चन्द्रपुर–४ स्थित मुख्य चोक क्षेत्रमा चाडपर्वको आडमा स्थानीय व्यापारीले ठेला राखेर व्यापार गर्न थालेपछि नगरको सौन्दर्य र यातायात व्यवस्थापनमा कठिनाइ र दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
रौतहट — चन्द्रपुर–४ स्थित मुख्य चोक क्षेत्रमा चाडपर्वको आडमा स्थानीय व्यापारीले ठेला राखेर व्यापार गर्न थालेपछि नगरको सौन्दर्य र यातायात व्यवस्थापनमा कठिनाइ हुँदै गएको छ । पर्वको भिडभाड र किनमेलको मौका छोपेर बजारका मुख्य सडक, पेटी तथा चोकमा जथाभाबी ठेलागाडा राखेर फलफूल बेच्ने क्रम बढेपछि स्थानीयले चर्को विरोध जनाएका छन्।
सडक र सार्वजनिक स्थानमा अनधिकृत रूपमा राखिएका ठेलाका कारण बजारको मुख्य स्वरूप नै कुरूप बन्न थालेको छ भने पैदलयात्रीले हिँडडुल गर्नसमेत सास्ती भोग्न थालेका छन्।
चाडपर्वका समयमा बजारमा उपभोक्ताको चाप बढ्ने गर्छ। यही मौका छोपेर साना व्यापारीहरूले पैदलयात्री हिँड्ने पेटी (फुटपाथ) र मुख्य सडकमै ठेलागाडा तेर्स्याएर फलफूल बिक्रीवितरण गरिरहेको स्थानीय सरोज खत्रीले बताए।
यसले बजार क्षेत्रमा सवारीसाधनको आवागमनमा मात्र बाधा पुगेको छैन, दुर्घटनाको जोखिमसमेत बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग भएकाले यहाँ हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने र रोकिने गर्छन्। सडकको आडैमा ठेला राखिएपछि गन्तव्यतर्फ हिँडेका यात्रु बोकेका बस रोक्नसमेत असहज भएको ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापामगरले बताए।
बजारको यो भद्रगोल र कुरूप अवस्थाप्रति स्थानीयले सामाजिक सञ्जालमार्फत तीव्र असन्तुष्टि पोखेका छन्। ‘पर्व मनाउने नाममा मुख्य बजारलाई अस्तव्यस्त र कुरूप बनाउन पाइँदैन। हिँड्ने बाटो छैन, दुर्घटनाको जोखिम छ, तर सरोकारवाला निकाय कानमा तेल हालेर बसेका छन्,’ भन्दै स्थानीयले सामाजिक सञ्जालमा लेखेका छन्।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले मुख्य सडकमा जथाभावी ठेला राखेर फलफूल बेच्ने कार्य हटाउन जतिसुकै प्रयास गरे पनि स्थानीय व्यापारीले अटेर गर्ने गरेको गुनासो गरेको छ। ‘हामीले कैयौँ पटक नगरपालिकाको समन्वयमा हटाउने प्रयास गरेका हौँ,’ सडकका एक कर्मचारीले भने, ‘यो समस्या अहिलेको मात्र होइन, झन्डै एक दशकदेखि यस्तै दृश्य देखिएको छ।’
सात महिनाअघि चन्द्रपुर नगरपालिकाले चोक बजारमा जथाभावी ठेला राख्नेहरूका ठेला उठाएर जफतसमेत गरेको थियो। यसको नेतृत्व कार्यपालिका सदस्य नेत्रकुश्वारले गरेका थिए। तर पछिल्लो समय चाडपर्वको नाममा फेरि मुख्य सडकमै ठेला राख्न थालिएको सदस्य कुश्वाहाले बताए। ‘मुख्य चोक नै कुरूप हुने गरी ठेला राखिएको छ,’ उनले भने, ‘व्यापारीहरूले बुझ्नुपर्ने कुरा हो। यसले सवारी व्यवस्थापनमा समस्या निम्त्याउनुका साथै दुर्घटनाको जोखिम बढाउँछ।’
ठेला व्यापारी सन्तोष साहले भने ठाउँ अभावले सडक छेउमै व्यापार गर्न बाध्य भएको सुनाए ।
स्थानीयले तत्काल सडक तथा पेटी खाली गराउन, ठेला व्यवस्थापनका लागि निश्चित स्थान तोक्न वा वैकल्पिक बजारको व्यवस्था गर्न जोडदार माग गरेका छन् ।
शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।