प्रहरीले बन्गाड कुपिण्डे–१० स्थित भवती सामुदायिक वनको ओडारबाट सात साबुत र एक बेसाबुत बन्दुक बरामद गरेको हो।
सल्यान — सल्यानमा सामुदायिक वनको ओडारमा लुकाइएका आठ नाल भरुवा बन्दुक बरामद प्रहरीले बरामद गरेको छ। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० भवती सामुदायिक वनमा रहेको ओडारमा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार गोप्य सूचनाको आधारमा खोज्दै जाँदा प्रहरी टोलीले मंगलबार दिउँसो करिब १:०० बजे बन्गाड कुपिण्डे नगरपालिका–१० भवती सामुदायिक वनको ओडारमा लुकाइराखेको अवस्थामा बन्दुक फेला पारेको हो । बरामद गरिएका बन्दुकमध्ये सात नाल साबुत र एक नाल बेसाबुत रहेका उनले जानकारी दिए ।
उनका अनुसार बरामद गरेको सबै भरुवा बन्दुक प्रहरी चौकी बन्गाडमा राखिएको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ लुकाएर राखेको थियो भन्ने खुल्न नसकेको उनले बताए। बरामद बन्दुकबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।