नेपालको सफलता विकासशील राष्ट्रमा स्तरोन्नतिको मितिले होइन, त्यसपछि पनि प्रतिस्पर्धी, उत्पादनशील र आत्मनिर्भर अर्थतन्त्रका रूपमा उभिन सक्ने सामथ्र्यले निर्धारण गर्नेछ ।
सरकारको अनुरोधअनुसार संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अल्पविकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्न निर्धारित तयारी अवधिलाई सन् २०२९ नोभेम्बर २४ सम्म थप गरेको छ । विकास अर्थशास्त्र र अन्तर्राष्ट्रिय व्यापारको कसीमा विश्लेषण गर्दा यस निर्णयका तीन प्रमुख अन्तर्निहित आयाम छन् । पहिलो, यसले सन् २०२६ मै स्तरोन्नति हुँदा गुम्न सक्ने एलडीसी–विशिष्ट व्यापारिक सहुलियत, विकास सहायता र अन्तर्राष्ट्रिय सहयोगबाट लाभ लिने अवधि थपेको छ ।
दोस्रो, यसलाई कूटनीतिक उपलब्धिका रूपमा मात्र नलिई अर्थतन्त्रका संरचनात्मक कमजोरी र उत्पादन क्षमता विस्तारमा देखिएको नीतिगत शिथिलताको संकेतका रूपमा पनि बुझ्नुपर्छ । तेस्रो, थपिएको अवधिलाई सहुलियतको निष्क्रिय उपभोगमा सीमित नराखी संरचनात्मक चुनौती सम्बोधन गर्दै विश्व बजारमा प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्छ ।
नेपालको स्तरोन्नति प्रक्रियाको एउटा विशिष्ट पक्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आयको मापदण्ड पूरा नगरी स्तरोन्नतिको सिफारिस हुनु हो । संयुक्त राष्ट्रसंघको विकास नीति समितिले अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन मुख्य तीन वटा मापदण्ड निर्धारण गरेको छ– प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक । स्तरोन्नतिका लागि कुनै देशले लगातार दुई त्रैवार्षिक समीक्षामा यी तीनमध्ये कम्तीमा दुई मापदण्डका निर्धारित सीमा पूरा गरेको हुनुपर्छ । नेपालले मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकका निर्धारित सीमा सन् २०१५ को समीक्षादेखि नै पूरा गर्दै आएको भए पनि सन् २०२१ मा स्तरोन्नतिको सिफारिस हुँदा प्रतिव्यक्ति कुल राष्ट्रिय आयको निर्धारित सीमा पूरा गरेको थिएन । तर पछिल्लो मूल्यांकनअनुसार सन् २०२५ मा यो सूचक पनि निर्धारित सीमाभन्दा माथि पुगेको छ । प्रतिव्यक्ति आयको मापदण्ड पूरा नभई अन्य दुई सूचकका आधारमा मात्र स्तरोन्नतिको सिफारिस हुनु नेपालको आय आर्जन तथा आन्तरिक उत्पादनको आधार कमजोर रहेको संकेत थियो ।
स्तरोन्नतिको तयारीका क्रममा नेपालको संरचनात्मक कमजोरी र शासकीय सीमितता स्पष्ट रूपमा देखिएका छन् । सन् २०२१ मा नै स्तरोन्नतिका लागि पाँच वर्षको तयारी अवधि प्राप्त भए पनि यससम्बन्धी सहज संक्रमण रणनीति सन् २०२४ मा मात्र निर्माण गरियो । सन् २०२६ मार्चमा राष्ट्रिय योजना आयोगबाट गरिएको मूल्यांकनमा यस रणनीतिका १६७ कार्यमध्ये २६ मात्र सम्पन्न भएको, १२७ कार्यान्वयनको चरणमा रहेको र १४ सुरु नै नभएको देखिएको छ । यसबाट रणनीतिको कार्यान्वयन अपेक्षित गति र प्रभावकारिताका साथ अघि बढ्न नसकेको स्पष्ट हुन्छ । कोभिड महामारीपछिको आर्थिक सुस्तता, विश्वव्यापी खाद्य तथा ऊर्जा संकट र वित्तीय अस्थिरताजस्ता बाह्य आघातले रणनीतिको तयारी तथा कार्यान्वयन प्रक्रियालाई प्रभावित पारेका थिए ।
