदेखि १ हजार ११९ भारतीय रुपैयाँसम्म मूल्य तोकिएको छ। निष्कासन शुक्रबार बन्द हुने कार्यक्रम छ। यसअघि कम्पनीले अबुधाबी इन्भेस्टमेन्ट अथोरिटी र ब्ल्याक रकसहित २०० भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु लगानीकर्तालाई ८५ करोड ३० लाख अमेरिकी डलर बराबरको सेयर बाँडफाँट गरेको थियो। उक्त आरक्षित हिस्सामा २५ अर्ब डलरभन्दा बढीको माग परेको समाचारमा उल्लेख छ।
यद्यपि, आईपीओको सुरुवाती समयमा देखिएको तीव्र मागपछि आवेदन आउने गति केही सुस्त भएको एक्सचेन्जको प्रत्यक्ष तथ्याङ्कले देखाएको रोयटर्सले जनाएको छ।
मुकेश अम्बानीका छोरा आकाश अम्बानीको नेतृत्वमा जियोको दूरसञ्चार व्यवसाय सन् २०१६ मा सुरु भएको थियो। सस्तो इन्टरनेट र निःशुल्क भ्वाइस कल उपलब्ध गराउने रणनीतिबाट कम्पनीले छोटो समयमै बजारमा आफ्नो उपस्थिति विस्तार गरेको थियो। त्यसले भारती एयरटेल र भोडाफोन आइडियाजस्ता प्रतिस्पर्धी कम्पनीमाथि दबाब बढाएको थियो।
जियो प्लेटफर्म्सको कुल आम्दानीको करिब ९० प्रतिशत हिस्सा दूरसञ्चार व्यवसायबाट आउने समाचारमा उल्लेख छ। कम्पनीले आर्थिक वर्षको मार्चसम्मको अवधिमा १५ अर्ब ५० करोड अमेरिकी डलर आम्दानी र करिब ३ अर्ब २० करोड डलर नाफा कमाएको थियो।
आईपीओबाट प्राप्त रकममध्ये अधिकतम २ अर्ब ८९ करोड अमेरिकी डलर दूरसञ्चार इकाइको ऋण चुक्ता गर्न वा अग्रिम भुक्तानी गर्न प्रयोग गर्ने कम्पनीको योजना छ। बाँकी रकम पुँजीगत खर्चसहित सामान्य व्यावसायिक प्रयोजनमा उपयोग गरिने आईपीओ विवरणपत्रमा उल्लेख छ।
सन् १९७७ मा सूचीकृत भएको रिलायन्स इन्डस्ट्रिजले खुद्रा व्यापारदेखि तेल व्यवसायसम्म फैलिएको कारोबारमार्फत भारतीय लगानीकर्तामाझ लामो समयदेखि उपस्थिति बनाएको छ। सन् १९९० यताका तथ्याङ्कअनुसार मुम्बईमा कारोबार हुने रिलायन्सको सेयर मूल्य करिब ३३० गुणाले बढेको रोयटर्सले जनाएको छ।
यसपटक जियोको आईपीओ हिन्दू चाडपर्वको मौसममा ल्याइएको छ, जुन भारतमा नयाँ खरिद तथा लगानीका लागि शुभ समय मानिन्छ। यद्यपि, पछिल्ला साताहरूमा भारतीय सेयर बजारको अवस्था कमजोर रहँदै आएको छ।
रिलायन्सले यस महिना आफ्ना चार लाखभन्दा बढी कर्मचारीलाई नियमित समयभन्दा करिब १५ दिनअघि तलब दिएको र आईपीओमा आवेदन दिन चाहने कर्मचारीलाई सेयर खाता खोल्ने प्रक्रियामा सहयोग गरेको पनि समाचारमा उल्लेख छ।