चाडपर्वका बेला यातायातको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानबाट तीन दिनमै ७७ जनाले सेवा लिएका छन्।
संखुवासभा — दसैँको चहलपहलसँगै सार्वजनिक यातायातको अभाव र आवागमनमा हुने कठिनाइलाई मध्यनजर गर्दै संखुवासभाको सदरमुकाम खाँदबारीलाई केन्द्र बनाएर सञ्चालन गरिएको निःशुल्क मोटरसाइकल यातायात सेवा ‘माइती–मामाली सेवा’ प्रभावकारी बनेको छ। चाडपर्वका बेला यातायातको समस्या भोगिरहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानबाट तीन दिनमै ७७ जनाले सेवा लिएका छन्।
अभियानका संयोजक मेघराज तोलाङ्गीका अनुसार सेवाको पहिलो दिन १३ जना, दोस्रो दिन २२ जना र तेस्रो दिन ४२ जनाले निःशुल्क मोटरसाइकल यातायात सुविधा लिएका हुन्। तीन दिनमा सेवा लिनेको संख्या क्रमशः बढ्दै जानुले चाडपर्वका बेला सहज आवागमनका लागि यस्तो अभियानको आवश्यकता रहेको उनले बताए।
दसैँका बेला गाउँघर फर्किने, आफन्तकहाँ जाने तथा विभिन्न कामले आवतजावत गर्नुपर्ने नागरिकले यातायातको समस्या भोग्नुपर्ने अवस्थालाई केही सहज बनाउने उद्देश्यले युवाहरूले यो अभियान सञ्चालन गरेका हुन्। सार्वजनिक सवारीसाधन पर्याप्त नपाइने वा सहज रूपमा यात्रा गर्न कठिन हुने अवस्थामा मोटरसाइकलमार्फत निःशुल्क सेवा उपलब्ध गराइएको संयोजक तोलाङ्गीले बताए।
‘निःशुल्क सेवा, निःस्वार्थ सेवक’ भन्ने मूल नाराका साथ गत वर्षदेखि दसैँ तथा तिहारको अवसरमा यो अभियान सञ्चालन हुँदै आएको छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित युवाहरूको सक्रियतामा सञ्चालित अभियानमा १३ जना स्वयंसेवक खटिएका छन्। उनीहरूले चाडपर्वका बेला समस्यामा परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहयोग गर्दै आएका छन्।
‘माइती–मामाली सेवा’ संखुवासभाका अधिकांश स्थानीय तहमा सञ्चालन भइरहेको छ। यसका अतिरिक्त भोजपुर जिल्लाको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा समेत सेवा विस्तार गरिएको संयोजक तोलाङ्गीले जानकारी दिए। दसैँ विशेष अभियान शुक्रबारसम्म सञ्चालन हुने उनले बताए।
चाडपर्वलाई भेटघाट, खुसी र आत्मीयताको समयका रूपमा लिइन्छ। तर यातायातको असुविधाका कारण कतिपय नागरिकका लागि आवतजावत सहज हुँदैन। यस्तो अवस्थामा युवाहरूले आफ्नै स्रोत, समय र श्रम परिचालन गरेर सञ्चालन गरेको ‘माइती–मामाली सेवा’ले नागरिकलाई राहत दिनुका साथै सामाजिक सहयोगको भावना पनि अभिवृद्धि गरेको तोलाङ्गीले बताए।
चाडपर्वका बेला समस्यामा परेका नागरिकलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराउने यो प्रयासले युवाशक्तिको सदुपयोग, सामुदायिक एकता र सेवाभावलाई व्यवहारमै उतारेको छ। आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने उनले बताए।