अर्थतन्त्रका संरचनात्मक कमजोरी र आन्तरिक नीतिगत शिथिलताका कारण उत्पादन क्षमता विस्तारको कार्य थप चुनौतीपूर्ण बनेको छ । नेपालको राजस्व संरचनामा आयातमा आधारित भन्सार तथा उपभोग करमाथि निर्भरता उच्च छ । साथै, आर्थिक गतिविधि विप्रेषण र उपभोगमा अत्यधिक आश्रित छ । आयातमा आधारित राजस्व प्रणालीले सरकारी आम्दानीमा उल्लेखनीय योगदान पुर्याए पनि स्वदेशी उत्पादन तथा उत्पादनशील लगानी विस्तारका लागि पर्याप्त प्रोत्साहन सिर्जना गर्न सकेको छैन । अर्कोतर्फ, संरचनात्मक अवरोधका कारण उत्पादन लागत उच्च रहेकाले नेपाली वस्तुको मूल्यगत प्रतिस्पर्धात्मक क्षमता क्रमश: कमजोर हुँदै गएको छ । संरचनात्मक अवरोधका कारण उत्पादन लागत उच्च रहेकाले नेपाली वस्तुको मूल्य प्रतिस्पर्धात्मक क्षमता निरन्तर कमजोर हुँदै गएको छ । विप्रेषणबाट सिर्जित उपभोगमुखी क्रयशक्तिले आयातलाई थप प्रोत्साहित गरेको छ । उक्त क्रयशक्तिलाई स्वदेशी उत्पादन र औद्योगिक लगानीतर्फ परिचालित गर्न नसक्दा आन्तरिक औद्योगिकीकरण अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमानअनुसार कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ५.७२ प्रतिशतमा सीमित रहेको छ ।
स्तरोन्नतिपछि एलडीसी–विशिष्ट आधिकारिक विकास सहायता र केही सहुलियतमा नेपालको पहुँच प्रभावित हुन सक्छ । नेपालले हाल विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ र एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण सुविधा लिइरहेको छ । स्तरोन्नतिपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पर्न सक्ने प्रमुख प्रभाव एलडीसी–विशिष्ट भन्सार सहुलियतको क्रमिक क्षय हो । व्यापारिक सहुलियतको सम्भावित कटौतीसँगै उत्पत्तिको नियममा हुने परिवर्तनले नेपाली निर्यातमा थप चुनौती सिर्जना गर्न सक्छ । गन्तव्य बजार र वस्तुअनुसार तयारी पोसाक तथा केही कपडाजन्य वस्तुले थप भन्सार महसुल र उत्पत्तिका कडा नियमको सामना गर्नुपर्ने हुन सक्छ । हाल नेपालले अल्पविकसित राष्ट्रको हैसियतमा युरोपेली बजारमा तयारी पोसाक निर्यात गर्दा एकचरणीय रूपान्तरणको सहुलियत प्राप्त गर्दै आएको छ । यस व्यवस्थाअन्तर्गत आयातित कपडालाई सिलाएर मात्र पनि नेपाली उत्पत्तिको मान्यता प्राप्त गर्न सकिन्छ । पछि भने केही तयारी पोसाकमा द्विचरणीय रूपान्तरणको सर्त लागू हुन सक्छ । यस अनुसार धागोबाट कपडा र कपडाबाट पोसाक बनाउने दुवै चरण पूरा भएको प्रमाणित गर्नुपर्ने हुन्छ । स्वदेशी धागो तथा कपडा उद्योगसँगको पश्चगामी उत्पादन सम्बन्ध कमजोर रहेकाले नेपाली तयारी पोसाक उद्योगले यी सर्त पूरा गर्न कठिनाइ हुन सक्छ । यसका लागि निर्यातको प्रतिस्पर्धात्मक क्षमता बढाउन स्वदेशी कपडा तथा धागो उद्योगको विकास, प्रविधि हस्तान्तरण र लक्षित लगानी प्रोत्साहनलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ ।
बौद्धिक सम्पत्ति अधिकारको कठोर अनुपालन नेपालको औषधि उद्योगका लागि अर्को गम्भीर चुनौती बन्न सक्छ । बौद्धिक सम्पत्ति अधिकारका व्यापारसँग सम्बन्धित पक्षसम्बन्धी सम्झौता (ट्रिप्स) सम्झौता अन्तर्गत अल्पविकसित राष्ट्रहरूलाई औषधि तथा पेटेन्ट संरक्षणसम्बन्धी केही दायित्व कार्यान्वयनबाट अस्थायी छुट प्रदान गरिएको छ । नेपालले विश्व व्यापार संगठनसमक्ष स्तरोन्नतिपछि छ वर्षसम्म वा एलडीसीका लागि उपलब्ध अन्तिम संक्रमणकालीन अवधि समाप्त नहुँदासम्म (जुन पहिले समाप्त हुन्छ) ट्रिप्स सम्झौताअन्तर्गतका निश्चित सुविधा कायम राख्न प्रस्ताव गरेको छ । तर, यो प्रस्ताव स्वीकृत भइसकेको छैन ।
त्यसैले स्तरोन्नतिपछि पेटेन्ट संरक्षित औषधिका जेनेरिक उत्पादनमा कानुनी तथा व्यावसायिक जटिलता बढ्न सक्छ । यसबाट स्वदेशी औषधि उद्योगको उत्पादन लागत बढ्ने, प्रतिस्पर्धात्मक क्षमता घट्ने र सर्वसाधारणको औषधिमा सुलभ पहुँच प्रभावित हुने जोखिम रहन्छ । यस्ता चुनौती सामना गर्न औषधि उद्योगको व्यावसायिक दिगोपन र जनस्वास्थ्यको संरक्षणका लागि अनुसन्धान तथा विकास, स्वदेशमै औषधिजन्य सक्रिय कच्चा पदार्थ उत्पादन र प्रविधि हस्तान्तरणमा रणनीतिक लगानी गर्नुका साथै बौद्धिक सम्पत्ति व्यवस्थापनको संस्थागत क्षमता बढाउनु अपरिहार्य छ ।
स्तरोन्नतिले वैदेशिक प्रत्यक्ष लगानी र पुँजी निर्माणमा पार्ने प्रभावको विश्लेषण पनि उत्तिकै महत्त्वपूर्ण छ । स्तरोन्नतिपछि केही एलडीसी–विशिष्ट अनुदान तथा सहुलियतपूर्ण वित्तीय स्रोतमा पहुँच साँघुरिन सक्छ । तर त्यसको प्रतिस्थापनमा उत्पादनशील वैदेशिक पुँजी परिचालन हुन नसक्ने हो भने अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव थप गहिरिन सक्छ । तसर्थ, कानुनी तथा प्रशासनिक अवरोध हटाई, नीतिगत स्थिरता कायम गरी, प्रतिफलको अनुमानयोग्यता र पूर्वाधारको विश्वसनीयता बढाई उत्पादनमुखी वैदेशिक लगानी आकर्षित गर्नु नेपालको प्रमुख नीतिगत कार्यभार हो ।
स्तरोन्नतिपछि एलडीसी–विशिष्ट आधिकारिक विकास सहायता र केही सहुलियतमा नेपालको पहुँच प्रभावित हुन सक्छ । नेपालले हाल विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ र एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण सुविधा लिइरहेको छ । यी सुविधाको निरन्तरता एलडीसी हैसियतमा मात्र निर्भर नभई प्रतिव्यक्ति आय, ऋण वहन क्षमता र ऋणयोग्यताजस्ता मापदण्डमा समेत निर्भर हुन्छ । त्यसैले स्तरोन्नति हुँदैमा यी सुविधा स्वत: समाप्त हुने होइनन् । तथापि, आय तथा ऋणसम्बन्धी मापदण्डमा हुने परिवर्तनले तिनको उपलब्धता र सर्तमा प्रभाव पार्न सक्छ । साथै, केही द्विपक्षीय विकास साझेदारले ऋणका सर्त परिवर्तन गर्न सक्ने भएकाले भविष्यमा ऋण सेवा दायित्व बढ्न सक्छ ।
जलवायु वित्तमा पहुँचको निरन्तरता पनि नेपालको अर्को महत्त्वपूर्ण चुनौती हो । अल्पविकसित राष्ट्रलाई अल्पविकसित राष्ट्र कोष (एलडीसीएफ) मा विशेष पहुँच रहन्छ । अल्पविकसित राष्ट्र कोषले अल्पविकसित राष्ट्र तथा हालै स्तरोन्नति भएका मुलुकलाई जलवायु अनुकूलनका लागि सहयोग गर्दै आएको छ । स्तरोन्नतिपछि पनि नेपालले यस कोषबाट आगामी वित्तीय चक्रहरूमा सहयोग पाउन सक्नेछ । तर उपलब्ध रकमको सीमा क्रमश: घट्ने व्यवस्था छ । त्यसका अतिरिक्त हरित जलवायु कोष र विशेष जलवायु परिवर्तन कोषमा भने पहुँच कायम रहन्छ । नेपालको भौगोलिक तथा पारिस्थितिक संवेदनशीलताका कारण जलवायु अनुकूलन र विपद् उत्थानशीलताका लागि ठूलो वित्तीय स्रोत आवश्यक छ, जुन आन्तरिक साधनबाट मात्र जुटाउन सम्भव छैन । यसकारण अन्तर्राष्ट्रिय जलवायु वित्तमा निरन्तर पहुँच सुनिश्चित गर्न प्रभावकारी जलवायु कूटनीतिमा जोड दिनु आवश्यक छ ।
स्तरोन्नतिपछि केही परम्परागत निर्यात बजारमा सहुलियत घट्न सक्ने अवस्थामा निर्यात विविधीकरण र मूल्य अभिवृद्धि गर्नुपर्ने हुन्छ । हाल नेपालको निर्यात सीमित वस्तुहरू (विशेषत: प्रशोधित सूर्यमुखी र भटमासको तेल, अलैंची, ऊनी गलैंचा, जुटजन्य वस्तु, पाम तेल र पोलिएस्टर धागो) तथा सीमित बजार (मुख्यत: भारत) मा केन्द्रित छ । नेपाल र भारतबीचको व्यापारको ठूलो हिस्सा द्विपक्षीय व्यापार सन्धिअन्तर्गत सञ्चालन हुने भएकाले स्तरोन्नतिको प्रत्यक्ष प्रभाव भारततर्फको निर्यातमा सीमित हुन सक्छ । तथापि, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत एलडीसी–विशिष्ट सहुलियत उपयोग गरिरहेका केही उत्पादन प्रभावित हुन सक्छन् ।
तर तेस्रो मुलुकतर्फ एलडीसी–विशिष्ट सहुलियतमा आधारित निर्यात भने प्रभावित हुन सक्छ । नेपालले यस जोखिमबाट पार पाउन उच्च मूल्य र विशिष्टता भएका वस्तु जस्तै, बहुमूल्य जडीबुटी, प्रांगारिक चिया, कफी र विशिष्ट हस्तकलाका सामग्रीको निर्यात प्रवद्र्धन गर्नुपर्छ । यस्ता वस्तु मूल्यको आधारमा मात्र नभई गुणस्तर, प्रमाणीकरण र विशिष्टताका आधारमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सक्छन् । अन्तर्राष्ट्रिय बजारमा यी वस्तु निर्यात गर्न स्वच्छता तथा वनस्पति र पशुस्वास्थ्यसम्बन्धी मापदण्ड (एसपीएस) पूरा गर्नुपर्छ । साथै, हस्तकलाका सामग्रीमा उत्पादनको प्रकृतिअनुसार प्राविधिक मापदण्ड (टीबीटी), लेबलिङ वा अन्य आयात आवश्यकताहरू पूरा गर्नुपर्छ । तर यस्ता वस्तुको परीक्षण तथा प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला र परीक्षण सुविधा अझै पर्याप्त छैनन् । यसका लागि सरकारले विद्यमान प्रयोगशालाको क्षमता र अन्तर्राष्ट्रिय प्रत्यायन विस्तार गरी क्षेत्रगत परीक्षण तथा प्रमाणीकरणको पहुँच सहज बनाउनुपर्छ ।
उत्पादन लागत न्यूनीकरणका लागि व्यापारिक पूर्वाधार र लजिस्टिक्स सञ्जालको आधुनिकीकरण अपरिहार्य हुन्छ । विश्व व्यापार संगठनको सन् २०२५ को व्यापार नीति समीक्षाअनुसार सन् २०१७–२०२२ को औसत तथ्यांकका आधारमा नेपालको व्यापार लागत साफ्टा सदस्य मुलुकहरूको तुलनामा ४४ प्रतिशत बढी थियो । यसमा नेपालको भूपरिवेष्टित अवस्था, दुर्गम भूगोल, कमजोर पारवहन पूर्वाधार र गैरभन्सार तथा व्यापारसम्बन्धी कारकको महत्त्वपूर्ण भूमिका छ । यस संरचनात्मक अवरोधको प्रभाव न्यूनीकरण गर्न विद्युतीय भन्सार प्रणालीको विस्तार, एकीकृत जाँच चौकीको प्रभावकारी सञ्चालन र सडक तथा रेल पूर्वाधारको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ ।
निष्कर्षमा, आर्थिक रूपान्तरणका उल्लिखित रणनीतिको सफलता संस्थागत सुशासन, नीतिगत स्थिरता र प्रभावकारी कार्यान्वयन क्षमतामा निर्भर रहन्छ । पारदर्शी प्रशासन, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र नीतिगत पूर्वानुमेयता कायम हुन नसकेसम्म आन्तरिक तथा बाह्य लगानीलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ । व्यापारिक सहुलियतको क्षय, ट्रिप्स सम्झौताअन्तर्गतका दायित्वको कडाइ र विकास सहायताको सम्भावित संकुचनको सामना गर्न उत्पादन क्षमता, निर्यात प्रतिस्पर्धा र संस्थागत सुशासनमा आमूल सुधार अपरिहार्य छ । आगामी तीन वर्ष नीतिगत प्रतिबद्धता दोहोर्याउने होइन, तिनलाई परिणाममा रूपान्तरण गर्ने कामलाई प्राथमिकता दिनुपर्छ । अन्तत: नेपालको सफलता स्तरोन्नतिको मितिले होइन, त्यसपछि पनि प्रतिस्पर्धी, उत्पादनशील र आत्मनिर्भर अर्थतन्त्रका रूपमा उभिन सक्ने सामर्थ्यले निर्धारण गर्नेछ ।
गणेशप्रसाद पाण्डेय अर्थ–राजनीति, विकास तथा सुशासनका अध्येता एवं नेपाल सरकारका पूर्वसचिव हुन्।